दुबईमा छाडेका यात्रु लिन जाँदै नेवानिको विमान
उद्धारका लागि गएर २ भदौमा २६० जना यात्रुलाई दुबईमा छोडेर रित्तै फर्किएको नेपाल वायुसेवा निगम (नेवानि) को विमान ७ भदौ (आइतबार) मा पुन: जाने भएको छ।
निगमलार्ई सरकारले आइतबार काठमाडौंबाट बिहान साढे ७ बजे जाने र साढे १२ बजे काठमाडौं फर्कने गरी उद्धार उडानको अनुमति दिएको हो।
सरकारले २ भदौदेखि उद्धार उडानमा रोक लगाएपछि दुबई पुगिसके निगमको जहाज बिहान सवा ९ बजे रित्तै फर्किएको थियो। तर, सोही दिन साँझ ४ बजे टर्कीको टर्किस एयरलाइन्सलाई भने २०२ जना यात्रु बोकेर काठमाडौंमा अवतरण गरेको थियो।
विदेशी वायुसेवाले भरिभराउ यात्रु बोकेर आउँदा सरकारी वायुसेवा रित्तै फर्किएपछि सरकारको व्यापक आलोचना भएको छ।
निगमको जहाज रित्तो ल्याउन निर्देशन दिने सरकारले फेरि ४ भदौमा (बिहीबार) एक निजी वायुसेवा हिमालय एयरलाइन्सलाई यात्रु उडान र अवतरण गर्न दिएको थियो। हिमालयले बांगलादेशको लागि १२३ जना यात्रु बोकेर बिहान ९ बजे ढाका गयो भने उताबाट विदेशी र निजी वायुसेवालाई अनुमति दिएर सरकारी वायुसेवालाई भने रोकेको भन्दै सरकारको चर्को आलोचना भएपछि पुनः निगमलाई दुबई गएर यात्रु ल्याउन अनुमति दिएको छ।
सरकारले अनुमनि दिएपछि नेवानिले ५ भदौ (शुक्रबार)मा एक विज्ञप्ति जारी गरेरै उद्धार उडानबाट यात्रु ल्याउने जानकारी दिएको छ। निगमले उडान तय भएको जानकारी दिँदै यात्रुलाई कोभिड १९ को नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि अनुरोध गरेको छ।
यसअघि कोभिड संक्रमण दर बढ्दै गएको र हवाई यात्रुलाई क्वारेन्टिमा राख्ने होटलको व्यवस्था नभएको भन्दै सरकारले नै सबै उडान रोकेको थियो।
४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः उद्धार उडान गर्ने निर्णय गरेको भएपनि कुन देशबाट कति उडान गर्ने, कुन वायुसेवालाई कति उडान गर्न दिने र कहिलेबाट उद्धार उडान सुरु गर्ने भन्ने तालिका तय गरेको छैन्।
सरकारले ५ भदौमा विदेशबाट आउने हवाई यात्रुलाई एक साता क्वारेन्टिनमा बस्ने पर्ने भन्दै होटलमा बस्ने यात्रुका लागि होटलको विवरण पनि सार्वजनिक गरेको छ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारीमार्फतथ स्वीकृत गराएर क्वारेन्टिनको प्रयोगका लागि आवश्यक होटलहरूको विवरण सार्वजनिक गरेको छ। यस्तो होटलमा पर्यटकदेखि पाँचतारे सम्मका छन्। होटलमा बस्न प्रतिव्यक्ति रु.१८ सय देखि रु.९ हजारसम्म खर्च तोकिएको छ
क्वारेन्टिनमा बस्नेलाई होटल उपलब्ध गराउन तयार
नेपाल सरकारबाट स्वीकृत कोभिड १९ संक्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस अनुरुपको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी विदेशबाट उद्धार गरी हवाई उडानबाट स्वदेश फर्काइने नागरिकहरूलाई होटल उपलब्ध गराउन होटल व्यवसायी तयार भएका छन्।
होटल संघ नेपाल ((हान)ले ५ भदौमा एक प्रेस विज्ञप्ति जारी गरेर क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने जानकारी दिएको हो।
स्वीकृत सरकारी प्रक्रिया अनुसार पाहुनाहरू न्यूनतम ७ रात होटलमा अनिवार्य बस्नुपर्ने र पीसीआर परीक्षणबाट संक्रमण नभएको प्रमाणित भएपछिमात्र चेकआउट गर्न पाउने लगायत नियमहरू पालना गर्नुपर्ने छ। साथै अनिवार्य रुपमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बिहान बेलुकाको सबै खानापिना होटलबाटै उपलब्ध गर्नुपर्ने जस्ता व्यवस्था गरिएको पनि हानले जानकारी दिएको छ।
सरकारको स्वास्थ्य मापदण्ड अनुरुपका उपकरण र सामग्रीहरू सदस्य होटलहरूले व्यवस्थापन गरी कामदार कर्मचारीलाई कोभिड १९ संक्रमण रोकथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अभिमुखीकिरण तालिम समेत लिइसकेको हानको भनाइ छ।
क्वारेन्टिनका लागि सेवा उपलब्ध गराउने होटल संघ नेपालका सदस्य होटलहरू पर्यटकस्तरीयदेखि पाँच तारेसम्म रहेका छन्।
मूल्य अभिवृद्धिकर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरुले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको छ।
राष्ट्रिय संकटको वर्तमान अवस्थामा सरकारको आह्वानमा सदस्य होटलहरुले उपलब्ध गराउने सेवाहरू नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यबाट अभिप्रेरित भएको हुँदा प्रतिव्यक्ति न्यूनतम १८ सय र त्यस माथिको होटलको स्तरअनुसारको शुल्क स्वीकृत भएको हानको भनाइ छ।