कोरोनाको उच्च जोखिममा दीर्घरोगी, ‘रेड जोन’ ६ जिल्लामा कहाँ कति छन् यस्ता बिरामी ?
विश्व स्वास्थ्य संगठनका अनुसार श्वासप्रश्वास, मुटु, मधुमेह, क्यान्सर लगायतका दीर्घ रोगका बिरामीहरू कोरोनाभाइरसको जोखिममा हुन्छन्। स्वास्थ्य मन्त्रालयले ‘रेड जोन’ अर्थात् कोरोनाको उच्च जोखिममा राखेका ६ जिल्लामा दीर्घरोगीको संख्या र अवस्थाः
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० साउनसम्मको तथ्यांक अनुसार, ६ जिल्ला कोरोनाभाइरसको उच्च जोखिममा छन्। कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै मन्त्रालयले काठमाडौं, पर्सा, रौतहट, महोत्तरी, डोटी र कैलालीलाई ‘रेड जोन’ मा राखेको छ।
मन्त्रालयको २३ साउनसम्मको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमित ६ हजार ३ सय ३० रहेकोमा यी ६ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ८४ छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, श्वासप्रश्वास, मुटु, मधुमेह, क्यान्सर लगायतका दीर्घ रोगका बिरामीहरु कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्। यी रेड जोनमा परेका जिल्लाहरूमा दीर्घरोगीको अवस्था के छ त?
दीर्घरोगको बढ्दो समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालको प्रतिवेदन, स्वास्थ्य सेवा विभागको तथ्यांक र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मुलुकमा नसर्ने तथा अन्य संक्रामक रोगको समस्या बढेको देखाउँछ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको ‘रेड जोन’ मा राखेका ६ जिल्लाको तथ्यांक हेर्दा अन्य रोगको तुलनामा सबैभन्दा धेरै श्वासप्रश्वासका बिरामी देखिन्छन्।
यो पनि पढ्नुहोस् - मदिरा सेवन पूर्ण असुरक्षित र मृत्युकाे जाेखिम बढाउने कारक
हिमालखबरलाई प्राप्त स्वास्थ्य सेवा विभागको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको आर्थिक वर्ष २०७५/७६ को नयाँ तथ्यांक अनुसार, कोरोनाको रेड जोन काठमाडौं जिल्लामा सबैभन्दा बढी सीओपीडी, ब्रोङ्काइटिस जस्ता श्वासप्रश्वास सम्बन्धी एक लाख नौ हजार ९८३ बिरामी छन्। यस्तै, श्वासप्रश्वास सम्बन्धी रोगका कैलालीमा ८२ हजार ८४८, महोत्तरीमा ४९ हजार ९६३, रौतहटमा ४८ हजार ८६२, डोटीमा ३७ हजार ९०८ र पर्सामा २९ हजार ७८६ बिरामी छन्।
यस्तै, उच्च रक्तचापको समस्या भएका व्यक्तिको संख्या काठमाडौंमा ५२ हजार ८७१, पर्सामा नौ हजार ६४८, कैलालीमा ६ हजार ९१४, महोत्तरीमा पाँच हजार ९०१, रौतहटमा पाँच हजार ६१७ र डोटीमा एक हजार २०३ छ (हे.इन्फो)।
यो तथ्यांक मुलुकका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा एक आर्थिक वर्षमा बहिरंग कक्षमा भर्ना हुन आएका नयाँ बिरामीहरुको संख्या मात्र हो। यो तथ्यांकमा दीर्घ रोगका सरकारी अस्पतालमा भर्ना भएका पुराना बिरामी र निजी अस्पतालमा भर्ना आएका नयाँ र पुराना कुनै पनि बिरामीको तथ्यांक समावेश नगरिएको स्वास्थ्य सेवा विभागको सूचना व्यवस्थापन शाखाका तथ्यांक अधिकृत दिवाकर सापकोटा बताउँछन्।
विज्ञ भन्छन्– दीर्घरोगी सजग बनौं
स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार, कुल वयस्क जनसंख्यामध्ये २५ प्रतिशतलाई उच्च रक्तचाप, पाँच प्रतिशतलाई कोरोनरी आर्टरी जस्तो मुटुुसम्बन्धी समस्या छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला कोरोनाको संक्रमणबाट रक्तचाप, मोटोपन, मुटुरोग, क्यान्सर लगायतका बिरामी जोखिममा रहेको बताउँछन्।
यो पनि पढ्नुहोस् - कलिलैमा क्यान्सर
उनी भन्छन्, “दीर्घ रोगीहरूले यो वेला भीडभाडमा नगई सकेसम्म घरभित्रै बस्नुपर्छ, सुरक्षाको उपाय अपनाए संक्रमणबाट जोेगिन सकिन्छ।”
वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा अरु दीर्घरोगी जस्तै कलेजो रोगीहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँछन्। कलेजोको समस्या भएका जस्ता दीर्घरोगीहरूको रोग प्रतिरोधी क्षमता कम हुने भएकाले उनीहरुले विशेष सजगता अपनाउनुपर्ने उनको सुझाव छ।
“भौतिक दूरी कायम गर्ने, नियमित औषधि सेवन गर्ने, पोषिलो खानेकुरा खाने र इमर्जेन्सी बाहेकको काममा अस्पताल नआउन आग्रह गर्छु”, डा. शर्मा भन्छन्।
संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी स्वास्थ्य मन्त्रालयले मुुलुकभर कहाँ कति संख्यामा दीर्घ रोगी छन् भन्ने हेरेर त्यसका आधारमा जोखिमयुक्त क्षेत्र निर्धारण गर्नुपर्ने बताउँछन्।
टेकूको शुक्रराज तथा ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला पनि मन्त्रालयले सिकिस्त दीर्घ रोगका बिरामीको तथ्यांक राख्ने र उनीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन्। कोरोना संक्रमणको उच्च जोखिममा रहेका दीर्घरोगीको सुरक्षा र हेरचाहमा सम्बन्धित बिरामी र परिवारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
डा. बास्तोला भन्छन्, “परिवारमा कोही दीर्घ रोगी छन् भने घरभित्रै सुरक्षित रुपमा राख्नुपर्छ।” कामकाजमा घर बाहिर निस्किने परिवारका वयस्क सदस्यहरुले घर फर्केपछि वृद्ध दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनी सुझाउँछन्।
सिनामंगलको काठमाडौं मेडिकल कलेजको मेडिसिन विभागका प्रोफेसर डा. अर्पना न्यौपाने कोरोना आफैंमा श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्ने रोग भएकाले यससम्बन्धी दीर्घरोगी उच्च जोखिममा रहेको बताउँछिन्।
यो पनि पढ्नुहोस् - स्वास्थ्य क्षेत्रमा दयनीय अवस्था: डब्ल्यूएचओ भन्छ, 'नेपालमा वायु प्रदूषण पनि मृत्युको कारण'
कमजोर श्वासप्रश्वास प्रणालीकै कारण धेरै कोरोना संक्रमितले ज्यान गुमाएको भन्दै उनीहरुको विशेष हेरचाह गर्नुपर्ने उनको भनाइ छ। “श्वासप्रश्वासका अन्य दीर्घहरुको पहिले नै फोक्सो कमजोर भइसकेको हुन्छ, यस्तो अवस्थामा कोरोना संक्रमण भयो भने सिकिस्त बिरामी परेर ज्यान जाने पनि जोखिम हुन्छ”, उनी भन्छिन्।
कोरोना संक्रमण समुदाय स्तरमा फैलिए श्वासप्रश्वासका बिरामीहरू र त्यसमा पनि वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित हुने डा. न्यौपाने बताउँछिन्। उनी अहिले वयस्कदेखि वृद्धवृद्धासम्म कसैले पनि होशियारी अपनाएको नदेखिएको भन्दै यस्तो क्रम चलिरहे गम्भीर अवस्था निम्तिन सक्ने बताउँछिन्।
“श्वासप्रश्वासका बिरामीहरूले प्रोटिन र प्रतिरोधी क्षमता बढाउने खानेकुराको सेवन गर्नुपर्छ”, उनी भन्छिन्, “प्रतिरोधी क्षमता बढाउन बेसार घोलेर खाँदा त्यसले निमोनिया भएकाहरुलाई फाइदा गर्छ।”
यो पनि पढ्नुहोस् - नसर्ने रोगले गरिबी बढायो