'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'
“मेरो नाम दिवा शर्मा हो। म हात्तीवनमा बस्छु। विगत ६ वर्षदेखि नेपाल प्रहरी अस्पतालको मृगौला तथा डायलिसिस विभागमा प्रहरी उपरीक्षक पदमा कार्यरत छु। चिकित्सकको रुपमा मेरो प्रमुख दायित्व त बिरामीलाई सेवा दिने नै हो तर कोरोनाको प्रकोपसँगै कामको व्यस्ततामा फरक आएको छ।
हाल अस्पतालमा एकदिन बिराएर मेरो ड्युटी पर्छ। बहिरंग सेवा बन्द भएता पनि आन्तरिक बिरामीहरु पहिला जत्तिनै छन्। तर लकडाउनका कारण नयाँ भर्नामा कमी आएको छ। अहिले लकडाउनको परिस्थितिमा नियमित डायलिसिसको लागि बिरामीहरुलाई अस्पताल आउन निकै कठिन छ। बिरामीलाई घर पठाउँ त नियमित परीक्षणमा आउँदा उनीहरुलाई शारीरिक जटिलताको सामना गर्नुपर्ने हुन्छ ,यहीं राखौं भने बिरामीमाथि आर्थिक भार पर्छ। धेरै बिरामीहरु आर्थिक भार धान्न नसक्ने अवस्थाका हुनुहुन्छ त्यसैले अस्पतालमा राख्न पनि धरै कठिन छ। हाल मेरो सयम अस्पतालमा भएका बिरामीहरुको सेवामा बित्ने गर्छ।
अस्पतालमा कोरोना संक्रमितहरुका लागि चाहिने सबै पूर्व तयारी गरिएको छ। छुट्टै भवनमा आइसोलेसन वार्ड र संक्रमणको शंका लागेकाहरुका लागि ज्वरो क्लिनिकको व्यवस्था छ। अहिलेको परिस्थितिमा नयाँ बिरामी आएमा आकस्मिक कक्षमा राखेर उच्च सावधानीका साथ हेर्छौं। हालसम्म महिला बिरामीकै लागि भनेर अलग्गै सहुलियतको व्यवस्था त छैन तर यहाँ आउने बिरामीहरुका लागि अस्पतालले औषधि, शल्यक्रिया आदिमा सहुलियत दिने गरेको छ।
बिरामीको चाप कम छ। तर आन्तरिक बिरामीहरु हेर्ने, नियमित औषधिको समय तालिका, मेडिकल रिपोर्टस्, डायलिसिस मेशिन जस्ता कामहरुमा व्यस्त रहन्छु। घरमा पनि सरसफाई, अस्पताल पछि घर जाँदा आफैंलाई स्यानिटाइज गर्ने काम पहिलाभन्दा थपिएको छ। म स्वयंलाई भन्दा पनि अरुलाई भएको असहजतालाई महसुस गर्छु जसले गर्दा मन खिन्न हुन्छ।
म सँगै कार्यरत एकजना नर्स यस विषम परिस्थितिमा पनि आफ्नो सानो बच्चालाई अरुकहाँ राखेर काम गर्न आउनु हुन्छ। मृगौलाका बिरामीहरुको प्रतिरक्षात्मक क्षमता कम भएको हुँदा दिनभरि बिरामीसँग बस्नु हुन्छ। पेशागत कर्तव्यमा रहँदा एउटा आमाको मन भित्रदेखि पिरोलिएको देखेर मलाई धेरै दुःख लाग्छ। तर पनि फेरि सोच्छु हाम्रो पेशा अरुको सेवा गर्नु र मानवता जोगाउनु हो। सबैले आ-आफनो ठाउँमा बसेर आफनो कर्तव्य पूरा गरेमा मात्र एक सुदृढ प्रणाली बन्छ र काेरोनाको महामारीलाई जित्न सकिन्छ।"
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar