१७ भदौदेखि हुने नियमित उडानको तालिका सार्वजनिक, नेपाली र विदेशी वायुसेवालाई दैनिक एक-एक उडान
सरकारले १७ भदौबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउन स्वदेशी तथा विदेशी वायुसेवाका लागि तालिका सार्वजनिक गरेको छ।
पीसीआर परीक्षण सहज भएका मुलुकबाट मात्रै दैनिक ५०० जनासम्म यात्रु उडान गर्ने गरी उडानको तालिका तय गरेर कार्यान्वयनको लागि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको यस्तो तालिका अनुसार १८ भदौ र १ असोजमा दैनिक तीन वटा उडान हुने छन्।
उक्तः दुई दिन दुई विदेशी र एक नेपाली वायुसेवाको गरी तीन वटा उडान हुने छन् भने बाँकी सबै दिन स्वदेशी र विदेशी वायुसेवाका एक एकवटा उडान गर्ने गरी तालिका तय भएको छ।
इस्तानबुलबाट टर्किस र हङकङको क्याथे ड्रयागनको उडान एकैदिन परेकोले यसको उडान भएका ती दुबै दिन तीनवटा र अन्य सबै दिन एउटा विदेशी र एउटा स्वदेशी वायुसेवाको एक उडान गर्ने गरी मन्त्रालयले तालिका बनाएको छ।
नेपाली वायुसेवालाई भने १७ भदौबाट नियमिन उडान गर्ने गरी स्वीकृति दिइएको छ। यस्तो उडान तालिका अनुसार १७ भदौमा नेपाल वायुसेवा निगम (नेवानि)ले जापानको नारिताबाट पहिलो नियमित उडान शुरु गर्नेछ।
त्यसपछिका तीनवटा उडान हिमालय एयरलाइन्सले गरेपछि लगातार ४ वटा उडान नेवानिले गर्ने गरी उडान तालिका तय भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले तयार पारेको तालिका अनुसार विदेशी वायुसेवालाई भने नेपालमा उडान गर्ने सबैजसो वायुसेवालाई पालैपालो उडान अनुमति दिइएको छ। पर्यटन मन्त्रालयले एक महीना अर्थात १४ असोजसम्मको लागि तालिका तय गरेको हो। यस्तो उडानमा विदेशी वायुसेवा एक महीनामा एउटाले अधिकतम चारवटासम्मको उडान अनुमति पाएका छन्।
नेपालमा यसअघि धेरै उडान तालिका भएका वायुसेवालाई सातामा एउटासम्मको उडान अनुमित दिइएको पर्यटन मन्त्रलयले तयार गरेको उक्त नियमित उडानको तालिकामा उल्लेख छ।