जनकपुरको सडकमा नोट खसाउने महिलामा कोभिड-१९ नेगेटिभ : हल्ला भन्दा फरक वास्तविकता
जनकपुरमा शुक्रबार अपरान्ह साढे १२ बजे रु १० का नोट छरेको अवस्थामा सडकमा भेटिए । सडकमा रहेका नोटमध्ये केही नोट एक ब्यक्तिले उठाए । नजिकै रहेका पसलेले उनलाई ती नोटहरूमा कोरोनाभाइरस हुनसक्ने आशंका ब्यक्त गरे ।
यो सँगै जनकपुर हुँदै देशभर दुई महिलाले कोभिड–१९ संक्रमण फैलाउन नोट सडकमा फ्याकेको ‘रे’ भन्ने खबर फैलियो । दुवै महिला मुस्लिम रहेको भनिएपछि यो ‘हल्ला’ ले झनै ब्यापकता पायो ।
प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिकास्थित महावीर चोकमा रु १० का १२ थाान नोट भेटिएका थिए । यो गतिविधी कोभिड–१९ संक्रमण फैलाउन गरिएको आशंकापछि प्रहरीले शनिबार सडकमा नोट फ्याक्ने दुबै महिलालाई नियन्त्रणमा लिएको थियो । उनीहरूका गतिविधी नजिकमा रहेको एउटा पसलको क्लोज सर्किट क्यामरामा कैद भएको थियो ।
धनुषा प्रहरीले क्लोज सर्किट क्यामेरामा कैद भएका ती दुई महिलाको फोटो सार्वजनिक गरेर खोजी तिब्र बनाएको थियो । र उनीहरू समुदायको सहयोगमा शनिबार पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएका दुबै महिलाको कोभिड–१९ जाँच सुरु भयो ।
शनिबार दुई महिलामध्ये एकजनाको कोभिड– १९ को र्यापिड टेस्ट पोजिटिभ देखियो । योसँगै उनीहरू कोभिड–१९ संक्रमण फैलाउन सक्रिय रहेको र त्यसकै लागि नोट सडकमा फ्याकेको भन्ने आशयलाई पुष्टि गर्नेतर्फ उन्मुख थियो ।
तर प्रहरी उनीहरूको स्वाबको पिसिआर रिपोर्टको प्रतिक्षामा थियो। प्रहरीले दुबैलाई शनिबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा आरडिटी गराएको थियो । जसमा एकजनाको पोजिटिभ रिर्पोट आएको थियो ।
र, आईतबार आएको दुवैको पिसिआर रिपोर्ट नेगेटिभ छ । दुवैको प्रादेशिक अस्पताल जनकपुरमा आरडिटी र पिसिआर जाँच गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले पक्राउ परेका महिलाहरु नन्द भाउजु भएको र उनीहरुले विदेशबाट पठाएको पैसा बुझेर फर्कदा केही खुद्रा पैसा बाटोमा खसेको प्रारम्भीक बयान दिएको बताए ।
उनीहरूले विदेशबाट आएको दुईलाख मध्ये ठुला नोटहरु झोलामा र साना नोट खल्तीमा राखेर घर फर्कदा बाटोमा रु १० का १७ थान नोट खसेको बयान दिएका थिए । प्रहरीले घटनास्थलमा १२ थान रु १० का नोटमात्र बरामद गरेको छ । प्रहरीले दुबैले पैसा निकालेको भनेको बैंकबाट उनीहरू आएको पुष्टि गरेको छ ।
“कोही पनि प्रत्यक्षदर्शी थिएनन,” एसपी बस्नेतले भने “हल्लाकै भरमा यो घटनालाई प्रचार प्रसार गरियो, हामीले दुबैको स्वास्थ्य प्रतिवेदन पाइसकेका छौं ।” उनका अनुसार अहिलेको अवस्थामा सानासाना घटनामा पनि सर्वसाधारणको चासो रहने र कोभिड–१९ सम्बन्धी सूचना महत्वपूर्ण भएकाले यसमा विभिन्न आशंका ब्यक्त हुने गरेको छ ।
“सबैजना एउटा डरमा बसिरहनु भएको छ,” एसपी बस्नेतले भने “यसैले कसैले भनेको र सुनेको भरमा अडकल लगाउनुभन्दा आधिकारीक निकायबाट आउने सूचना मात्रै अन्तिम सत्य हो भन्ने बुझन जरुरी छ ।”