पीसीआर सहज भएका देशबाट नियमित र असहज भएका देशबाट चार्टर्ड उडान गर्न पाइने
सरकारले १६ भदौदेखि लागू हुने गरी सहजै पीसीआर परीक्षण गर्न पाइने देशबाट नियमित हवाई उडान र पीसीआर गर्न सहज नभएका मुलुकबाट चार्टर्ड उडान गर्न दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता युवराज खतिवडाले आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नियमित हवाई उडानको तालिका बनाउन क्याबिनेटले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको बताए।
प्रवक्ता खतिवडाले पीसीआर परीक्षणको सहज व्यवस्था भएका मुलुकहरू मलेशिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति दिने निर्णय सरकारले गरेको बताए।
मन्त्रिपरिषद्को निर्णय अनुसार पीसीआर गर्न असहज भएका मुलुकहरू कतार, साउदी अरबलगायतका मुलुकबाट आउने नेपाली भने चार्टर्ड उडानबाट मात्रै आउन पाउने छन्।
त्यसरी आउँदा पीसीआर गरेका र नगरेका व्यक्तिहरू एउटै विमानबाट आउन पाउने छैनन्। साथै नियमित उडानको हकमा ७२ घण्टाअगाडि पीसीआर गरेको र रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ।
नेपाल आइसकेपछि सात दिनसम्म काठमाडौंमा होटल क्वारेन्टिनमा बस्नुेपर्नेछ भने त्यसपछि १४ दिन घरमै सेल्फ क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धता जनाउनुपर्नेछ। खतिवडाका अनुसार त्यसको अनुगमन स्थानीय निकायले गर्नेछ।