सय वर्षको उल्लास !
६१ वर्ष अघि, संवत् २०१६ मा आफ्नो मरणबारे जस्तो कामना गरेका थिए, राष्ट्रकवि माधवप्रसाद घिमिरेले गत मंगलबार, २ भाद्र २ गते त्यस्तै मृत्युवरण गरे।
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
(‘किन्नर किन्नरी’ बाट)
मरण कविवरले सोचे जस्तै शान्त थियो, तर उनले रोजेको समयचाहिं त्रासदपूर्ण। बुधबार उनको अन्त्येष्टि फोटोपत्रकार मित्र चन्द्रशेखर कार्कीका साथ वागमतीपारिको ढुङ्गेसिंढीबाट नियाल्दै गर्दा घाट वरपर साहित्यकर्मी न्यून तर फोटोपत्रकार र यूट्युवरहरू अत्यधिक देखिन्थे।
के सामान्य अवस्थामा उनको देहावसान भएको भए त्यस क्षेत्रले मानवसागरलाई थेग्न सक्थ्यो र ? शवयात्रामा नरनारी उर्लिएका हुन्थे। राष्ट्रकवि घिमिरेको मरण महाव्याधिको महात्रासद बीच हुँदा उनका लाखौं प्रशंसक उनको अन्तिम विदाइमा सामेल हुन सकेनन्। नेपाली काव्याकाशको उज्ज्वल नक्षत्र अस्ताउनुपूर्व हामीले साहित्य क्षेत्रका एकसेएक हस्ती गुमायौं यसै वर्ष।
कोभिडका पछाडि अङ्क १९ जोडिएर यसको उत्पत्ति वर्ष सन् २०१९ जनाइए पनि यस महाव्याधिले मृत्युको ताण्डव मच्चाइरहेको ग्रेगोरियन वर्ष २०२० नेपाली साहित्यका निम्ति अत्यन्त त्रासदपूर्ण देखिएको छ, भलै हामीले गुमाएका स्रष्टाका देहावसानका कारकचाहिं कोभिड संक्रमण होइन।
अंग्रेजी (यथार्थमा ल्याटिन भाषामा) मा ‘एन्नस हरिविलिस’ अर्थात् त्रासदको वर्ष २०२० ले राष्ट्रकवि घिमिरे अघि नै प्राध्यापक दुर्गाप्रसाद (डीपी) भण्डारी, पिटर जे कार्थक, रत्नशमशेर थापालाई हामी माझबाट खोसिसकेको थियो। र, यस पंक्तिकारको दुर्भाग्यचाहिं ती स्रष्टाहरूसँगको सान्निध्यमा रोमाञ्चित हुनुपर्नेमा यिनै मनीषीहरूको ‘ओविच्यूरी’ (स्मृतिशेष) लेख्न अभिशप्त रहनुपर्यो।
याे पनि पढ्नुहाेस्– मृत्यु नचिनी जीवन चिनिन्छ र?
शतायु पार गरेर महाप्रस्थान गरेका राष्ट्रकवि घिमिरेले आफ्नो सुदीर्घ जीवनकालमा उन्नयनको सोपान गरिरहे। अविश्रान्त सिर्जनशील रहिरहे। जीवनकालमा राज्य र आमजनबाट प्राप्त मान–सम्मानका कारण पनि उनीबाट गुनासो कहिल्यै सुनिएन।
सदा सकारात्मक उनीसँग भेट्दा लाग्थ्यो उनी एक स्थितप्रज्ञ हुन्। अक्सर कविहरूमा देखिने अव्यावहारिकता, ल्याङ्फ्याङ् र अतिशय भावुकता उनमा कहिल्यै देखिएन। त्यसैले उनका कविता जति नै उनीसँगको सान्निध्य मुग्धकारी हुन्थ्यो।
साहित्यिक, सांस्कृतिक र प्राज्ञिक कार्यक्रममा कविवर घिमिरे विशेष वा प्रमुख अतिथिका रूपमा निम्त्याइन्थे। र, उनी पनि स्वास्थ्यले साथ दिएसम्म ती कार्यक्रममा उपस्थिति जनाउँथे। त्यसबाहेक उनको निवास सबैका निम्ति पहुँचमा थियो। कपुरधारास्थित घिमिरे निवास साहित्यानुरागीका निम्ति सदा एक पवित्र धाम बराबर रह्यो। उनीसँगको सहज पहुँचका कारण पनि उनको सान्निध्यमा पुग्ने हर कोही आफूलाई ‘विशेष’ सम्झिन्थ्यो।
अहिले सामाजिक सञ्जालमा उनीसँगको फोटो, सेल्फी अपलोड गर्ने होडबाजी नै चलेको छ। हुन पनि उनी आफूसम्म पुग्ने मानिसको नाम, पेशा वा कर्म सम्झिरहेका हुन्थे। आगन्तुकका कुरा सुनेर उनी गद्गद् हुन्थे। आफूलाई सोधिएका कुरा सम्यक् पारामा बताउँथे। तर, विवाददेखि भने टाढै रहन्थे।
कविवर घिमिरे हामीले जाने सुनेका सबै स्रष्टाभन्दा सुदीर्घ बाँचे। महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम नदेखेका पुस्ताले आफ्नो सामु विराट काव्यशिल्पी पाएका कारण पनि नियास्रो मान्नु परेन।
साहित्यका गहन पाठक मात्र नभएर भर्खर बक फुटेर ‘कखरा’ सिक्दै गरेका शिशु समेत ‘मै मिरिमिच्चे म्याँ म्याँ’, ‘कुरा गर्छन् कसरी, भँगेरा र भँगरी’ रट्दै नजानिंदो पाराले उनका ‘फ्यान’ भइसकेका हुन्थे। संसारमै यस्ता सर्जक विरलै पाइएला जसका सिर्जना पूर्वप्राथमिकदेखि विद्यावारिधिसम्म पढिइएको होस्।
स्पन्दनसँगै स्पर्श
स्वदेशी माटो तथा नेपालीजनको शान र मानमा राष्ट्रकवि घिमिरेले सिर्जेका रचना हाम्रा साझा स्पन्दन हुन्। उनले आफ्ना कालजयी सिर्जना हाम्रा निम्ति छाडेर गएका छन्। तर, बालकको झैं स्मित हाँसो र कम्पनयुक्त बोलीको रिक्तता उनका सान्निध्यमा पुग्नेहरूले लामो समयसम्म गर्नेछन्।
कुरामा सहमति जनाउँदा अनि आत्मीयता बोध गर्दा थर्थराइरहेका हत्केलाले च्याप्प समाउने उनको स्वभाव उनको कविता जस्तै स्पन्दित हुन्थ्यो उनका सान्निध्यमा पुग्नेका निम्ति। वृद्धवयका काव्यिक धरोहरले हात समाउँदाको क्षण त्यति नै आनन्ददायी हुन्थ्यो, जति नवजात शिशुले औंला समाउँदा मातापितालाई हुने गर्दथ्यो।
कविवरसँगका सान्निध्यका क्षण ज्वालामुखीबाट लाभा निस्के जसरी सम्झनाका बहीखाताबाट छल्किरहेछन्, अहिले। र, म कृतज्ञ बनिरहेछु दिवंगत स्रष्टाप्रति उनले वृद्धावस्थाको पर्वाह नगरी मेरा एक एक लहडी आग्रह पूरा गरिदिएकोमा।
शिवपुरीको डाँडासम्म फोटो सेसन होस् वा गोकर्ण डाँछीको एकान्तिक फाँटमा वृत्तचित्र छायाङ्कनको आग्रह, उनले कहिल्यै नाइँको मुन्टो हल्लाएनन्। वैशाखको हुरीवतासमा कविवर निथ्रुक्क भिज्नु परेपछि म आफ्नो लहडका निम्ति पश्चात्तापले पानी–पानी भएँ, तर उनले ‘जीवन भनेकै घामपानी, आँधी र बेहरी’ भन्दै तुरुन्तै आद्र्रता प्रदान गरे।
सम्पूर्ण जीवन
कविहरू यसै पनि जीवनलाई दुई दिनको रामछायाँ भन्ने गर्छन्। छोटो जीवनका धेरै आकांक्षा अधुरै रहन्छन्। सर्जककै हकमा पनि, थोरै मात्र सर्जक जीवनपर्यन्त सिर्जनशील हुन्छन्। उमेरको कुनै खण्डमा सिर्जनशीलता चरमोत्कर्षमा पुग्दछ, र त्यो सगरमाथा आरोहण गरेर फर्किएको पर्वतारोही जस्तै आधारशिविरतिर लाग्दछ। तर, कविवर घिमिरेले यो नियति भोग्नु परेन।
शताब्दी वर्षको पडाव पुग्दै गर्दा रोगका कारण कतै आधा शताब्दी अघि नै संकल्प गरेको महाकाव्यको उनको सपना अधुरै रहने त होइन भन्ने संशय व्याप्त थियो। भाग्यवश उनले रोगलाई सहजै जिते र महाकाव्यका बाँकी सर्ग समापन गर्नेतिर लागे ।
बिरामी पर्नुअघि कथाकार मित्र महेशविक्रम शाहसँग उनको निवास पुगेको बखत मैले ‘ऋतम्भरा’ महाकाव्य बारे सोधेको थिएँ। कथा र निबन्ध लेख्ने मानिस अघि देख्दा उनले अत्यन्त रोचक पाराले बताएका थिए, “कथा निबन्ध जस्तो भाव आउनासाथ (महाकाव्य) लेखिहाल्न सकिंदैन। काव्यमा पहिले भाव फुर्नु प¥यो, अनि त्यसलाई छन्दमा ढाल्नु प¥यो। मेरा निम्ति छन्द मिल्ने शब्दहरूको खोजी महत्वपूर्ण हुन्छ। किनकि, लोकभाकाका ठेट शब्दहरू प्रयोग गर्न रुचाउँछु।”
उनको महाप्रस्थानसँगै परिवारजनबाट एउटा सुखद खबर पनि बाहिरिएको छ, उनले ‘ऋतम्भरा’ का बाँकी दुई सर्ग पनि सकिसकेका रहेछन्। परिष्कारवादी सर्जक घिमिरेले महाकाव्य भलै परिष्कृत गर्न भ्याएनन्, तर आँटेको काम फत्ते गरेर मात्र अनन्तको यात्रामा निस्के। शताब्दी भन्दा लामो जीवन उल्लासपूर्वक बाँचेका उनले नेपाली साहित्यको श्रीवृद्धि गरेर हामीलाई तिरिनसक्नु गुन लगाए।
नेपाली काव्यका शिखर पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जलि !