दुबई पुगेको राष्ट्रिय ध्वजावाहकलाई रित्तै फर्काएको सरकारले फेरि निजी वायुसेवालाई यात्रु ल्याउन दियो
सरकारले २ भदौ देखि सबै उद्धार तथा अन्तर्राष्ट्रिय हवाई उडान रोक लगाएको भएपनि नेपाली आकासमा हवार्ई उडान भने नियमित उडिरहेका छन्। कार्गो वा आकस्मिक उडानका नाममा दैनिक १५ वटासम्म उडान भइरहेको भएपनि विदेशमा अलपत्र नेपाली नागरिक भने नेपालमा नियमित हवाई उडान खुल्ने दिन पर्खेरै बस्न बाध्य छन्।
सरकारले उडानमा रोक लगाएको भए पनि ४ भदौ (बिहीबार) त्रिभुवन विमानस्थलमा एक निजी वायुसेवा हिमालय एयरलाइन्सले यात्रु उडान र अवतरण गरेको छ। हिमालयले बांग्लादेशको १२३ जना यात्रु बोकेर बिहान ९ बजे ढाका गएको छ भने उताबाट फर्कदा दिउँसो सवा १ बजे २४ जना यात्रु लिएर आएको छ।
त्रिभुवन विमानस्थलबाट बिहीबार ६ वटा उडान अवतरण भएको भएपनि हिमालयले मात्रै यात्रु उडान गरेको उल्लेख छ। विमानस्थल कार्यालयका अनुसार, नेपाल एयरलाइन्सले कुनमिङबाट कार्गो ल्याएको छ। निगमकै एक जहाज सुडान गएको छ। कम्बोडियाको लनमेइ एयरलाइन्स, श्रीलंकन एयरलाइन्स र कतार एयरले कार्गो उडान गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
नेपालबाट दुबई पुगिसकेको वायुसेवा निगम रित्तै आउन निर्देशन दिएको सरकारले विदेशी र निजी वायुसेवालाई भने उडान अनुमति दिएको छ । १ भदौ देखि १५ भदौसम्म दैनिक ५०० जना उद्धार उडानबाट ल्याउने निर्णय गरेको भएपनि कोभिड—१९को संक्रमण बढेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र क्वारेन्टिनको लागि होटल व्वस्थापन नभएको बाहानामा सरकारले भदौबाटै सबै हवाई उडान रोकेको थियो।
कोभिड—१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले २ भदौदेखि सबै उडानमा रोक लगाएका कारण काठमाडौबाट दुबई पुगेको नेपाल एयरलाइन्सले विमानस्थल आइसकेका २६० यात्रुलाई उतै छोडेर रित्तै नेपाल फर्किएको थियो । सोही दिन साँझ ४ बजे टर्कीको टर्किस एयरलाइन्सलाई भने २०२ जना यात्रु ल्याउन दियो।
निगमलाई यात्रु ल्याउन नदिएर विदेशी वायुसेवालाई अनुमति दिएको भन्दै सरकारको आलोचना भइरहेका वेला फेरि निजी वायुसेवालाई यात्रु उडान र अवतरणमा अनुमति पाएको छ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी सरकारले दिएको उडान अनुमतिका आधारमा विमानस्थलले अनुमति दिएको बताउँछन्। सरकारले गर भनेको काम गर्ने र नगर भनेको काम नगर्ने भएकोले सोही अनुसारको आदेश मात्रै पालना गरेको बताउँछन्।
निगमलाई दुबईबाट रित्तै फर्काएर विदेशी र निजी वायुसेवालाई मात्रै किन उडान अनुमति भन्ने जिज्ञासामा केसीले भने, ‘‘यो प्रश्न सरकारलाई नै सोध्नुपर्छ। निगमलाई नदिने र अरुलाई दिने भन्ने हाम्रो कुनै मनसाय होइन्।’’
केसी भन्छन्, ‘‘विमानस्थल कार्यालयल नेपला नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको निकाय भएकोले हामीले त केन्द्रीय कार्यालयको आदेश मात्रै पालना गरेको हौं।’’