स्थायी कमिटीमा योगेश भट्टराईको ‘मध्यमार्गी’ प्रस्ताव
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको स्थायी कमिटी बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमै केन्द्रित भएको छ।
मंगलबारको बैठकमा प्रधानमन्त्री ओली इतरका शीर्ष नेताहरुले नै प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा मागेका थिए। बुधबारको बैठकमा पनि प्रधानमन्त्रीलाई बचाउनेगरी कोही नेताले बोलेनन्।
बुधबार बोलेका पाँच जनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मात्रै मध्यमार्गी धारणा राखेका थिए। उनले पार्टी नेतृत्वमा कमजोरी भए पनि त्यसलाई सच्याएर जानुपर्ने सुझाव दिएका थिए।
“समस्या बढाउनेगरी कुनै पनि नेताहरुले अडान लिनु हुन्न। सम्वाद बढाएर पार्टी जोगाउनेतिर लाग्नुपर्छ”, भट्टराईको अभिव्यक्ति अन्य नेताहरुको भन्दा फरक थियो। बुधबारको बैठकमा लिलामणि पोखरेल, मातृका यादव, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले भने प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे जवाफ मागेका थिए।
नेकपा अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्री भट्टराईका सुझाव : हेर्नुहोस् भिडिओ
स्थायी कमिटीका पाँच जनाले बोलेपछि बैठक स्थगित गरिएको छ। सांसद ज्ञानकुमारी छन्त्यालको मृत्यु भएकाले संसदबाट शोक प्रस्ताव पारित गराउन भन्दै बैठक स्थगित गरिएको छ। अर्को बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ।
मंगलबारको बैठकमा १७ र बुधबार पाँच गरी २२ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको अभिव्यक्तिबारे बोलिसक्दा प्रधानमन्त्री निकटका भने कोही पनि नेताले बोलेका छैनन्। मंगलबारको स्थायी कमिटीमा पनि अध्यक्ष र प्रधानमन्त्री पद छोड्नुपर्ने प्रस्ताव विरुद्ध प्रधानमन्त्री ओली मात्रै प्रतिवाद गरेका थिए।
प्रधानमन्त्री ओली इतरका समूह (कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत) भने धेरैजसो नेताहरुले बोलिसके। अब मन्त्री रहेका नेताहरुले बोल्न बाँकी छ। ओली इतर समूहबाट मन्त्री रहेका भट्टराई पहिलो बक्ता हुन्।
प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत सक्रिय भएको अभिव्यक्ति दिएपछि स्थायी कमिटी बैठकको नियमित कार्यसूची प्रभावित बनेको छ।