'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'
“मेरो नाम मेनका शाही हो । मेरो जन्मघर मान्मा कालिकोट हो । म अहिले एउटा परियोजनामा डोटी जिल्लाको शिखर नगरपालिका अन्तर्गत बसेर काम गर्छु । अहिले कोरोना भाइरस संक्रमणपछिको अवस्थामा मैले घरबाट नै आवश्यकता अनुसार काम गरिरहेकी छु ।
कोरोना भाइरसको यो महामारीमा सुदूरपश्चिमको अवस्था एकदम चुनौतीपूर्ण छ । स्थानीय वासिन्दालाई लकडाउन भनेर बुझाउन नसकेको जस्तो लाग्छ । गाडीहरु नचलाउने र पसल बन्द गर्ने बाहेक यहाँका मानिसहरु बाहिर–फेर हिंड्ने, वनभोज जाने, तास खेल्ने गरिरहेकै छन् ।
घाँस–दाउराको लागि महिलाहरुलाई जंगल जानुपर्ने बाध्यता छ । धेरैजसोलाई क्वारेन्टिनमा किन राखिएको भन्ने समेत जानकारी छैन । त्यसैले दिनभरि क्वारेन्टिनमा बस्ने, राति आफ्नो घर जाने अनि बिहान फेरि फर्किने पनि गरेका छन् । कति त क्वारेन्टिनबाट भागेका पनि छन् जसले गर्दा जोखिम झन् बढेको छ । दुर्गम क्षेत्रमा सामाजिक दूरी खासै पालना भएको छैन ।
तोकिएका नाकामार्फत भारतबाट आएकाहरुको मात्र स्थानीय तहसँग लगत छ । तर अवैध बाटोबाट आएकाहरुको तथ्याङ्क राख्न अप्ठेरो परेको छ जसले गर्दा चुनौती झनै थपिएको छ । म कार्यरत नगरपालिकामा अहिलेसम्म ७५४ जना भारतबाट आएकोमा ७६ जनालाई मात्र क्वारेन्टिनमा राख्न सफल भयौं । बाँकीले हामीलाई केही भएको छैन र केही हुँदैन भनी बस्न मान्नु भएन । त्यसैले होम क्वारेन्टिनमा बस्न अनुरोध गरेका छौं र त्यसको पालना भए नभएको अनुगमन भएको छ ।
यस नगरपालिकाले ४ वटा क्वारेन्टिन स्थापना गरेको छ । आइसोलेसनको व्यवस्था भने भएको छैन । यदि आइसोलेसनमा राख्नुपर्ने कुनै विरामी आएमा दिपायल पठाउने गरिएको छ । शुरुमा प्रत्येक घरका लागि एउटा मास्क र दुईवटा साबुन राहत वितरण गरियो । हाल विपत् व्यवस्थापन समिति अन्तर्गत कोष खडा गरी आवश्यकता अनुसार नगरपालिकाले काम गरिरहेको छ ।
विस्तारै मानिसहरुमा अलि सचेतना आएको जस्तो लाग्छ । यदि भारतबाट कोही आएको छ भने पनि स्थानीय निकायमा खबर गर्न थालेका छन् । यो जनचेतना फैलाउन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र स्थानीय रेडियोहरुको राम्रो समन्वय र भूमिका रहेको छ । यो सबै अवस्थामा महिलाको कार्यबोझ भने झन् थपिएको छ । केटाकेटी र घरका पुरुषलाई बसेर फुर्सद छैन हामीलाई भने काम गरेर फुर्सद छैन ।”
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar