'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने पिपिई सिलाउन पाउँदा दङ्ग परें'
सबैभन्दा ठूलो कुरा त हामी बाँच्नु र अरुलाई बचाउनु रहेछ । पैसाले पनि त त्यो काम गर्न नसक्ने रहेछ । नत्र अमेरिका, इटाली जस्ता देशमा यस्तो संकट आउने थिएन होला।
मेरो नाम कौशिला चौधरी हो । मेरो घर बारा जिल्लाको निजगढमा पर्छ । अहिले म ललितपुरको सानेपामा बस्छु । मेरो परिवारमा म, मेरो श्रीमान् र एउटा छोरी छ । छोरीलाई बौद्धिक अपांगता भएकाले विशेष ध्यान दिनुपर्छ ।
कोरोनाको हल्ला त केही अगाडि नै थियो । नेपालमा पनि लकडाउन शुरु भइहाल्यो । डाक्टरहरुले लगाउने पिपिई सेटको अभाव छ भनेर समाचार सुनेकी थिएँ । तर सबै कुरा बुझेकी थिइनँ । केही महीना अगाडि मैले सिलाई–कटाई सम्बन्धी ६ महीनाको तालिम लिएकी थिएँ । मैले सिकेको सीप यस्तो महामारीका बेलामा पनि काम लाग्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ ।
एकदिन मलाई तालिम दिने संस्थाको सुशील सरले फोन गर्नुभयो र भन्नुभयो “कौशिलाजी, महावीर पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्रले पिपिई सिलाउने मान्छे खोजिरहेको छ, तपार्इं जान सक्नुहुन्छ ?” पिपिई कसरी सिलाउने भन्ने त थाहा थिएन तर टीभीमा चाहिं देखेको थिएँ । मैले सिकेको सीपले देशलाई संकट परेको बेलामा सहयोग हुन्छ भने किन नगर्ने भनेर मैले हुन्छ भनें । श्रीमान् कामबाट विदामा घर आउनुभएकोले छोरीलाई छोड्न पनि गाह्रो थिएन । लकडाउन शुरु भइसकेकोले सिलाउने ठाउँ टेकुसम्म हिंडेर जान अलि गाह्रो त थियो तर पनि म गएँ ।
पहिलो दिन त मलाई अलि डर पनि लाग्यो । मैले सानो मेशिन चलाएको । त्यति ठूलो विद्युतीय मेशिन देख्दा सिलाउन सकिन्छ र जस्तो पनि लाग्यो । तर सिलाउन थालेपछि सजिलै हुने रहेछ । मेशिन चलाउन सजिलो लाग्न थालेपछि त दिनको ६–७ वटा सेटसम्म सिलाएँ । आफूले कहिल्यै नसिलाएको पिपिई सेट आफ्नै हातले सिलाउन पाउँदा म त दङ्ग परें । छुट्टै अनुभव भयो । मैले त डाक्टर नर्सलाई बचाउन सक्ने ड्रेस पनि सिलाउन सक्ने रहेछु भन्ने लाग्यो ।
सबैभन्दा ठूलो कुरा त हामी सबै बाँच्नु र अरुलाई बचाउनु रहेछ । पैसाले पनि त त्यो काम गर्न नसक्ने रहेछ । नत्र अमेरिका, इटाली जस्ता देशमा यस्तो संकट आउने थिएन होला । हामीले डाक्टर, नर्स र सुरक्षाकर्मीलाई पहिला बचाउन सक्यौं भने पो उहाँहरुले हामीलाई बचाउन सक्नुहुन्छ भनेर पनि मलाई यो काम भित्री मनदेखि नै गर्न मन लाग्यो । एउटा सामान्य महिला भए पनि देशलाई परेको बेला केही गर्न सक्ने रहेछु भन्ने जस्तो पनि लाग्यो । यो कुराले मलाई छुट्टै आँट दिएको छ ।
पछि लकडाउनले गर्दा दिनहुँ हिंडेर जान अलि समस्या भयो । छोरीलाई एक्लै छोडेर जान पनि नमिल्ने भयो । लगातार ५ दिनसम्म गएपछि अहिले जान छोडेको छु । विद्युतीय मेशिन घरमा हुने हो भने त मैले घरमै सिलाएर पनि डेलिभर गर्न सक्थें जस्तो लाग्छ ।
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar