प्राधिकरणमा घिसिङलाई नै नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छः ऊर्जामन्त्रीको सचिवालय
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा अर्को चारवर्षे कार्यकालका लागि प्रस्ताव गरेको जानकारी दिएको छ।
मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई नै प्राधिकरणको प्रबन्ध निर्देशकमा पुनर्नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन्।
चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई जिम्मेवारी दिने विश्वास समेत व्यक्त गरेका छन्।
मन्त्री पुनले पेश गरेको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन रहेकाले प्राधिकरणमा घिसिङ नियुक्तिको संभावना जीवितै रहेको उनले संकेत गरेका छन्।
चापागाईंले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको स्पष्ट पारे।
गत २८ भदौमा प्रबन्ध निर्देशकका रुपमा चार वर्षको कार्यकाल पूरा गरेका घिसिङलाई प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाइ गरेको थियो।