उद्धार उडानमा विदेशी वायुसेवालाई प्राथमिकता, राष्ट्रिय ध्वजावाहकलाई बेवास्ता
सरकारले उद्धार उडानमा राष्ट्रिय ध्वजावाहकलाई रोकेर विदेशी वायुसेवालाई अनुमति दिएको छ। सरकारले विदेशी वायुसेवालाई प्राथमिकता दिने र सरकारीलाई पटकपटक बेवास्ता गरेपछि सरकारको चर्को आलोचना भएको छ।
सरकारले १ भदौदेखि पाँचौ चरणको उद्धार उडान खुला गरेको भए पनि होटल व्यवस्थापन गर्न नसकेको र कोभिड संक्रमण बढ्दै गएको भन्दै २ भदौबाट नै सबै उडान रोक्ने निर्णय गर्यो।
सरकारको यो निर्णयपछि नेपाल वायुसेवा निगम (नेवानि)को एक वाइडबडी जहाज १ भदौ बेलुका काठमाडौंबाट २३१ जना यात्रु लिएर संयुक्त अरब इमिरेट्स (युएई)को दुबई गयो।
सरकारको निर्णय अनुसार सो जहाज फर्कँदा २ भदौ बिहान ९ बजे नेवानिको जहाज रित्तै अवतरण गर्यो । तर, सोही दिन अपरान्ह ४ बजे काठमाडौं अवतरण गरेको टर्कीको टर्किस एअरले भने २०२ जना ल्याएको छ। यसैले देखाउँछ कि सरकारले स्वदेशी वायुसेवालाई रोकेर विदेशी वायुसेवालाई मात्रै प्राथमिकता दिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्री सरकारले उडान अनुमित दिएको अवस्थामा खुला गर्ने र बन्द गरेको अवस्थामा सोही अनुसारको निर्णय कार्यान्वयन गराइएको बताउँछन। उनी भन्छन्, "टर्कीसले अन्तर्राष्ट्रिय ट्रान्जिटबाट यात्रु ल्याइसकेको अवतरण गर्न दिएको हो। तर, निगमलाई चाहिँ रित्तै फर्काउने विषयमा भने कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)कै निर्णयबाट भएको हो।"
सीसीएससीले उद्धार उडान खुला गरेकै भोलिपल्टदेखि पूर्व सूचना विना नै फेरि उडानमा रोक लगाएको छ। समयमा नै जानकारी नहुँदा नेवानिको ४ भदौसम्मको लागि जारी भइसकेको टिकट रद्द भएका छन्। निगमले दुबईबाट रित्तै फर्कदा त्यहा २६० जना यात्रु अलपत्र परेका छन्।
निगमकी प्रवक्ता अर्चना खड्का भन्छिन्, "यताबाट जान पाइएको भएपनि आउँदा यात्रु ल्याउन नपाइने सरकारको निर्यणका कारण रित्तै आउनुपरेको हो।"
उडान तय भइससकेको दुबई विमानस्थलमा एकसय जना यात्रु विमानस्थल आइपुगिसकेका थिए। सरकारले नल्याउनु भनेका कारण बाध्य भएर विमानस्थल आइसकेका नेपाली यात्रुलाई छोडेर आउनुपरेको निगमले बताएको छ।
उनी भन्छिन्, ‘‘अब रद्ध भएका उडानका यात्रुलाई उडान खुलेपछि प्राथमिकता दिएर उडान गराउन सकिन्छ। यात्रुको चाहना अनुसार टिकटको पैसा पूरै फिर्ता पनि लिन सक्छन् ।’’ निगमले यात्रुलाई उडान समय सार्नका लागि सहजीकरण गरिरहेको छ।
निगमले यसअघि पनि १८ चैत २०७५ मा त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका लागि वायुसेवाको उडान बन्द अर्थात नोटिस टु एयरम्यान (नोटाम) जारी गरेको कारण उडान गर्न पाएको थिएन्। निगमले त्यतिबेला ४ मिनेट ढिलो हुँदा उडान अनुमति नपाएको तर भोलिपल्ट १७ मिनेट ढिलो गरी उडान गरेको फ्लाइ दुबईलाई उडान अनुमति दिएको थियो।
कोभिड–१९ को संक्रमण दर बढेपछि सरकारले तत्कालका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट हुने नेपाली नागरिकको उद्धार उडान स्थगित गरेका कारण अहिले विदेशबाट उद्धार भएर नेपाल फर्कनुपर्ने नेपाली यात्रु अलपत्र अवस्थामै छन्।
सरकराले ५१ हजार नेपालीको मात्रै उद्धार उडान गरेको भए पनि रोजगारी गुमाएका र समस्यामा परेको नेपाली फर्कने क्रम भने जारी नै छ।