कोभिड–१९ का कारण अन्य सरुवा रोगप्रति बेवास्ताले बढाउँदैछ यस्ता जोखिम
स्वास्थ्यको सम्पूर्ण संयन्त्र कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित हुँदा अन्य संक्रामक तथा सरुवा रोगका संक्रमितको पहिचान र उपचारमा बाधा पुगेको मात्र छैन, समयमै उपचार नपाउँदा बिरामीलाई आर्थिक भार थपिनुका साथै मृत्युको जोखिम समेत बढाएको छ।
अहिले मुलुकको सम्पूर्ण स्वास्थ्य संयन्त्र कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारमा केन्द्रित छ। यसले गर्दा अन्य संक्रामक रोग ओझेलमा परेका छन्। कोरोनामा मात्रै केन्द्रित हुँदाको असर विभिन्न क्षेत्रमा देखिन थालिसकेको छ। जसमध्ये पश्चिम नेपालको नेपालगञ्ज पनि एक हो।
स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार, कोरोना केन्द्रित स्वास्थ्य सेवाको असर एचआईभी/एड्स, क्षयरोग लगायत सरुवा रोगको पहिचान र उपचारमा परेको छ। नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागमा नेपालगञ्ज क्षयरोग रेफरल सेन्टर छ। सेन्टरका क्लिनिक इञ्चार्ज हिक्मतबहादुर खड्का क्षयरोगका नयाँ बिरामी पत्ता लगाउने स्क्रिनिङको काम अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले घटेको बताउँछन्। तर, सेन्टर मार्फत दिइने क्षय रोगको जाँच र उपचारमा कुनै कमी नआएको उनको दाबी छ।
सरकारले कोरोना रोकथामका लागि गरेको बन्दाबन्दी/निषेधाज्ञा र संक्रमण जोखिमका कारण क्षयरोग पहिचानका लागि नयाँ बिरामी सेन्टरमा आउन सकेका छैनन्। यस्तै, अस्पतालमा पहिल्यै भर्ना भएका बिरामी कोरोनाको उच्च जोखिममा हुने भएकाले बिरामी र स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्न भने पनि जिल्लाको कुनै पनि संयन्त्रबाट सुनुवाई हुन सकेको छैन। “कोरोना परीक्षण नहुँदा क्षयरोगका बिरामी र उनीहरुको उपचारमा खट्ने स्वास्थ्यकर्मी जोखिममा छन्”, क्लिनिक इञ्चार्ज खड्का भन्छन्।
नेपालगञ्ज क्षयरोग रेफरल सेन्टर क्षयरोग पहिचान र उपचार गर्ने यस क्षेत्रको एक मात्र अस्पताल हो।
नेपालगञ्ज उपमहानगरपालिका–६ मा रहेको शहरी स्वास्थ्य केन्द्रकी अहेब अमृता दर्लामी बन्दाबन्दीको समयमा संक्रामक तथा सरुवा रोग विरुद्ध बालबालिकालाई दिनुपर्ने खोप सेवा प्रभावित बनेको बताउँछिन्। दर्लामीका अनुसार, कोरोना संक्रमण महामारी अघि वडा मार्फत प्रत्येक महीनाको ४ गते नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएकोमा गएको वैशाखमा उक्त वडाका करीब ६० जना बालबालिकाले खोप सेवा पाउन सकेनन्। “पछिल्लो समय भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खोप कार्यक्रम र उपचार सेवा सञ्चालन गरिरहेका छौं”, दर्लामी भन्छिन्।
“क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन खकार जाँच्नुपर्छ। तर कोरोना महामारीको समयमा खकार जाँच्ने र पोजिटिभ केसको दर घटेको छ। क्षयरोगका बिरामी कोरोनाको उच्च जोखिममा हुने भएकाले कतिपय संक्रमित उपचार सेवा लिन अस्पताल नगएको पनि भेटियो।” - डा. अनुज भट्टचन, निर्देशक, राष्ट्रिय क्षयरोग केन्द्र
स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन कोरोना संक्रमण महामारीले मुलुकमा क्षयरोगका बिरामी खोज्न, क्षयरोग भए/नभएको जाँच्न र उनीहरुलाई स्वास्थ्य संस्थासम्म पुर्याउने काममा व्यवधान आएको स्वीकार्छन्।
“क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन खकार जाँच्नुपर्छ। तर कोरोना महामारीको समयमा खकार जाँच्ने र पोजिटिभ केसको दर घटेको छ”, डा. भट्टचन भन्छन्, “क्षयरोगका बिरामी कोरोनाको उच्च जोखिममा हुने भएकाले कतिपय संक्रमित उपचार सेवा लिन अस्पताल नगएको पनि भेटियो।”
डा. भट्टचन तत्काल क्षयरोगका बिरामी पहिचान गर्न नसक्दा आगामी वर्षहरुमा क्षयरोगका संक्रमित, यसबाट मृत्यु हुने र अरुलाई सार्ने दर बढ्ने बताउँछन्। क्षयरोगका बिरामी बढ्दा राज्यलाई यसको संक्रमण नियन्त्रणमा भार थपिने तथा बिरामीको पारिवारिक र सामाजिक तहमा पनि असर पर्ने उनको भनाइ छ।
काठमाडौं उपत्यका बाहिरका अस्पतालहरुमा मात्र होइन, उपत्यकाका अस्पतालहरुमा पनि बन्दाबन्दी र निषेधाज्ञाका कारण संक्रामक तथा सरुवा रोगका बिरामीको चाप कम देखिएको छ। कतिपय अस्पतालमा त कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गरिंदा अन्य सरुवा रोगको उपचार नै बन्द भएको छ।
मुलुककै पहिलो र सरुवा रोगको मात्र उपचार टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्ने बनाएपछि करीब सात महीनायता अन्य सरुवा रोगको उपचार पूर्णरूपमा रोकिएको छ।
मुलुककै पहिलो र सरुवा रोगको मात्र उपचार टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्ने बनाएपछि करीब सात महीनायता अन्य सरुवा रोगको उपचार पूर्णरूपमा रोकिएको छ। यो सरकारी अस्पतालमा रेबिज, डेंगी, स्क्रब टाइफस, कालाज्वर, मलेरिया, टिटानस, मौसमी रुघाखोकी, झाडापखाला, जन्डिस, स्वाइनफ्लु, यौन रोग तथा एचआईभी/एड्स जस्ता जस्ता संक्रामक रोगको उपचार हुँदै आएको थियो।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारी अस्पतालबाट सरुवा रोगका बिरामीलाई सेवा दिने क्रम रोकिएपछि बिरामीलाई सहज स्वास्थ्य सेवा पाउन कठिन भएको बताउँछन्। शुक्रराज अस्पतालबाट अहिले रेबिजको भ्याक्सिन र एचआईभी/एड्सका बिरामीलाई दिइनुपर्ने नियमित औषधि मात्र उपलब्ध गराउँदै आएको उनी बताउँछन्। अन्य रोगका उपचार सेवा भने वीर अस्पताल, पाटन लगायतका अन्य चार वटा अस्पतालमा सारिएको उनको भनाइ छ।
बिरामीलाई आर्थिक भार, ज्यानै जाने जोखिम
कोरोना संक्रमण महामारीको असरले समयमै उपचारका लागि अस्पताल जान नसक्दा हेपाटाइटिस बी र सीका बिरामीको उपचार गर्ने अवधि लम्बिएको छ। जसका बिरामीलाई आर्थिक भार थपिने विशेषज्ञ चिकित्सक बताउँछन्। वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा बन्दाबन्दीका वेला यातायातका साधन चल्न नसक्दा हेपाटाइटिस बी र सी को उपचार गर्न आउने बिरामीको संख्या इमर्जेन्सीमा बाहेक शून्य रहेको बताउँछन्।
बन्दाबन्दी र निषेधाज्ञा हटेपछि पनि अस्पतालको बहिरंग कक्षमा भर्ना भएर उपचार गर्ने नयाँ बिरामीको संख्यामा पहिलेको तुलनामा मासिक ७५ प्रतिशतले घटेको छ। डा. शर्मा भन्छन्, “कोरोना महामारी शुरु हुनुअघि बहिरंग कक्षमा हेपाटाइटिस बी र सीका मासिक ३०० बिरामी भर्ना हुन्थे, तर अहिले बन्दाबन्दी नहुँदा पनि मासिक करीब सय बिरामी मात्र आइरहेका छन्।”
“समयमा उपचार गर्न आउने बिरामीलाई उपचार गरेर तीन महीनाभित्रमा निको पार्न सकिन्थ्यो। तर कोरोना महामारीका कारण बिरामी अस्पताल आउन नपाएपछि उनीहरुको उपचार हुन ६ महीना वा सो भन्दा बढी समय लाग्छ।” - डा. दिलीप शर्मा, कलेजो रोग विशेषज्ञ, वीर अस्पताल
मुलुकका सबै ठाउँमा कलेजो रोगको उपचार हुने विशेषज्ञ सेवा नहुँदा अधिकांश बिरामी काठमाडौं आउने गरेका छन्। तर, महामारीका बेला यातायातको अभाव र अस्पतालबाटै कोरोना संक्रमण हुने जोखिमका कारण नयाँ र फलोअपका बिरामी अस्पताल नआएको डा. शर्मा बताउँछन्। हेपाटाइटिस बी र सीका बिरामी कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्।
हेपाटाइटिस बी र सीका बिरामी समयमा अस्पताल पुगेर औषधोपचार गर्न नपाउँदा कलेजो झन् बिग्रिएर शरीरमा छिटो संक्रमण फैलिने, लिभर सिरोसिस र क्यान्सर हुनेसम्मको जोखिम रहन्छ। “समयमा उपचार गर्न आउने बिरामीलाई उपचार गरेर तीन महीनाभित्रमा निको पार्न सकिन्थ्यो”, डा. शर्मा भन्छन्, “तर कोरोना महामारीका कारण बिरामी अस्पताल आउन नपाएपछि उनीहरुको उपचार हुन ६ महीना वा सो भन्दा बढी समय लाग्छ।”
तीन महीनासम्म मात्र औषधि खाए हुनेमा ६ महीना वा सो भन्दा बढी समय खानुपर्दा बिरामीलाई आर्थिक भार पर्ने र समयमा उपचार गर्न नपाएका कारण ज्यानै जाने जोखिम रहने डा. शर्मा बताउँछन्।
बन्दाबन्दी/निषेधाज्ञाको बेला यातायातका साधन नचलेर स्वास्थ्य संस्थासम्म पहुँच नहुँदा एचआईभी/एड्स जस्ता यौनजन्य सरुवा रोगका संक्रमित बिरामी खोज्ने र उनीहरुको उपचार गर्ने काममा पनि अप्ठेरो परेको छ। राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ बन्दाबन्दी र निषेधाज्ञाको समयमा यातायात नचल्दा जाँच्नुपर्ने व्यक्ति स्वास्थ्य संस्थासम्म आउन नसकेको र यसका कारण एचआईभी/एड्सको परीक्षणमा कमी आएको बताउँछन्।
केन्द्रले मुलुकभरका स्वास्थ्य संस्था मार्फत गर्भवती जाँचका लागि जानेहरुको समेत नियमित एचआईभी/एड्स जाँच गर्दै आएको थियो। तर, कोरोना महामारीका कारण गर्भवती जाँच गर्न अस्पताल पुग्नेहरुको संख्यामा कमी आएपछि केन्दलाई लक्ष्य अनुसार एचआईभी/एड्स संक्रमित खोज्ने काममा कठिनाइ भएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ बन्दाबन्दी र निषेधाज्ञाको समयमा यातायात नचल्दा जाँच्नुपर्ने व्यक्ति स्वास्थ्य संस्थासम्म आउन नसकेको र यसका कारण एचआईभी/एड्सको परीक्षणमा कमी आएको बताउँछन्।
मुलुकमा एचआईभी/एड्सका २९ हजार ५०० संक्रमित रहेको केन्द्रको आकलन छ। यीमध्ये २३ हजार संक्रमित मात्र केन्द्रको सम्पर्कमा छन्। बाँकी ६ हजार ५०० संक्रमितलाई केन्द्रले अहिलेसम्म खोज्न सकेको छैन। यिनै संक्रमित खोज्न केन्द्रले प्रत्येक वर्ष कार्यक्रम सञ्चालन गरिरहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “हामीले प्रत्येक वर्ष घर–घरमा पुगेर एचआईभी/एड्स संक्रमित पहिचान गर्न परीक्षण गर्दै आएका थियौं, तर कोरोना महामारीका कारण उक्त नियमित काममा अवरोध आयो।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का जुनोटिक शाखा प्रमुख डा. हेमन्त ओझा अस्पताल तथा स्वास्थ्य संस्थाहरु कोरोना संक्रमण महामारीमा मात्र केन्द्रित हुँदा र स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि अस्पतालबाट अन्य सरुवा रोगको सेवा दिन कठिनाइ देखिएको तर्क गर्छन्। अवस्था कस्तो छ भने, ईडीसीडीमा अघिल्ला वर्षहरुको तुलनामा अन्य सरुवा रोगका बिरामी सम्बन्धी तथ्यांकको रिपोर्र्टिङ समेत कम भएको छ।
डा. ओझा भन्छन्, “बन्दाबन्दीको समयमा सरुवा रोगबाट बचाउन बालबालिकालाई दिइने खोप कार्यक्रम समेत प्रभावित बन्यो। तर अहिले स्वास्थ्य मन्त्रालयले कोरोनासँगै अन्य रोगको उपचारलाई पनि प्राथमिकता दिने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ।”
कोरोना महामारी रोकथामका लागि गरिएको बन्दाबन्दीपछि सरुवा रोग मात्र नभएर सबै रोगका बिरामी अस्पताल जाने क्रम घटेको देखिन्छ। स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार, मुलुकभरिका अस्पतालहरुमा नाम दर्ता गरेर उपचार सेवा लिने बिरामीको संख्या २०७६ फागुनमा ४९ हजार ५८५ थियो। तर, यो संख्या २०७७ असारमा झण्डै आधाले घटेर २५ हजार २६६ मा झर्यो। जेठ महीनामा अस्पतालहरुमा नाम दर्ता गरेर उपचार सेवा लिने बिरामीको संख्या २४ हजार ६४८ पुगेको थियो। यो स्वास्थ्य सेवा विभागले राखेको सरुवासहित नसर्ने रोगका बिरामीको तथ्यांक हो।
स्वास्थ्य अर्थशास्त्री डा. शिवराज अधिकारी हरेक असामान्य परिस्थितिका बेला बिरामी अस्पताल जाने क्रम घट्ने र यसको असर बन्दाबन्दीको समयमा पनि देखिएको बताउँछन्।
“कोरोनाका कारण अस्पतालमा अन्य रोगको सुरक्षित रूपमा उपचार गर्ने व्यवस्था नहुँदा बिरामीहरु रोग पालेरै घरमा बसिरहेका छन्”, डा. अधिकारी भन्छन्, “समयमा रोगको पहिचान नहुँदा आर्थिक भार पर्नसक्ने सम्भावना रहन्छ।”
साथमा नेपालगञ्जबाट प्रेम विश्वकर्मा।