नेपालमा थपिए कोरोना संक्रमित, संक्रमित संख्या १३ पुग्यो
कैलालीमा एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । पहिलो -यापिट टेष्ट परीक्षणमा नेगेटिभ देखिए पनि काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको हो ।
ती बृद्धालाई देखिएको कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक जानकारी भने दिउँसो हुने नियमित पत्रकार सम्मेलनमा दिने भएको छ। तर, मन्त्रालय स्रोतका अनुसार, भारतबाट वीरगञ्ज हुँदै कैलाली पुगेकी ६५ वर्षीया महिलालाई संक्रमण देखिएको हो।
वीरगञ्जबाट उनी सँगै कैलाली पुगेका अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ। १७ चैतमा लम्की पुगेका उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो। २८ चैतमा -यापिट टेष्ट परीक्षणमा नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको थियो । तर, काठमाडौं ल्याएर गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १३ पुगेको छ । शनिबार मात्रै वीरगञ्जमा तीन जना भारतीयमा कोरोनाको संक्रमण देखिएको थियो । संक्रमित मध्ये एक जना निकाे भएका छन् ।