कोरोना संक्रमितको संख्या बढेसँगै क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि उद्धार उडान स्थगित
कोभिड-१९ को संक्रमण दर बढेपछि सरकारले तत्कालका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट हुने नेपाली नागरिकको उद्धार उडान स्थगित गरिएको छ।
संक्रमण दर बढेकोले उद्धार उडानबाट आएका नेपालीलाई क्वारेन्टिनमा राख्ने व्यवस्था सहज बनाउन केही दिनका लागि सबै वायुसेवाको चार्टर्ड उडान स्थगित गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सयोजक तथा सचिव महेन्द्रप्रसाद गुरागाईले बताए।
उनले भने “उद्धार गरेर आएका नेपालीलाई होटलको व्यवस्थापनदेखि सुरक्षित रुपमा ल्याउनेसम्मको काम गर्नुपर्ने भएकोले हाललाई उडान स्थगित गरिएको हो।”
पर्यटन मन्त्रालयले अवाश्यक व्यवस्था मिलाइरहेकोले सबै तयारी गरेर एकदुई दिनमै पुनः उडान खुलाउने निर्णय पनि हुन सक्ने गुरागाईले हिमालखबरलाई बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने काठमाडौंमा संक्रमण दर उच्च हुँदै गएको र स्थानीय तहबाट हरेक टोल र वडा सिल हुन थालेकोले केही समयको लागि सबै चार्टर्ड उडान स्थगित गरिएको बताउँछन्।
लामिछानेका अनुसार उद्धार उडानबाट ल्याएकालाई क्वारेन्टिनमा बस्ने होटलको व्यवस्था मिलाउन र आएकालाई सम्बन्धित स्थानमा पुर्याउन आवश्यक तयारी गर्नुपर्ने भएकोले उडान स्थगित गरिएको हो।
नेपाल वायुसेवा निगमले १ भदौदेखि शुरु भएको यस्तो उडान सीसीएमसीबाट अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित गर्न निर्देशन दिएको उल्लेख गरेको छ। निगमले १ भदौको लागि काठमाडौं –दुबई उडान भने गरेको र २ भदौदेखि हुने उडानलाई भने स्थगित गरेको जानकारी दिएको छ।
सरकारले निगमलाई १ भदौदेखि १५ भदौसम्मको लागि १७ वटा उद्धार उडानको अनुमति दिएको छ। यो बाहेक हिमालय एयरलाइन्ससहित अन्य विदेशी वायुसेवाले गर्ने उद्धार उडान पनि स्थगित भएको छ।
सरकारले ३२ असारदेखि शुरु गरेको विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका नेपालीको उद्धार शुरु गरेको हो। ३१ साउनसम्ममा यस्तो उद्धार उडानबाट ५१ हजार ४४१ जनाको उद्धार उडान भएको पनि सीसीएमसीले जारी गरेको तथ्यांकमा उल्लेख छ।
सरकारले १ भदौदेखि दैनिक ५ सय जना मात्रै ल्याउन पाउने गरी सम्बन्धित वायुुसेवालाई उद्धार उडानको अनुमति दिएको थियो।