सोमबार फर्किए ५४२ नेपाली, अब नियमित र चार्टर्ड उडानबाट दैनिक ८०० जना आउन पाउने
सरकारले ९ भदौदेखि ८ दिनसम्मको लागि खुला गरेको चार्टर्ड उडानमा सोमबार एकैदिन ५४२ जना नेपाल भित्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको उडान तालिका अनुसार सोमबार हिमालय एअरलाइन्सले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीबाट १५५, नेपाल एअरलाइन्सले युएईकै दुबईबाट २५४ जना र एयर अरेबियाले दुबईकै सारजाहबाट १४२ जना यात्रु लिएर काठमाडौं आएका छन्।
एयर अरेबियाले भने फर्किँदा ४ जना लिएर गएको विमानस्थल कार्यालयले जारी गरेको उडान अवतरणको तथ्यांकमा उल्लेख छ।
सरकारले यसअघि १ भदौदेखि चार्टर्ड उडान खुला गरेको भएपनि होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै २ भदौबाट सबै उडान स्थगित गरेको थियो। फेरि ४ भदौमा चार्टर्ड उडानबाट दैनिक ५०० जना ल्याउन पाउने गरी अनुमति दिएको थियो।
१४ भदौ (आइतबार)को मन्त्रिपरिषद् बैठकले यसअघि ५०० जना मात्रै ल्याउन मिल्ने सीमालाई बढाएर ८०० जना पुर्याएको छ। सो सीमा बढेपछि सोमबार नै नेपाल आउने उद्धार उडानका यात्रुको संख्या बढेको हो। सरकारको यो निर्णयपछि अब उद्धार तथा नियमित उडानबाट आउने यात्रुको संख्या दैनिक ३०० ले बढ्नेछ।
यसअघिको उडान अनुमति अनुसार ९ भदौमा एयर अरेबियाबाट १६१ जना, १० भदौमा मलेसिया इत्तिहाद र फ्लाई दुबईबाट ३६६ जना यात्रु भित्रिएका थिए। ११ भदौमा हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्सबाट ४३७ जना आएका थिए। १२ भदौमा नेपाल एअरलाइन्स हिमालय र कतार एअरवेजबाट ४९० जना उद्धार उडानमार्फत स्वदेश भित्रिएका थिए।
१३ भदौमा सिल्क एअर र जजीरा एअरलाइन्सबाट २६० जना नेपाली स्वदेश फर्किएका थिए भने १४ भदौमा नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र मालिन्दो एयरबाट ४८० जना भित्रिएको विमानस्थल कार्यालयको उडान तथा अवतरणको तथ्यांकमा उल्लेख छ।
पर्यटन मन्त्रालयले सोही अनुसार स्वादेशी वायुसेवाहरू नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको उडान अनुमति तय गरेको थियो। सोही दिन विदेशी वायुसेवाहरू एअर अरेबिया, इत्तिहाद,फ्लाई दुबई, टर्किस, कतार, सिल्क, कोरियन र मालिन्दोलाई उद्धार उडानमार्फत यात्रु चार्टर्ड गर्न अनुमति दिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सरकारले दिएको अनुमति र नेपाल नागरिक उड्डयन प्राधिरकणले स्वीकृति गरेको उडान तालिका अनुसार नै यात्रुको उडान तथा अवतरण भइरहेको बताए।
उनले भने "सरकारले दिएको निर्देशन कार्यान्वयन गर्ने निकाय विमानस्थल कार्यालय भएकोले अह्राएको काम मात्रै गरिएको छ। कुनै पनि काम अह्राएको र तोकिएको भन्दा तलमाथी गर्न हामीले पाउँदैनौ।"
सीमाभित्र रहेर उडान गर्नुपर्ने भएकोले टर्किस र कताए एअरवेजलाई अधिकतम १०० जना यात्रु ननाघ्ने गरी यात्रु ल्याउने स्वीकृति दिइएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पनि सीमाभित्र उडान गराउनु पर्दा यी दुई वायुसेवाको भागमा १०० जनासम्मको क्षमतामा मात्रै यात्रु नेपाल ल्याउन पाउने हिमालखबरसँग बताए।
सरकारले गरेको निर्णय अनुसार अब भोलीदेखि हुने नियमित उडानमा पनि दैनिक ८०० जना ल्याउन पाइने भएकोले आजसम्म आउने उडानमा यात्रु सीमा नभएको उल्लेख छ। सरकारले भोली १६ भदौदेखि एक महीनाको लागि तय गरेको नियमित र चार्टर्ड उडानको लागि सीमा तय गरेर सम्बन्धित वायुसेवालाई उडान अनुमतिको तालिकासमेत स्वीकृत गरिसकेको छ।