आजबाट आठ दिनसम्म उद्धार उडान, पीसीआर परीक्षण नगरेकाहरु होटलको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने
सरकारले आजबाट पुनः उद्धार उडान शुरु गर्दैछ। आजबाट आठ दिनसम्म हुने उडानबाट करीब चार हजार नेपाली स्वदेश फर्कनेछन्।
सरकारले ४ भदौमा दैनिक ५०० जना मात्रै ल्याउन पाउने व्यवस्था गरेको छ। सोही अनुसारको तालिका तयार पारेर उद्धार उडान शुरु गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले तयार पारेको तालिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहबाट आज एअर अरेबियाले यात्रु लिएर काठमाडौं आउँदैछ। १० भदौमा युएईकै अबुधाबीबाट इत्तिहाद र दुबईबाट फ्लाई दुबईले यात्रु ल्याउने छन्।
नेपाली वायुसेवा हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगम (नेवानि) ले ११ भदौदेखि मात्रै उद्धार उडानको अनुमति पाएका छन्। हिमालय एअरलाइन्स र नेवानिले ११ भदौमा साउदी अरेबियाको रियाद र दमामबाट यात्रु ल्याउने छन्।
सोही दिन टर्कीको स्थानाबुलबाट टर्किस एअरले पनि यात्रु लिएर काठमाडौं आउने मन्त्रालयको उडान तालिकामा उल्लेख छ। टर्किस एअरले युरोप र अमेरिकादेखिका यात्रु ल्याउने छ।
सरकारले दैनिक ५०० जनासम्म यात्रु ल्याउन वायुसेवालाई अनुमति दिँदा नेपाली वायुसेवालाई पूर्ण क्षमता प्रयोग गर्न दिएको छ। सरकारले तोकेको यात्रु संख्याको सीमा ननाघ्ने गरी बनाएको उडान तालिका अनुसार टर्किस र कतार एअरले भने १०० जना मात्रै ल्याउन पाउने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताउँछन्।
उनी भन्छन्, “संसारभरि नै विभिन्न देशले आफ्नो सहजता अनुसार उडान अनुमति दिने गरेका छन्। हामीले पनि सोही अनुसार उडान तालिका बनाएर सम्बन्धित वायुसेवालाई जानकारी दिएका हौं।” लामिछानेका अनुसार १०० यात्रु लिएर पनि कतार र टर्किस एअरले उडान गर्न चाहेकाले अनुमति दिइएको हो।
सरकारले दिएको उडान अनुमतिमा १२ भदौमा कतारको दोहाबाट कतार एअरलाइन्स आउनेछ। सो दिन नेवानि र हिमालय एअरलाइन्सले मलेशियाको क्वालालम्पुर उडान गर्ने छन्।
१३ भदौमा भने सिंगापुरको सिल्क एअरले अस्ट्रेलियाबाट यात्रु लिएर आउनेछ। सो दिन दक्षिण कोरियाको कोरियन एअरले पनि नेपालमा उडान गर्ने अनुमति पाएको छ।
१४ भदौमा हिमालय र नेवानिले तथा मलेशियाकै मालिन्दो एअरले क्वालालम्पुरबाट उडान गर्ने छन्। १५ भदौमा नेवानिले दुबईबाट र हिमालयले अबुधाबीबाट यात्रु ल्याउने छन्। १६ भदौमा नेवानिलाई कतारको दोहा र कुवेत तथा हिमालयलाई दोहाबाट यात्रु ल्याउने छन्।
१६ भदौदेखि भने सरकारले नियमित उडान गर्न दिने निर्णय गरेको छ। नियमित उडानमा पनि ५०० जना मात्रै यात्रु हरेक दिन नेपाल ल्याउन पाउने भएकोले त्यसको तालिका बनाइरहेको लामिछाने बताउँछन्।
यसरी हुने उडानमा पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्रै ल्याउन पाउने छन्। एउटै उडानमा पीसीआर परीक्षण गरेको र नगरेका यात्रु मिसाएर ल्याउन पाइने छैन। यदि पीसीआर नगरेका यात्रु ल्याए वायुसेवाले नै सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा राख्नुपर्नेछ।
पीसीआर परीक्षणका लागि सहज नभएका कतार, कुवेत, साउदी अरबसहितका मुलुकबाट परीक्षण विना नै यात्रु आउन पाउने छन्। तर, उनीहरुले होटल बुकिङ गरेर सात दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्नेछ ।
सम्बन्धित वायुसेवाले पीसीआर भएका र नभएकालार्ई नै छुट्याएर ल्याउने भएकाले अब होटलमा बस्ने यात्रु पीसीआर परीक्षण नभएका मात्रै हुने छन्। परीक्षण भएका यात्रु भने १४ दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा विमानस्थलबाटै सीधै घर जान पाउने व्यवस्था सरकारले मिलाएको छ।
उद्धार उडान गर्दा सम्बन्धित वायुसेवाले विदेशस्थित नेपाली नियोगसँग समन्वय गर्ने र यात्रु टिकटको व्यवस्था आफैँ मिलाउने शर्त पनि सरकारले तोकेको छ। उद्धार उडानमा युरोप, अमेरिका तथा अफ्रिकाबाट नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीलाई ल्याउन र लैजान पनि अनुमति दिइएको छ।
काठमाडौंमा क्वारेन्टिनको अभाव भएर यात्रुको व्यवस्थापन गर्नुपर्ने समस्या आए जुनसुकै वेला पनि उडान स्थगित गर्न सक्ने उडान तालिकामा उल्लेख छ।