झम्सिखेल भेलाको निष्कर्षः प्रधानमन्त्रीले पार्टी निर्णय मान्नुपर्छ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक कलह चर्किएका बेला बुधबार दुवै पक्षले भेला राखेका छन्। बिहान प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरु सहित स्थायी कमिटीका नेताहरुलाई बोलाएर आफ्नो कुरा राखेका थिए।
प्रधानमन्त्री ओली इतर समूहको भेला साँझ झम्सिखेलमा भएकाे छ। भेलामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामेदव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा लगायत सहभागी थिए। गृहमन्त्री रहेका थापा पहिलो पटक यो भेलामा सामेल भएका हुन्।
याे पनि पढ्नुहाेस्ः दाहाल–नेपाल पक्षको भेलामा गृहमन्त्री थापा पनि
भेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बाहेक ओली इतर समूहका सबै मन्त्रीहरु समेत सहभागी थिए। स्रोतका अनुसार, भेलामा शीर्ष नेताहरु सहित ३१ स्थायी कमिटी सदस्य उपस्थित भए। बिहीबार बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकको रणनीतिक तयारी गर्न भेला राखिएकाे थियाे।
पार्टी निर्णय मान्ने वा हट्ने
भेलाले पार्टी प्रणाली र निर्णय मान्छु भन्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले जनाउनुपर्ने निष्कर्ष निकालेको छ। झम्सिखेल भेलाको समापन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले पार्टी निर्णय मान्नुपर्ने निष्कर्ष सुनाएका थिए। “पार्टी कमिटीले गर्ने निर्णय हामीले पनि मान्नुपर्छ र प्रधानमन्त्रीले पनि मान्नु पर्छ। यो भेलाको यही निष्कर्ष हो”, दाहाललाई उदृत गर्दै बैठक स्रोतले भन्यो।
बिहान बालुवाटार भेलामा पुगेका मन्त्रीहरु तथा स्थायी कमिटीका नेताहरु पनि झम्सिखेल भेलामा सहभागी भएका थिए। बालुवाटारको भेलामा पार्टी निर्णय मान्नुको प्रधानमन्त्रीसँग अर्को विकल्प नरहेको सुझाव दिएको स्थायी कमिटी सदस्य एवम् मन्त्री घनश्याम भूसालले झम्सिखेल भेलामा जानकारी दिएका थिए। “प्रधानमन्त्रीलाई बालुवाटारको भेलामा हामीले पार्टी निर्णय नमाने मन्त्रीबाट हट्छौं भनिसकेका छौं”, मन्त्री भूसालकाे भनाइ थियाे।
याे पनि पढ्नुहाेस्ः स्थायी कमिटीमा योगेश भट्टराईको ‘मध्यमार्गी’ प्रस्ताव
यसपछि वनमन्त्री शक्ति बस्नेत सहित मणि थापा, चक्रपाणि खनाल लगायत केही नेताले भूसालकै प्रस्तावमा समर्थन जनाए। भेला अन्त्य गर्दै अध्यक्ष दाहालले अहिले पार्टी निर्णय मान्नुको विकल्प प्रधानमन्त्रीसँग नरहेको बताएकाे एक नेताले बताए।
प्रधानमन्त्री इतर समूहका शीर्ष नेताहरुले मंगलबारको स्थायी कमिटी बैठकमा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नुपर्ने अडान लिएका थिए। १४ असारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि स्थायी कमिटी बैठककाे नियमित कार्यसूची नै प्रभावित बनेको छ।
मंगलबारको बैठकमा प्रधानमन्त्री ओली सहित १८ जनाले बोलेकोमा १७ जनाले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा मागेका थिए। बुधबारकाे बैठकमा पाँच जनाले बोले। तर, कसैले पनि प्रधानमन्त्री ओलीको बचाऊमा बोलेनन्।
याे पनि पढ्नुहाेस्ः घेरिए प्रधानमन्त्री, मागियो राजीनामा
प्रधानमन्त्री ओलीले आफू इतर समूहका मन्त्रीहरु सहित स्थायी कमिटीका नेताहरुसँग सुझाव लिएका थिए भने दिनभर आफू निकट नेताहरुसँग छलफल गरेका छन्। स्थायी कमिटीकाे बैठकमा अहिलेसम्म प्रधानमन्त्री पक्षका काेही नेताले बाेलेका छैनन्। बैठक बिहीबार बिहान ११ बजे बाेलाइएकाे छ।
याे पनि पढ्नुहाेस्ः नेकपा बैठकः ‘रिहर्सल’ देखियो, पर्दा खुल्न बाँकी