नेपाली विमान स्वास्थ्य सामग्री लिन चीन जाँदै, नदोहोरियोस् गुणस्तरहीन किट प्रकरण
हामी अहिले कोभिड-१९ महामारीसँग जुध्न बन्दाबन्दीमा छौ । यो त्रासदीपूर्ण युद्ध लड्न हामीसँग पर्याप्त स्वास्थ्य उपकरण र औषधीको अभाव छ।
१३ चैतमा मात्रै सरकारले चीनमा नेपाली व्यापारीहरुले किनेर तयार पारेका स्वास्थ्य उपकरण र परीक्षण किट लिन नेपाल वायूसेवा निगमको विमान भोलि शनिबार ग्वान्जाओ पठाउने निर्णय गरेको छ। समयमै गरेको यो निर्णयका लागि सरकार धन्यवादको पात्र छ।
संकटको घडीमा पनि सक्रिय भएर चिनियाँ बजारवाट यी स्वास्थ्य सामग्री संकलन गरी देश भित्र्याउन हाम्रा व्यापारिक समुदायले देखाएको उत्तरदायित्व प्रति आभारी हुनैपर्छ। अझ व्यापारी समुदायले नै चार्टर फ्लाइटमार्फत सामाग्री ल्याउने पहल हुनु अर्को सुखद कुरा हो ।
हामी सबैले विचार गर्नुपर्ने कुरा चाँहि, यसरी किनेर ल्याईएका स्वास्थ्य उपकरण र परीक्षण किट भने गुणस्तरीय हुन अत्यावश्यक छ। हालै स्पेनले चीनबाट लगेका ठूलो परिणामको किट गुणस्तरहीन भएको र त्यसले गलत नतिजा दिएको खबर समेत सार्वजनिक भइसकेको छ ।
स्पेनले किट किनेको सान्जेन बायोइजी बायोटेक्नोलोजी भन्ने कम्पनी त चीनमा दर्ता नै रहेनछ। यस बारे चीनको स्पेनस्थित दुतावासले सरकारलाई स्पष्ट पारेको छ।
यस्तो खबरबाट चिनियाँ बजारबाट सामान खरिद गर्ने व्यापारी समुदाय र नेपाल सरकारका नियामक संस्थाहरु पनि सचेत हुनु जरुरी छ। त्यसका लागि हामीले सामान खरिदको प्रक्रियामै चिनियाँ दुतावासको सहयोग लिन सक्छौ, त्यसो गर्न नसकिए ल्याउनु अगाडि नै परीक्षण गर्न सक्छौं ।
यति पनि गर्न नसकिए, ल्याएलगत्तै बितरण पूर्व गुणस्तर परीक्षण भने गर्नैपर्छ ।
होस् गरौं, गुणस्तरहीन किट भित्रिएमा त्यस्तो किटको उपयोग तपाईको शरीरको परीक्षणमा पनि हुनसक्छ, मेरो वा हाम्रा प्रिय स्वजनको परीक्षणमा पनि हुनसक्छ ।
त्यसैले संकटको बेला थप सचेत बनौं, स्पेनको जस्तो बिडम्बना हामीले भोग्न नपरोस् ।