कोरोनाका सिकिस्त विरामीले अस्पताल भरिन थाले, शुरु भएन सरुवा रोग अस्पताल बनाउने प्रक्रिया
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा १३२५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यससँगै मुलुकमा ४ असोजसम्ममा कोरोनाका कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।
कुल कोरोना संक्रमितमध्ये १७ हजार ४७८ जना कोरोनाका संक्रिय संक्रमित छन्। ४ असोजसम्मको तथ्यांक अनुसार सक्रिय संक्रमितमध्ये आईसीयूमा उपचाररत बिरामीको संख्या १९० र भेन्टीलेटरमा उपचार गर्नेको संख्या ३६ पुगेको छ।
मुलुकमा कोरोनाका संक्रमित र सिकिस्त बिरामीहरूको संख्या बढेसँगै अस्पतालमा भीड बढ्न थालेको छ। कोरोना संक्रमितको उपचार गर्दै आइरहेको मुलुकको एक मात्र सरुवा रोगको उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले पूरै भरिएको हो।
५४ बेडको यो अस्पतालमा २० वेडको आईसीयूमा कोरोनाका सिकिस्त बिरामीको उपचार भइरहेको छ। तर अहिले सबै आईसीयू बेड बिरामीले भरिएका छन्। शुक्रराज अस्पतालको आईसीयूका लागि छुट्याएको २० बेड आइतबार भरिएका हुन्।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारी अस्पतालमा सिकिस्त बिरामीको चाप बढेकाले तीन वटा भेन्टीलेटर बेडसहित सात आईसीयू बेड थप्ने तयारी भइरहेको बताउँछन्। यस्तै, अस्पतालले आइसोलेसनका लागि थप सात वटा बेड थप्ने तयारी गरिरहेको छ।
डा. राजभण्डारीले अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थालेपछि अक्सिजन चाहिने निमोनिया भएका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्न थालेको बताए। “एक दिनमै दुईदेखि तीन जना अक्सिजन चाहिने बिरामीहरू आउन थालेका छन्”, उनी भन्छन्, “तर अस्पतालको अहिलेको पूर्वाधारले आएका जति सबैलाई भर्ना गरेर उपचार गर्न सक्ने अवस्था छैन।”
डा. राजभण्डारी कोरोनाका सिकिस्त बिरामीलाई न्यूनतम १० देखि १४ दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्ने भएकाले भनेको बेला आईसीयू बेड उपलब्ध नहुने समस्या रहेको बताउँछन्। उनी अस्पतालमा बेड थप्न सम्भव नभएकाले छुट्टै बेडसहितको सुविधा सम्पन्न अस्पताल भवनको आवश्यकता भएको बताउँछन्।
“शुक्रराज अस्पतालको सेवा विस्तार गरेर तीन सय बेडको अस्पताल बनाउन स्वास्थ्य मन्त्राललाई पटक–पटक भनेका छौँ”, उनी भन्छन्, “तर अहिलेसम्म तीन सय बेडको अस्पताल बनाउने प्रक्रिया नै शुरु गरिएको छैन।” उनी अस्पतालको सेवा विस्तार गर्दा छुट्टै भवनमार्फत उपचार सेवा र अध्ययन तथा अनुसन्धानको कामसँगै जनशक्तिको उत्पादनको काम गर्न सकिने बताउँछन्।
सरकारले आर्थिक वर्ष २०७७-७८ मा ल्याएको बजेट कार्यक्रममा चालु वर्षमा काठमाडौंमा तीन सय शैयाको सुविधासम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने भनिएको थियो। तर उक्त योजना अनुसार अहिलेसम्म अस्पताल निर्माणका लागि गुरुयोजना समेत नबनाइएको अस्पताल निर्देशक डा. राजभण्डारी बताउँछन्।
सरकारले बजेट कार्यक्रम ल्याएको तीन महीना बित्तिसक्दा पनि सरुवा रोग अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छैन।
मुलुकमा कोरोना संक्रमण फैलनुअघि ११० बेडमा बिरामीको उपचार गर्दै आइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दूरी कायम गरेर सुरक्षित रुपमा उपचार गनुपर्ने भएपछि अहिले ५० बेडमा मात्रै कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ।
कोरोना संक्रमित बिरामीको उपचार गर्ने ठाउँमा संक्रमणको जोखिम नियन्त्रणका लागि नेगेटिभि प्रेसर रुम जस्तो पूर्वाधार भएको अस्पताल चाहिने भएकाले पुराना भवनमा यस्ता पूर्वाधार बनाउन कठिन रहेको डा. राजभण्डारी बताउँछन्।