दाहाल–नेपाल पक्षको भेलामा गृहमन्त्री थापा पनि
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक संघर्ष चर्कदै गर्दा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूहको झम्सिखेलमा भेला भएको छ। बुधबार साँझ बसेको भेलामा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा समेत सहभागी भएका छन्।
यसअघि यो पक्षको भेलामा थापा सहभागी भएका थिएनन्। बुधबार बिहान प्रधानमन्त्री ओलीले बोलाएको भेलामा पनि थापा केही बोलेका थिएनन् भने १० असारदेखि जारी स्थायी कमिटी बैठकमा पनि थापा बोलेका छैनन्।
उच्च स्रोतका अनुसार, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित अधिकांश स्थायी कमिटी सदस्यहरु सहभागी भएका थिए। भेला भर्खरै सकिएको छ।
बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रीहरु सहित स्थायी कमिटीका नेताहरुलाई बोलाएका थिए। झम्सिखेल भेलाले बिहीबारको स्थायी कमिटी बैठकबारे छलफल गरेको छ। बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल केन्द्रीत भएको ती स्रोतले बतायो।