सरकारले गरिरहेको कोरोनाको र्यापिड टेष्ट अवैज्ञानिक, किन हुनसक्छ घातक ?
कोभिड–१९ को परीक्षण गर्न सरकारले वैज्ञानिक आधार विना नै र्यापिड डाइग्नोस्टिक टेष्ट विधि प्रयोग गरेर जोखिम बढाएको छ।
१ वैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.विकास देवकोटाले कैलालीकी एक महिला कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भेटिएको बताए। यी तिनै महिला थिइन्, जो लम्की बहुमुखी क्याम्पसको क्यारेन्टिनमा बसेको वेला र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि २९ चैतमा घर पुगेकी थिइन्।
कैलालीको लम्कीचुहा नगरपालिका– १ भरुवाकी ६५ वर्षीया उनको नमूनाआरडीटी बाहेक रियल टाइम पीसीआर मेशिनमा पनि राखेर जाँचिएको थियो। क्वारेन्टिनबाट घर पुगेको तेस्रो दिनमा उनी कोरोना संक्रमित भएको रिपोर्ट आएको थियो। सोमबार उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीलगेर आइसोलेसन कक्षमा उपचार थालिएको छ।
कैलाली टीकापुरका मेडिकल ल्याब टेक्निसियन मीनबहादुर कुँवरका अनुसार, २५ चैतमा स्वास्थ्य अनुसन्धान परिषद्ले ती महिलासहित आठ जनाको कोभिड–१९ परीक्षणका लागि स्वाब र रगत संकलन गरेको थियो।
कुँवर भन्छन्, “नमूनालाई आरडीटी विधिबाट जाँच्दा महिलाको रिपोर्ट नेगेटिभ देखिएपछि परिषद् र धनगढीमा रहेको प्रयोगशालाका कर्मचारीले घर पठाउँदा हुन्छ भनेपछि उहाँलाई २९ चैतमा घर पठाइएको हो।”
जनस्वास्थ्य विषयका अनुसन्धानकर्ता डा. समीरमणि दीक्षित ती महिलालाई र्यापिड डाइग्नोस्टिक किट मार्फत जाँचेपछि आएको रिपोर्टकै आधारमा घर जान अनुमति दिनु गल्ती भएको बताउँछन्। “रियल टाइम पीसीआर मेशिनको रिपोर्ट नआई घर पठाउनु हुँदैन थियो”, उनी भन्छन्।
यो घटनाले सरकारी निकायले कोभिड–१९ परीक्षणका क्रममागरेको गम्भीर लापरवाही उदाङ्गो पारेको छ।
हे.लिंक (नेपाली विमान स्वास्थ्य सामग्री लिन चीन जाँदै, नदोहोरियोस् गुणस्तरहीन किट प्रकरण)
मुलुकमा अहिले कोभिड–१९ परीक्षणका लागि र्यापिड डाइग्नोस्टिक टेष्ट र रियल टाइम पीसीआर गरी दुई वटा विधि अपनाइएको छ। २५ चैतमा कैलालीकी महिलाको यी दुई वटा विधिबाटै परीक्षण गर्ने गरी नमूना लिइएको थियो।
२९ गते र्यापिड टेष्टको रिपोर्ट नेगेटिभ आएलगत्तै उनलाई घर पठाइयो, जबकि काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर मेशिनको परीक्षण रिपोर्ट आइसकेकै थिएन।
स्वास्थ्य मन्त्रालय र्यापिड डाइग्नोस्टिक टेष्टलाई वैज्ञानिक ढंगबाट प्रयोेग गर्न चुक्दा संक्रमित बिरामी क्वारेन्टिनबाट बिदा भएर बाह्य सम्पर्कमा पुग्ने अवस्थाआयो। घर पुगेकी उनले अन्य व्यक्तिलाई पनि संक्रमण सारेको हुन सक्ने जोखिम देखिन्छ।
र्यापिड टेष्ट किटको गुणस्तरमै शंका
स्वास्थ्य मन्त्रालयले देशव्यापी प्रयोग गरिरहेको र्यापिड डाइग्नोस्टिक टेष्टका लागि र्यापिड डाइग्नोस्टिक किट चाहिन्छ। यो त्यही किट हो, जुन स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले ललितपुरको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबीसीआई)मार्फत चीनबाट खरीद गरेर ल्याएको थियो।
विभागले ओबीसीआईमार्फत ७५ हजार किट खरीद गरेको थियो। यसमध्ये ३५ हजार प्रदेशहरूमा पठाइएको र त्योमध्ये १० हजार किट प्रयोग भइसकेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए। यही किटबाट परीक्षण गर्दा कैलालीकी महिलाको रिपोर्ट गलत आएको थियो।
हे.लिंक (कसरी पायो ओबीसीआईले अर्बौंको स्वास्थ्य सामग्री ठेक्का ? को हुन् तुलबहादुर सिंह (हरि) ?
विभागले गुणस्तर नजाँचिएका किट महँगोमा खरीद गरेको विषय यसअघि नै सार्वजनिक भइसकेको छ। उच्चतहको राजनीतिक साँठगाँठबाट ओबीसीआईलाई किट लगायतका स्वास्थ्य सामग्री खरीद गर्न १ करोड ३ लाख ३३ हजार अमेरिकी डलर बराबरको ठेक्का दिइएको थियो।
महँगो मुल्य र गुणस्तर एकिन नभएका सामग्री नेपाल ल्याएको भन्दै ओबिसिआई र सरकारमाथि प्रश्न उठ्न थालेपछि स्वास्थ्य सेवा विभागले खरिद सम्झौता रद्द गर्दै कम्पनिलाई कालो सुचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्राचार गरिसकेको छ ।
के हो र्यापिड डाइग्नोस्टिक टेष्ट ?
कोभिड–१९ जाँच्न सरकारले प्रयोगमा ल्याएको र्यापिड डाइग्नोस्टिक किटले मानव शरीरमा कोरोना भाइरस विरुद्ध लड्ने एन्टीबडी बने–नबनेको जाँच्ने काममात्र गर्छ। किटले कोभिड–१९ को भाइरस पहिचान गर्न भने सक्दैन।
यसले स्वतःप्रश्न उठ्न सक्छ, त्यसो भएकोभिड–१९ को परीक्षणमा यो विधिको प्रयोग किन भइरहेको छ त ?
जब मानिसको शरीरभित्र कोभिड–१९ को भाइरस प्रवेश गर्छ, तब भाइरस मार्न शरीरमा रोग प्रतिरोधी क्षमता सक्रिय हुन थाल्छ। शरीरले भाइरस मार्न एक प्रकारको प्रोटिन विकास गर्न थाल्छ, जुन प्रोटिनलाई नै एन्टीबडी भनिन्छ। यस्तो एन्टीबडी दुई किसिमको हुन्छ,आईजीजी र आईजीएम।
शरीरमा कोभिड–१९ को भाइरस प्रवेश गरेको करीब ६ दिनपछि मात्र आईजीएम एन्टीबडी बन्न थाल्छ। यो शरीरले आफैं बनाउँछ। शरीरमा भाइरस पसेको नौ दिनभएको छ र त्यसै अवधिमा र्यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गरिए संक्रमण हुँदाहुँदै पनि नेगेटिभ रिपोर्ट आउँछ। किनकि, यो किटले भाइरस प्रवेश गरेको नौ दिनपछि मात्र रिपोर्ट पोजेटिभ देखाउँछ।
हे.लिंक (गुणस्तर यकिन नभएको भन्दै सरकारद्वारा चीनबाट ल्याइएका किट प्रयोग नगर्न निर्देशन)
कैलाली घटनामा ती महिलालाई संक्रमण भएको १० दिन नभइसकेकाले र्यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो, जसलाई रियल टाइम पीसीआरबाट गरेको जाँचपछि संक्रमण पुष्टि भयो।
र्यापिड टेस्टबाट नेगेटिभ देखिएको संक्रमित व्यक्ति समुदायमा जाँदा संक्रमण फैलिने जोखिम उच्च हुने भएकाले परीक्षणमा हेल्चेक्र्याइँ गर्न नहुने पोखरा विश्वविद्यालयका उप–प्राध्यापक एवम् प्रयोगशाला विज्ञ उमेशप्रसाद गुप्ता बताउँछन्। “गाइडलाइन बनाएर वैज्ञानिक विधिबाट परीक्षण नगरिंदा अकल्पनीय क्षति निम्त्याउन सक्छ”, उनी भन्छन्।
र्यापिड डाइग्नोस्टिक किटले शरीरमा भाइरस प्रवेश गरेको १० दिन पुगेको छ भने मात्र पोजेटिभ रिपोर्ट देखाउने भएकाले रियल टाइम पीसीआर मेशिनबाट मात्र परीक्षण गर्नुपर्ने प्राध्यापक गुप्ताको सुझाव छ।
अर्को प्रकारको आईजीजी एन्टीबडी शरीरमा भाइरस प्रवेश गरेको करीब १५ दिनपछि मात्र बन्ने भएकाले त्यसअघि र्यापिड डाइग्नोस्टिक किटले व्यक्ति संक्रमित भए पनि नेगेटिभ नै रिपोर्ट निकाल्छ।
त्यसैले र्यापिड टेष्ट विधिबाट यी दुईमध्ये एक वा दुबै प्रकारका एन्टीबडी भए–नभएकोे पहिचान गरेर कोभिड–१९ संक्रमित भए–नभएको पहिचान गर्ने गरिएको छ ।
यो किट कस्तो अवस्थामा प्रयोग गर्ने ?
विज्ञहरु कोभिड–१९ को लक्षण देखिएर अस्पताल वा आइसोलेसन वार्डमा राखिएका व्यक्ति क्वारेन्टिनमा बसेको १४ दिन पुगेको छ भने मात्र र्यापिड डाइग्नोस्टिक किट प्रयोग गर्न सकिने बताउँछन्।
शंकास्पद व्यक्तिको शरीरबाट रगत लिएको १० देखि ३० मिनेटमा र्यापिड डाइग्नोस्टिक किटले नतिजा निकाल्न सक्छ। लक्षण देखिएका व्यक्तिको तत्काल नतिजा थाहा पाउन केही मुलुकले यो विधिबाट परीक्षण गर्दै आएका छन्।
संक्रमणको तेस्रो स्तर वा समुदाय–समुदायबीचमा कोभिड–१९ को संक्रमण फैलिएको भारतका केही ठाउँमा र्यापिड डाइग्नोस्टिक किट प्रयोग गरिदै आएको छ। विज्ञहरूका अनुसार, तेस्रो चरणमा पुगेपछि सयौं वा हजारौं व्यक्तिको स्क्रिनिङ गर्नुपर्ने अवस्थामा मात्र गाइडलाइन बनाएर यो किट प्रयोग गर्न सकिन्छ।
भारतमा इन्डियन काउन्सिलअफ मेडिकल रिसर्च (आईसीएमआर) ले र्यापिड डाइग्नोस्टिक किट कस्ता व्यक्तिमा कसरी प्रयोग गर्ने भन्ने बारेमा गाइडलाइन बनाएको छ। तर, नेपालमा कुनै वैज्ञानिक आधारविना नै यो किट प्रयोग भइरहेको छ। जसका कारण कैलालीको जस्तो घटना देखिएको हो।
जनस्वास्थ्य विषयका अनुसन्धानकर्ता डा. समीरमणि दीक्षित भन्छन्, “र्यापिड डाइग्नोस्टिक किटमार्फत कस्ता व्यक्ति र कति पटकसम्म कोभिड–१९ जाँच्ने भनेर सरकारले वैज्ञानिक विधि अपनाउन सकेको छैन।”
आईसीएमआरले बनाएको प्रोटोकल अनुसार क्वारेन्टिनमा बसेको १४ दिन पुगेका व्यक्तिलाई मात्र यो किटबाट जाँच्न सकिने भनिएको छ। उक्त किटबाट परीक्षण गर्दा नेगेटिभ देखिएमा रियल टाइम पीसीआर मेशिनबाट पुनः परीक्षण गर्नुपर्ने र त्यसको नतिजा नआउन्जेल शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमै राख्नुपर्ने व्यवस्था गरिएको छ।
हे.लिंक (स्वास्थ्य सामग्री खरीदमा अनियमितता गर्ने ओम्नीलाई कालोसूचीमा राख्ने पक्रिया अघि बढ्यो)
रियल टाइम पीसीआर मेशिनको पहुँच छैन भने चाहिँके गर्ने ? आईसीएमआरले बनाएको प्रोटोकल अनुसार,शंकास्पद भनिएका व्यक्तिलाई पहिलो पटक पीसीआर मेशिनबाट जाँच्दा नेगेटिभ नै आयो भने क्वारेन्टिनमा बस्न लगाएर त्यसको १० दिनपछि दोस्रो जाँचगर्न र्यापिड डाइग्नोस्टिक किट प्रयोग गर्न सकिन्छ।
दोस्रो जाँचमा पनि नेगेभिट देखिए मात्र कोभिड–१९ संक्रमित नभएको पुष्टि हुने प्रोटोकलमा उल्लेख छ। विज्ञहरू अहिलेको अवस्थामा नेपालमा र्यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गर्न नहुने सुझाव दिन्छन्। हुन पनि नेपालमा आईसीएमआरको गाइडलाइनको ठ्याक्कै उल्टो नियमबनाएर कोेभिड–१९ को जाँचभइरहेको छ।
२२ चैत २०७६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पत्र लेख्दै आरटीडी विधिबाट कोेभिड–१९ परीक्षण गरेका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिए मात्र यकिन गर्न रियल टाइम पीसीआरबाट पुनः परीक्षण गर्न भन्यो।
यस्तै, पछिल्लो समय स्वास्थ्य मन्त्रालयले र्यापिड डाइग्नोस्टिक किटबाट जाँच्दा नेगेटिभ देखिएका २० प्रतिशतको मात्र दोहोर्याएर रियल टाइम पीसीआरबाट पुनः परीक्षण गर्ने निर्णय गर्यो।
र्यापिड डाइग्नोस्टिक किटबाट नेगेटिभ देखिएका सबैलाई रियल टाइम पीसीआरबाट पुनः परीक्षण गराउनुपर्नेमा मन्त्रालयको यो निर्णय अवैज्ञानिक भएको विज्ञहरु बताउँछन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने कोेभिड–१९ जाँच्न र्यापिड डाइग्नोस्टिक किट नभई रियल टाइम पीसीआर मेशिन उपयुक्त हुने भन्दै सबै मुलुकलाई यसैको प्रयोग गर्न सुझाएको छ।
डा. दीक्षित र्यापिड डाइग्नोस्टिक किटबाट गरिने जाँचमध्ये ८५ प्रतिशतमात्र विश्वसनीय हुने र एक पटक गरेको जाँचबाट भर पर्न नसकिने भएकाले डब्लूएचओले यसलाई सिफारिश नगरेको बताउँछन्। उनी यसबाट गरिने परीक्षणले नयाँ संक्रमित पत्ता नलाग्ने भएकाले पीसीआरमै जोड दिनुपर्ने सुझाव दिन्छन्।