स्वास्थ्य सामग्री खरीदमा अनियमितता गर्ने ओम्नीलाई कालोसूचीमा राख्ने पक्रिया अघि बढ्यो
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले स्वास्थ्य सामग्री खरीदमा अनियमितता गरेको भन्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबीसीआई) लाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमनको कार्यालयलाई पात्राचार गरेको छ।
शाखाका आपुर्ती व्यवस्था प्रमुख चुडामणि भण्डारीले हिमालखबरसँग कुरा गर्दै ओबीसीआईलाई कालोसूचीमा राख्न पत्राचार गरिएको बताए।
सार्वजनिक खरीद अनुगमनको कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाका अनुसार, ओबीसीआईलाई कालोसूचीमा राख्न विभागको पत्र २५ चैतमा प्राप्त भएको छ। “कार्यालयको कानून शाखाले कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइसकेको छ", कोइरालाले भने।
उनका अनुसार, कम्पनी कालोसूचीमा परेपछि एकदेखि तीन वर्षसम्म कुनै पनि सरकारी खरीद प्रक्रियामा भाग लिन पाउँदैन। यद्यपि, कालोसूचीमा राख्ने अवधि एक वर्ष वा सोभन्दा बढी कति तोक्ने भन्नेबारे अनुगमनको कार्यालयका सचिवले निर्णय लिनेछन्।
प्रवक्ता कोइराला सार्वजनिक खरीद ऐन अनुसार कम्पनी कालोसूचीमा परे पनि सम्झौता भएर ठेक्का पाइसकेका परियोजनामा भने काम गर्न पाउने बताउँछन्।
स्वास्थ्य सेवा विभागले १२ चैतमा ओबीसीआईसँग गरेको १ करोड ३ लाख ३३ हजार अमेरिकी डलर बराबरका पीसीआर मेशिन, र्यापिड टेष्ट किट, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), सर्जिकल मास्क, पन्जा लगायतका स्वास्थ्य साम्रगी खरीद गर्न सम्झौता गरेको थियो।
खरीद सम्झौता अनुसार कम्पनीले चीनबाट विभिन्न स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो। तर पछि ओबीसीआईले सरकारलाई बजार मूल्यभन्दा ४८ गुणा बढी मूल्यमा सामान बिक्री गरेको र गुणस्तर यकिन नभएका सामग्री आयात गरेको खुलेको थियो। यसपछि स्वास्थ्य सेवा विभागले कम्पनीसँगको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार विभागले कम्पनीलाई कारबाही स्वरुप कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमनको कार्यालयलाई पत्राचार गरेको हो।
ओबीसीआई यसअघि सरकारबाट मुलुकका ९ सय ३० वटा विद्यालयमा कम्प्युटर ल्याब बनाउने, २०७४ सालको निर्वाचनमा निर्वाचन आयोगका लागि परिचयपत्रदेखि मतदाता नामावलीपत्र छपाइ लगायतका ठूला ठेक्का पाइसकेको कम्पनी हो।
ओबीसीआईले उच्च राजनीतिक पहुँचका आधारमा सरकारी ठेक्का पाउँदै आएको बताइन्छ।
यो पनि पढ्नुहोस्-
कसरी पायो ओबीसीआईले अर्बौंको स्वास्थ्य सामग्री ठेक्का ? को हुन् तुलबहादुर सिंह (हरि) ?