अब ड्रोनमार्फत क्षयरोगी पत्ता लगाइने
स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठले ड्रोन मार्फत क्षयरोगी पत्ता लगाउने ड्रोट्स नेपाल परियोजनाको आइतबार उद्घाटन गरेका छन्।
उक्त परियोजना उद्घाटनपछि प्यूठानको होटल आयुस्मामा भएको कार्यक्रम स्थलबाट ड्रोनमा खकारको सांकेतिक नमूना राखेर उडाई प्यूठान नगरपालिकाको कार्यालयमा अवतरण गराइएको थियो ।
ड्रोनले अबदेखि क्षयरोगका बिरामी पत्ता लगाउन प्यूठानको स्वर्गद्वारी नगरपालिका र प्यूठानका सबै स्वास्थ्य संस्थाबाट शंकास्पद बिरामीको खकारको नमूना संकलन गरेर जिल्ला अस्पताल र जिल्ला अस्पताल र भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने छ ।
जिल्लाका २ नगरपालिकाभित्र भौगोलिक रूपमा कठिन र दुर्गम स्थानमा रहेका शंकास्पद बिरामीलाई क्षयरोग पत्ता लगाउन सहज बनाउने उद्देश्यले ड्रोट्स परियोजना शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।
स्वास्थ्यकर्मीलाई नयाँ प्रविधिबाट क्षयरोगका बिरामी पत्ता लगाउनु र बिरामीलाई उचित उपचारमा ल्याई क्षयरोग निको पार्न सहयोग गर्ने उद्देश्यले ड्रोट्स परियोजना शुरु गरिएको हो ।
उक्त परियोजनालाई विराट नेपाल मेडिकल ट्रस्ट नामक गैरसरकारी संस्था र स्वास्थ्य कार्यालय प्यूठानले संयुक्त रूपमा आयोजना गरेका हुन्।
सन् २०१९ को डिसेम्बरसम्म सञ्चालन हुने उक्त पाइलट परियोजनाको लागत १ लाख ९३ हजार ८ सय २८ अमेरिकी डलर रहेको छ।
परियोजना डिसेम्बर २०१९ सम्ममात्रै चल्ने भएकाले त्यो समयमा हुने प्रगतिलाई आधार मानेर थप आर्थिक सहयोग उपलब्ध भए परियोजनालाई निरन्तर सञ्चालन गरिने विराट नेपाल मेडिकल ट्रस्टका वरिष्ठ क्षयरोग अनुसन्धानकर्ता डा. म्याक्सिन काउसले बताइन्।
उक्त ड्रोनले एकपटकमा २० देखि २५ जनाको खकारको नमूना संकलन गर्न सक्ने ड्रोन नेपालका जियोमाटिक्स इन्जिनियर उत्तम पुडासैनीले बताए।