कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनर्नियुक्तिको मागसहित सर्लाहीमा प्रदर्शन
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ। सर्लाहीको हरिवनस्थित पूर्व–पश्चिम राजमार्ग कुलमानको पुनर्नियुक्ति हुनुपर्ने भन्दै मोटरसाइकल र्याली निकालिएको छ।
हाम्रालाई हैन राम्रालाई नियुक्ति गर, कुलमान घिसिङलाई पुनर्नियुक्ति गर जस्ता विभिन्न नाराहरू पोस्टरमा लेखेर मोटरसाइकलमा युवाहरूले र्याली निकालेका हुन्।
आफ्नो देशको बिजुली आफ्नै देशबासीले उपभोग गर्ने गरी देशलाई विद्युत ऊर्जामा आत्मनिर्भर बनाउनेतर्फ कुलमान घिसिङले दिएको योगदानले उनी सबैका प्रिय भएका हुन् भन्दै प्रदर्शनमा रहेका एक युवाले कुलमानको पुनर्नियुक्ति निश्चित नहुँदासम्म विभिन्न किसिमले दबाबमूलक कार्यक्रम गरिरहने बताएका छन्।
प्रदर्शनमा रहेका युवाहरूले आफूले आम नागरिकको भावनाको प्रतिनिधित्व गरेको बताए। अहिले देशका आम नागरिकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा हेर्न चाहेको उनले बताए।
नेविप्राका पूर्व कार्यकारी निर्देशक घिसिङले कुनै किसिमको प्रदर्शन नगर्न समर्थकहरूलाई अनुरोध गरेको समाचार आएपछि पनि उनका सर्लाही समर्थकहरूले उनको पक्षमा ¥याली निकालेका हुन्।