कामको मान अर्थात् कुलमान
जताततै अव्यवस्था र बेथितिका कारण समाजमा व्याप्त निराशाबीच सार्थक काम गर्ने जो–कोही पात्र जनतामाझ स्थापित हुनसक्छन्। कुलमानले त्यही गरे जसका लागि उनी नियुक्त गरिएका थिए। आफ्नो व्यावसायिक दक्षता र चारित्रिक निष्ठाका कारण उनी परिणाम दिन सफल भए।
संसारमा त्यस्ता मुलुक शायदै पाइएलान् जहाँ मानिसले योग्य र इमानदार हुनुको दण्ड भुक्तान गर्नुपर्ने हुन्छ। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ति उपरको सरकारको ‘रिजर्भेसन’ ले यस्तै संकेत गर्दछ। सरकारले कुलमानको पुनःनियुक्तिलाई लिएर कुनै औपचारिक धारणा सार्वजनिक गरिसकेको त छैन। तर पनि, पटक–पटक बसेको मन्त्रिपरिषद्को बैठकमा उनको नियुक्तिलाई लिएर कुनै छलफल नै नहुनुले सरकार उनको पुनःनियुक्तिप्रति सकारात्मक छैन भन्ने कुरा सहजै बुझ्न सकिन्छ। सँगसँगै कुलमानको समर्थनमा उर्लिएको जनलहरका कारण उनको बदला कुनै अर्को पात्र नियुक्त गर्न सरकार धर्मराएको पनि देखिन्छ।
आफ्नो अब्बल कार्यसम्पादनबाट सर्वत्र वाह्वाही कमाएका कुलमान सहजै दोस्रो कार्यकाल प्रवेश गर्ने आम अपेक्षा थियो। उनको पुनःनियुक्ति सरकारका निम्ति पनि किञ्चित माथापच्चीको विषय थिएन। तर, परिदृश्य सोचिए वा अनुमान गरिए झैं देखिंदैन।
प्रधानमन्त्री केपी शर्मा ओली कुलमानको पुनःनियुक्तिप्रति सकारात्मक छैनन् भन्ने कुरा सुनिंदै आएको थियो। तर, १८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब रुपैयाँ सञ्चित घाटामा रहेको संस्थालाई आफ्नो कार्यकालमा क्रमशः नाफामा ल्याउँदै रु.५ अर्बको सञ्चित नाफामा पुर्याएका कुलमान कसरी प्रम ओलीको ‘समृद्धि’ का लागि व्यवधान भइरहेका छन् भन्ने प्रश्नले अन्य देशवासी झैं यस पंक्तिकारको मनभित्र पनि झुत्ती खेलिरहेको छ।
हुन पनि, पछिल्ला घटनाक्रमको विश्लेषणले ओली कुलमानप्रति सकारात्मक छैनन् भन्ने शंकालाई पुट मिल्दछ। कुलमानको कार्यकाल सकिनुपूर्व नै विभागीय (ऊर्जा) मन्त्रीले मन्त्रिपरिषद् बैठकमा पुनःनियुक्तिको प्रस्ताव उठाएका थिए, जसलाई प्रम ओलीले ‘कानूनी व्यवस्था के छ हेर्नुपर्छ’ भन्दै पन्छाएको भन्ने खबर पनि आए। त्यस उप्रान्त कैयौं पटक मन्त्रिपरिषद्को बैठक बसिसकेको छ, तर यस सम्बन्धमा न कानूनी व्यवस्था हेरिएको खबर प्रसार भएको छ न त प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त नै गरिएको छ।
कानूनी कुरा गर्ने हो भने सरकारले चाहेको जो–कोहीलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सक्छ। ती व्यक्ति सरकारद्वारा सीधै वा पछिल्लो पल्ट कुलमान स्वयं नै खुला प्रतियोगिता मार्फत प्रवेश गरे झंै नियुक्त हुन सक्नेछन्। नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ मा प्राधिकरणको प्रमुख कार्यकारी नेपाल सरकारले तोक्न सक्ने स्पष्ट व्यवस्था छ।
लोडसेडिङ अन्त्यको जस सम्पूर्ण रूपमा कुलमान एक्लैले लिएको र उनी व्यक्तिगत प्रचारवाजीमा लागेको भन्ने आरोप प्रम र उनी निकट समूहको रहेको भन्ने सुन्नमा आएको छ। यद्यपि सार्वजनिक वृत्तमा कतै पनि कुलमानले लोडसेडिङ अन्त्यको एकल जस लिएको सुनिएको/पढिएको छैन। आफूलाई निर्देशन दिने राष्ट्रका कार्यकारी प्रमुख, विभागीय मन्त्री र सचिवदेखि आफू मातहतका सहकर्मी सबैलाई उनले यस उपलब्धिको सामूहिक जस दिंदै आएका छन्। रह्यो कुरा प्रचारवाजीको, यस कुराको साक्षी यो पंक्तिकार स्वयं नै हो।
सार्वजनिक परिदृश्यमा विगत चार वर्षदेखि मात्र देखिएका कुलमानलाई यस पंक्तिकारले चिनेको करीब चालीस वर्ष वितिसकेको छ, विद्यालयकालदेखि। पंक्तिकारले कुलमानमा आत्मश्लाघा वा आत्ममुग्धता कहिल्यै महसूस गरेको छैन। अंग्रेजीमा भनिने ‘सेल्फ–मेड’ उनी लो–प्रोफाइलमा रहेर काम गर्न रुचाउने व्यक्ति हुन्।
प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुनुअघि उनले रसुवाको चिलिमे जलविद्युत् परियोजनालाई एउटा नमूना आयोजनाका रूपमा स्थापित गर्दै आफ्नो अब्बल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका थिए। स्थानीय आयोजनाको स्वामित्व स्थानीय बासिन्दा समेतलाई दिएर उज्यालो सँगसँगै आर्थिक लाभांश दिने उनको रणनीति विकेन्द्रीकरण, समावेशिता र अझ ‘समाजवाद उन्मुख’ शासनपद्धतिको एउट अप्रतिम उदाहरण हो। विडम्बना के भने, उच्च व्यवस्थापकीय कौशल प्रदर्शन गरिरहेका उनलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले जिम्मेवारीबाट हटाउँदै जगेडामा फालिदिइन्। त्यतिवेला उनी आफ्नो फरियाद बोक्दै मिडियासमक्ष पुगेनन्, बरू फुर्सदको समयलाई स्वाध्ययनमा खर्चिए।
लो–प्रोफाइलका कुलमानलाई उनी नियुक्त भएकै वर्ष २०७३ सालको एउटा घटनाले एकाएक हाइ–प्रोफाइलमा पुर्याइदिएको थियो। विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख त्यतिबेला को थियो — आम नागरिकलाई रत्तिभर सरोकार थिएन। उनीहरू उमंगका साथ त्यस वर्षको तिहार (लक्ष्मी पूजा) मनाइरहेका थिए, शहर (खासगरी काठमाडौं उपत्यका) झिलमिली बत्तीले धपक्कै बलेको थियो। रात छिप्पिंदै थियो, तर त्यस दिन चमत्कार भइदियो। तिहार उत्कर्षमा पुगेको बेला शहरको ‘फ्युज’ उडिदिएन। आश्चर्यचकित नगरवासी त्यो चमत्कारको पछाडि कसको हात छ भन्नेतिर जान्न बुझ्न शुरू गरे। तिहार मात्र के, त्यसपछिका दिनमा कसैका घरमा पनि उज्यालको ‘फ्युज’ गएन। र, यसैबीच त्यो चमत्कार पछाडिको चेहरा कुलमान घिसिङ सबैको मनप्रिय हुन थाले।
कुलमानप्रतिको समर्थनको आयतन फैलिंदो छ। गुणग्राही नेपालीजन उनीप्रति कृतज्ञता जनाउन त चाहन्छन् नै, उनीहरू आफ्नै भविष्य उपर पनि चिन्तित देखिन्छन्। योग्यको बदला अयोग्य नियुक्त हुँदा कतै लोडसेडिङ हुने त होइन भन्ने आशंकाले उनीहरूलाई बेचैन बनाएको छ।
सम्वत् २०७४ को हिमाल खबरपत्रिकाको नयाँ वर्ष विशेष अङ्कको ‘थिम’ आशा थियो, जसको आवरणमा कुलमानको तस्वीर राख्ने निर्णय सम्पादकीय समूहले गरेको थियो। फोटो सेसनको चाँजोपाँजो मिलाउने जिम्मा यस पंक्तिकारले लिएको थियो। आफ्ना अभिन्न मित्रको फोटो खिचाउनु उसले ‘चुट्की’ को काम सम्झेको थियो। तर, कुलमान पंक्तिकारको सन्देश ‘बेवास्ता’ गर्दै फोटोसेसन टारिरहे। अन्ततः नेपाल पर्यटन बोर्ड परिसरमा आयोजित एक कार्यक्रममा उनलाई संयोगवश हिमालखबरका फोटोग्राफरले फेला पारे र फोटो सेसन त्यही नै भयो। आत्मप्रचारदेखि कोसौं पर रहन रुचाउने र मिडियावाजीमा रौं बराबर पनि रुचि नभएका कुलमानप्रति ‘प्रचारमुखी’ को आरोप लगाउनेहरूप्रति यो पंक्तिकारको दया जाग्दछ।
नायकप्रतिको आसक्ति
चिलिमे जलविद्युत् योजनाबाट हठात् हटाइँदा रसुवा जिल्लावासी कुलमानको पुनर्वहालीका निम्ति आन्दोलनमा उत्रिएका थिए। अहिलेको परिदृश्य भने विल्कुलै भिन्न छ। जिल्लाको आयोजनाबाट उठेका उनी राष्ट्रिय व्यक्तित्व बनिसकेका छन्। त्यसैले उनको पुनःनियुक्ति हुन नसक्ने शंका मात्रले पनि जनता कोभिड–१९ को संक्रमण बेवास्ता गर्दै सडक आन्दोलनमा उत्रिएका छन्। आफ्नो समर्थनमा उर्लंदो जनलहरले संक्रमणको जोखिमका साथै शान्ति सुरक्षामा चुनौती पैदा हुनसक्ने तथ्यबारे जानकार कुलमानले त्यस्तो जुलूस, आन्दोलन वा प्रतिरोध नगरिदिन अनुरोध गरेका छन्। तर, उनीप्रतिको समर्थनको आयतन फैलिरहेको छ। किनकि, गुणग्राही नेपाली जनता कुलमानप्रति कृतज्ञता जनाउन त चाहन्छन् नै, उनीहरू आफ्नै भविष्य उपर पनि चिन्तित देखिन्छन्। योग्यको बदला अयोग्यलाई नियुक्ति दिइँदा भोलि फेरि लोडसेडिङ हुने त होइन भन्ने आशंकाले उनीहरूलाई बेचैन बनाएको छ।
लोडसेडिङ अन्त्य तथा प्राधिकरणको वित्तीय सुधारको एकल जसको दाबी कुलमानको छैन। उता सरकारका प्रवक्ता तथा प्रम ओलीका निजी सचिवालय सम्बद्धहरूले सरकारको नीति र निर्देशनका कारण नै यो परिणाम आएको दाबी गर्दै आएका छन्। एकछिनलाई मानिलिऊँ, सरकारको नीति निर्देशनका कारण नै लोडसेडिङ अन्त्य भएको नै हो रे ! तर यदि कुरा यत्ति मात्र हुन्थ्यो भने यसै नीतिले नेपाल वायुसेवा निगमलाई किन उकास्न सकेन ? अझ, प्रम ओली स्वयंले आफ्ना जिल्लावासी विश्वासपात्र मदन खरेललाई कार्यकारी अध्यक्षमै नियुक्त गरेका थिए। तर, खरेलको नियुक्ति पछि आकाशमा उड्नुपर्ने विमान जमीनमै बस्न थाले। संस्थाको वित्तीय घाटा त अब क्याल्कुलेटरको स्क्रिनमा पनि नअटाउने गरी बढ्यो।
सरकारको नागरिकसँगको सम्बन्धको मुख्य अवयव भनेकै नागरिक सेवा प्रदायक सार्वजनिक संस्था हुन्। सार्वजनिक संस्थाहरू जति सबल बन्छन् सरकार उत्ति नै प्रभावकारी हुन्छ। सही ऐन–नियम वा नीति–निर्देशनसँगै यी संस्थाहरू सबल बन्नका लागि तिनका नेतृत्वकर्तामा व्यावसायिक दक्षता र चारित्रिक निष्ठा उत्तिकै जरूरी हुन्छ। केदारभक्त माथेमा नेतृत्वको त्रिभुवन विश्वविद्यालयको तुलना तीर्थ खनियाँ नेतृत्वको त्यही संस्थासँग हुन सक्ला ? के कुलमानलाई उनका पूर्ववर्ती मुकेश काफ्लेको कोटिमा राख्नु न्यायोचित हुन्छ ?
कुलमान एउटा अमूक संस्थाका कार्यकारी प्रमुख भन्दा पनि नायक सदृश देदीप्यमान छन् अहिले, नेपाली समाजमा। उनको देवत्वकरण समेत भइरहेको देख्दछौं हामी। यसका कारणहरू छन्।
पहिलो कारक त सञ्चारमाध्यम नै हो, ऊ सधंै नायकको खोजीमा हुन्छ। मिडिया नायकका व्यावसायिक उपलब्धि र व्यक्तिगत विवरणलाई पाठक, श्रोता वा दर्शकको खपतका निम्ति उद्यत रहन्छ। गगन थापा, रमेश खरेल, गोविन्द केसी, कुलमान घिसिङ मिडिया निम्ति ‘हिरो मटेरियल्स’ हुनसक्छन्। भोलि अर्कै नाम पनि देखिन सक्छन्।
सरकार–नागरिक सम्बन्धको मुख्य अवयव भनेकै नागरिक सेवा प्रदायक सार्वजनिक संस्था हुन्। सार्वजनिक संस्थाहरू जति सबल बन्छन् सरकार उत्ति नै प्रभावकारी हुन्छ। सही ऐन नियम वा नीति–निर्देशनसँगै यी संस्थाहरू सबल बन्नका लागि तिनका नेतृत्वकर्तामा व्यावसायिक दक्षता र चारित्रिक निष्ठा उत्तिकै जरूरी हुन्छ।
दोस्रो कारकचाहिं, समाजमा व्याप्त निराशा हो। पात्र फेरिंदा पनि प्रवृत्ति नफेरिने र ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने निराश मनोग्रन्थिका कारण थोरै मात्र सार्थक काम गर्ने जो कोही पात्र जनता माझ स्थापित हुनसक्छन्। कुलमानकै उदाहरण लिऊँ, उनले त्यही गरे जसका लागि उनी नियुक्त गरिएका थिए। उनले मंगलग्रह पुगेर लोडसेडिङ अन्त्यको बुटी ल्याएका होइनन्। आफ्नो व्यावसायिक दक्षता र चारित्रिक निष्ठाका कारण उनी परिणाम दिन सफल भए। उनी र अरूमा फरक के चाहिं भइदियो भने, अरूहरू कुरा गर्नमै रमाए, उनी खुरुखुरु काम मात्र गरिरहे। टीकाटिप्पणीदेखि निरपेक्ष रहँदै निष्काम कर्म गरिरहे। तर सार्वजनिक चासो रहेको संस्थामा रहेकै कारण उनी आमजनको जानकारीमा आए र सेलिब्रिटी बने।
लोडसेडिङको अन्त्यले कुलमानप्रतिको जनअपेक्षालाई झनै बढाइदिएको छ। किनकि, लोडसेडिङको अन्त्य भनेको दुर्घटनामा छट्पटाइरहेको व्यक्तिलाई अस्पतालसम्म पु¥याउनु जस्तो मात्र हो। ऊ सुरक्षित ठाउँ त पुगेको छ, तर उसको सम्पूर्ण उपचार बाँकी छ। विद्युत्को उच्च उत्पादनका कारण माग र आपूर्तिको सन्तुलन, ग्रामीण विद्युतीकरण, विद्युतीय सवारी र घरेलु उपकरणको उच्च प्रयोग अबका दिनका मुख्य चुनौती हुन्। सस्तो र सुलभ विद्युत् मार्फत नेपालीको व्यवहार (विहेभियर) परिवर्तन हुन सक्दछ। त्यसैले कुलमानले थालेको यस अभियानलाई एउटा तार्किक मोडसम्म पु¥याउनका निम्ति पनि उनको पुनःनियुक्तिको विकल्प अहिलेका निम्ति छैन।
र, गर्विलो क्षण
पंक्तिकारले कक्षा सातसम्म पढेको र कुलमानले एसएलसी दिएको अमर आदर्श मावि अहिले अस्तित्वमा छैन। संचालकहरूबीचको खिचातानी र कानूनी झमेलाका कारण हजारौं दियो प्रकाशित गरेको यो विद्यालय स्वयं भने आँधीबीचको टुकी झैं झ्याप्पै निभिसकेको छ। शैशव र किशोरवय विताएको विद्यालय अस्तित्वमा नरहेको तथ्यले तत्कालीन विद्यार्थीलाई पीडाबोध हुन्छ। तर, यसै विद्यालयका उत्पादन कुलमान घिसिङले समुच्च देशकै अन्धकार दूर गरेको सत्यले उत्ति नै आनन्दानुभूति गराउँदछ। अभिन्न मित्र कुलमान राष्ट्रका सबैभन्दा प्रिय र प्राञ्जल व्यक्तित्वमा स्थापित भएको देख्दा सहपाठी सबै गौरवको अनुभूति गरिरहेका छन्।