'अहिले म असाध्यै डराएकी छुु'
अहिलेको अवस्थामा सूचना विनाको तपाईं हाम्रो जिन्दगी के हुन्छ ? मलाई मेरो जिम्मेवारीको बोध छ । जसले घरको एउटा कुनामा थन्किएर बस्न पटक्कै दिंदैन ।
मेरो नाम विमला गुप्ता हो । मैले विगत १२ वर्षदेखि वीरगञ्जमा बसेर पत्रकारिता गर्दै आएकी छु । तर म पहिलो पटक यस्तो त्रासमा काम गर्दैछु । पत्रकारमा पनि कोरोना संक्रमण देखिएपछि अहिले म असाध्यै डराएकी छु । र, मेरा सहकर्मीहरू पनिं त्यतिकै डराएका छन् ।
हुन त यस्तो वेलामा किन काम गर्नुप¥यो भन्नेहरू धेरै हुनुहुन्छ । ‘पत्रकार कामै विना हिंड्छन् अनि कोरोना संक्रमण पनि उनीहरूलाई नै हुन्छ’ भनेर व्यंग्य गर्नेहरू पनि छन् । तर हाम्रो काम नै हिंडेर, मान्छे भेटेर, उहाँहरूको कुरा सुनेर गर्नुपर्ने खालको हुन्छ । सामाजिक सञ्जाल त यतिवेला खोलेर हेर्न पनि मन लाग्दैन । नानाथरी भनेर पत्रकारलाई सबैले धेरै नै उडाइरहेका पोष्टहरू मात्रै देख्छु । तर नानाथरी भन्नेहरूसँग डराएर आफ्नो जिम्मेवारीबाट टाढा बस्न मन लाग्दो रहेनछ ।
मेरो ७ वर्षको छोरा छ । आमा प्रेसरको बिरामी हुनुहुन्छ । बिहानै घरबाट निस्केपछि घर फर्कने समयको कुनै टुंगो हुँदैन । मलाई पनि आमा र आफ्नो बच्चाको ख्याल गरेर परिवारसँगै समय बिताउन रहर नभएको कहाँ हो र ? तर यतिवेला मैले मेरो परिवारको मात्रै हैन आफ्नो जिल्लावासीको ख्याल गर्नु छ । देशभरिका नागरिकलाई सचेत गर्नु छ । मलाई मेरो मनले घर बस्नै दिंदैन । हिजो सबै पासहरू रद्द भएपछि आज स्कूटर हाँक्न मिलेन । म २५ मिनेटको बाटो पैदल हिंडेर रेडियोमा आएकी छु ।
संक्रमित क्षेत्र नजानु, फिल्ड रिपोर्टिङ नगर्नु भनेर शुभचिन्तकहरू भन्नुहुन्छ तर हामीलाई हामी काम गर्ने मिडियाको पनि दबाब हुन्छ । अर्को पत्रकारले यस्तो ‘एक्सक्लुसिभ’, लेख्या छ तिमीले किन लेखेनौ ? भनेर हाम्रो क्षमतामाथि नै प्रश्न गर्ने गरिन्छ ।
रेडियोमा बोल्नुपर्छ । हामी सबै आ–आफ्नै घरबाट आउने जाने गरिरहेका छौं । कसले कसलाई भेटेका हुन्छौं । को कहाँ पुग्छौं केही थाहा हुँदैन । हामीले काम गर्ने कम्प्युटर, बोल्ने माइक्रोफोनमा कति जना बोलेका हुन्छौं । त्यसबाट संक्रमण सर्ने हो कि भन्ने डर लाग्छ । कहाँ कहाँ मात्रै सावधानी अपनाउने !
आफूसँग भएको पातलो हावा नपस्ने ज्याकेट, पटक पटक धोएर लगाउने एउटै मास्क र त्यो पनि नभए सलको मास्क अनि कपडाको पञ्जाले कतिन्जेल चल्न सक्छौं हामी ? जसरी सुरक्षाकर्मी र चिकित्सकलाई सुुरक्षाका उपकरण दिएर काममा पठाइएको छ त्यसैगरी हामी पत्रकारको पनि सुरक्षाका बारेमा कसले सोचेको छ ? यस्तो वेलामा हामीलाई काम नगर्नु भनेर गलत सल्लाह दिनुभन्दा पत्रकारको सुरक्षाका बारेमा सरकारले सोच्नुपर्छ ।
हामीले रेडियोमा बोल्न छोड्यौं, अनलाइनमा समाचार अपडेट गर्न छोड्यौं भने के हुन्छ ? यस्तो अप्ठ्यारो अवस्थामा सूचना विनाको तपाईं हाम्रो जिन्दगी के हुन्छ ? एकछिन सोच्नुस् त । ओहो मन नै अत्तालिन्छ । ”
याे पनि पढ्नुहाेस्–
‘शल्यक्रियाका लागि रगत अभाव हुन थालेको छ’
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या चार लाख नाघसकेकाे छ। संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागि हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ। जो अहिले तेस्रो महिनामा छ।
विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिश हो, कथा कोरोना। २६ चैतदेखि कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा हिमालखबर पनि जोडिएको छ।
मान्छेको भोगाइ आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ती कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@himal_khabar