कोरोनाभाइरसभन्दा खतरनाक हुन सक्छन् ‘बाइप्रोडक्ट’
कोभिड १९ महामारीले रेमिटेन्स रोकिने, फरक जातीय द्वेष फैलने, हिंसा भड्कने, सामाजिक सद्भाव बिथोलिने, चोरी, लुटपाट र विद्युतीय माध्यमबाट हुने अपराध बढ्ने जस्ता ‘बाइप्रोडक्ट’ निम्त्याउने खतरा बढेको छ ।
वीरगञ्जका चिनिएका एक जना राजनीतिक कार्यकर्ताले गत शुक्रबार फोन गरेर आक्रोश पोखे । मुस्लिम समुदाय कोरोनाभाइरस फैलाउन सक्रिय रहेको आरोप मात्र लगाएनन्, नेपाली संचारमाध्यमहरुले पनि त्यही समुदायको पक्ष लिएको समेत भने।
अज्ञात व्यक्तिले ११ वैशाखमा वीरगञ्जका सडकमा रु.१ हजार र ५०० का नोट छरेर भागेको र तिनमा कोरोनाभाइरस भएको उनले दाबी गरे । जनकपुरको घटनामा समेत प्रहरीले मुस्लिम समुदायको बचाउ गर्दै अनुसन्धानको तथ्य बाहिर नल्याएको उनले आरोप लगाए । तर, जनकपुरका सडकमा ५ वैशाखमा भेटिएका नोट दुई महिलाको खल्तीबाट अनजानले खसेको तथ्य बाहिर आइसकेको छ।
ती महिला वैदेशिक रोजगारमा रहेका श्रीमान्ले पठाएको पैसा ब्याङ्कबाट झिकेर फर्किएका थिए । घरमा केटाकेटीले पैसा माग्ने हुँदा केही रकम खुद्रा बनाएर बोकेका थिए । बन्दाबन्दीमा नियम उल्लंघन गरेको आरोपमा कारबाही हुने डरले हतारमा फर्किंदा पैसा खसेको थियो । तर, यही कारण सिङ्गो समुदायमाथि आरोप लागेको थियो ।
भारतीय सञ्चारमाध्यमले मुस्लिम समुदायप्रति नकारात्मक समाचार दिइरहेकाले त्यसको प्रभाव सीमावर्ती शहरका नागरिकमा परेको छ । कुनै पनि वेला उद्दण्ड गतिविधि हुनसक्ने भन्दै प्रहरीले सहजता अपनाएको छ । कोरोनाभाइरसले स्वास्थ्य समस्या मात्र नल्याएर अन्य सामाजिक समस्या पनि ल्याउने जोखिम बढेको केही दिनअघि मात्र प्रदेश २ प्रहरी प्रमुखबाट सरुवा भएका डीआईजी प्रद्युम्न कार्की बताउँछन्।
उनी भन्छन्, “सीमावर्ती शहरहरुमा सानोभन्दा सानो खबर परालको आगो जसरी फैलन्छ, घटनाको तथ्यसम्म पुग्न नपाउँदै समाजले एउटा मान्यता बनाइसक्छ, जुन अति खतरनाक पनि हुनसक्छ ।” जनकपुरमा पैसा छरिएको विषयमा प्रत्यक्षदर्शी कोही नहुँदा पनि केहीले घटनालाई आफ्नै तरिकाले बुझेर हल्ला फैलाउँदा सिङ्गो समुदायमा लान्छना लागेको उनी बताउँछन् ।
वीरगञ्जमा ११ वैशाखको घटना पनि सीमित मान्छेको गलत बुझाइबाट अतिरञ्जित गरिएको थियो । उक्त दिन कुम्हाल टोलस्थित वडा कार्यालय नजिक रु.३८ सयको बन्डल फेला परेको थियो । प्रहरीलाई पहिलोपटक सूचना दिनेले कालो हाफ सर्ट लगाएको व्यक्तिले पैसा छरेर भागेको जानकारी दिएका थिए । तर, सीसीटीभी फुटेजमा कसैले छरेको वा फालेर दौडिएको देखिएको थिएन ।
प्रहरीमा जस्तो सूचना आएको थियो, त्यस्तै हल्ला फैलिएपछि उक्त घटनाले पनि मुस्लिम समुदायप्रति नै लान्छना लागेको थियो । सोही साँझ उक्त रकम टिप्दै गरेका एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लियो । उनले पैसा भेटाएकाले टिपेको जवाफ दिए । प्रहरीले उनको कोरोनाभाइरस परीक्षण गराउँदा नतिजा नेगेटिभ आयो । तर, प्रहरीले जोमिख लिन नसक्ने भन्दै उनलाई क्वारेन्टिनमा राखेको छ ।
भारतबाट फर्केका सबै जमाती क्वारेन्टिनमा
प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेस्कले गृहमन्त्रालयमा बन्दाबन्दीको एक महीनामा भएका गतिविधि र कार्यक्रम सहितको प्रतिवेदन बुझाएको छ । जसमा भारतमा भएका मुस्लिम धर्मावलम्बीका विभिन्न जमातीमा सहभागी भएर ९३ नेपाली फर्किएको उल्लेख छ । प्रतिवेदनमा सहभागीको सूची नै छ ।
प्रहरीको ३० पृष्ठ लामो उक्त प्रतिवेदनमा नेपालबाट भारतको नयाँदिल्लीस्थित मर्कज निजामुद्दीन तब्लिगी जमातमा ५२ जना सहभागी भएको उल्लेख छ । उक्त जमात गएको २५–२७ फागुनसम्म भएको थियो । त्यहाँ सहभागी सबैको कोरोनाभाइरस जाँच गरी क्वारेन्टिनमा राखिएको छ ।
यस्तै, भारत बिहारको अररिया जिल्लाको रघुवाईमा भएको मुस्लिम जमातमा नेपालबाट १९ जना सहभागी थिए । उनीहरु पनि सबैको कोरोनाभाइरस जाँच गरी क्वारेन्टिनमा पठाइएको छ । यसबाहेक भारतका विभिन्न शहरमा भएका जमातीमा सहभागी अन्य २२ जनालाई समेत प्रहरीले सम्पर्कमा ल्याएर स्वास्थ्य जाँच गरी क्वारेन्टिनमा राखेको छ।
नेपालमा रहेका विभिन्न देशका एकसय ७० जमातीलाई पनि प्रहरीले स्वास्थ्य जाँच गरी क्वारेन्टिनमा राखेको छ । तर, उदयपुरमा कसरी संक्रमण फैलियो भन्ने थाहा हुन सकेको छैन । प्रहरीले संक्रमणको स्रोत पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री खोजिरहेको छ । एक उच्च प्रहरी अधिकारी भन्छन्, “हाम्रो कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्रीमा भरपर्दो सूचना भेटिएको छैन, नियमित रुपमा चल्ने भेलालाई देखाएर कुनै एक समुदायप्रति रोग फैलाएको आक्षेप लगाउनु जरुरी छैन ।”
अपराध बढ्ने र हिंसा फैलने जोखिम
कोरोनाभाइरस संक्रमण रोकथाम भइसकेपछि देशको आर्थिक, सामाजिक र सुरक्षाका क्षेत्रमा गम्भीर असरहरु देखिन सक्ने भन्दै सुरक्षा अधिकारी त्यसको विश्लेषणमा लागेका छन् । उनीहरुका अनुसार रेमिटेन्स रोकिने, आर्थिक मन्दी हुने जस्ता प्रभावभन्दा फरक जातीय द्वेष फैलने, हिंसा भड्कने जस्ता सम्भावना पनि रहन्छन् । सामाजिक सद्भाव बिथोलिने, अपराध बढ्ने जस्ता ‘बाइप्रोडक्ट’ पनि हुनसक्छ ।
प्रहरीका अवकासप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी महामारीपछि सर्वसाधारणको जीवनयापनमै समस्या आउने भएकाले आर्थिक अपराध बढ्न सक्ने बताउँंछन् । उनी भन्छन्, “विभिन्न देशमा महामारीपछि राज्यले नियन्त्रण गुमाएका घटना पनि छन्, त्यसैले भोलि आइपर्ने चुनौतीका लागि राज्यले नागरिक केन्द्रित र सुरक्षा निकायले अवस्था नियन्त्रण सम्बन्धी योजना बनाउनु पर्छ ।”
सुरक्षा अधिकारीहरुका अनुसार चोरी, लुटपाट र ठगीजस्ता अपराध बाहेक विद्युतीय माध्यमबाट हुने अपराध र हिंसा पनि बढ्न सक्छन् । महामारीपछि अपराधका नयाँ शैली पनि प्रयोगमा आउन सक्छन् ।