ब्लगशनिबार, ४ जेठ , २०७६

बुद्ध र शाक्य

वसन्त महर्जन

शाक्य कुलको शासन भएको त्यसबेलाको कपिलवस्तुलाई शाक्य गणराज्य भनियो र त्यहाँका जनताको राष्ट्रियता पनि शाक्य हुनपुग्यो। 

वसन्त महर्जन

पर्यटन व्यवसायी कर्ण शाक्यले गएको चैतमा सिन्धुलीस्थित दुम्जा क्षेत्रको फोटो सामाजिक सञ्जालमा राखेर लेखे– ‘हाम्रो कुलदेवता कुशेश्वर महादेवस्थानमा पनि पुगियो’ । उनको यो ‘स्टाटस’ मा केहीले ‘महादेव कसरी शाक्यको कुलदेवता ?’ भन्ने प्रश्न गरे ।

जवाफमा शाक्यले आफूलाई धर्म सम्बन्धी धेरै जानकारी नभएको तर, असनका शाक्यहरू काठमाडौंको कुलेश्वर महादेव मन्दिरमा हरेक वर्ष पूजा गर्न जाने गरेको र त्यहाँका महादेव सिन्धुलीको दुम्जाबाट प्रतिस्थापन गरिएका भन्ने जानकारी दिए ।

शाक्यहरू गौतम बुद्धका नातागोता हुन् र यिनीहरू बौद्ध हुन्छन् भन्ने स्थापित मान्यतालाई कर्ण शाक्यको जवाफले हल्लाइदियो । साँखुस्थित बज्रयानी बौद्धस्थल बज्रयोगिनीलाई कुलदेवताको रूपमा पूजा गर्न आउने ब्राह्मणहरूको प्रसंग पनि यहाँ स्मरणीय छ ।

बौद्ध देवीदेवतालाई कुलदेवताका रूपमा पुज्ने हिन्दू र हिन्दू देवीदेवतालाई कुलदेवताका रूपमा पुज्ने बौद्धको यो सन्दर्भ धार्मिक इतिहासमा महत्वपूर्ण पाटो हो । यो लेखमा बौद्ध भनिएका शाक्यहरू को हुन् भन्ने सन्दर्भमा चर्चा गरिएको छ ।

सामान्यतया शाक्य भनेर गौतम बुद्ध (इ.पू. ५६३–४८३) का पूर्वजलाई बुझने गरिन्छ । इसापूर्व छैटौं शताब्दीतिर यी शाक्यहरूको एउटा छुट्टै गणराज्य थियो– कपिलवस्तु । कोशल नरेश विडूडभले कपिलवस्तुमा आक्रमण गरेपछि त्यहाँबाट भागेर यताउता छरिएका शाक्यमध्ये केही काठमाडौं उपत्यकामा आएको मान्यता यो समुदायमा छ ।

तर यति जानकारी मात्रले शाक्यको इतिहास पूर्ण हुँदैन । शाक्य गणराज्यमा बस्ने सबै शाक्य जातिकै हुनु जरूरी पनि छैन । शाक्य कुलले शासन गरेकाले त्यसबेला कपिलवस्तुलाई शाक्य गणराज्य भनियो र त्यसैकारण त्यहाँका जनताको राष्ट्रियता पनि शाक्य हुनपुग्यो ।

शाक्य कुलसँग सम्बद्ध भएका कारण गौतम बुद्धलाई ‘शाक्यमुनि’ पनि भनिन्छ । बौद्ध ग्रन्थहरूमा मात्र होइन, मौर्य सम्राट अशोकले आफ्नो लुम्बिनी भ्रमणका अवसरमा राखेको अभिलेखमा पनि ‘शाक्यमुनि’ शब्दको प्रयोग गरेका छन् । शाक्यमुनि (गौतम बुद्ध) को धर्ममा दीक्षित भएका भिक्षुलाई ‘शाक्यपुत्र’ र भिक्षुणीलाई ‘शाक्यपुत्री’ भनिन्छ ।

बुद्धको लालनपालन गर्ने सानीआमा प्रजापति र पत्नी यशोधरालाई पनि शाक्यपुत्री नै भनिएको पाइन्छ । शाक्य वा कपिलवस्तुसँग कुनै सम्बन्ध नभएका भिक्षु भिक्षुणीलाई पनि शाक्यपुत्र वा शाक्यपुत्री भनिएबाट यो नाम शाक्यकुल र कपिलवस्तुको भौगोलिक सीमाभित्र सीमित नभई गौतम बुद्धसँग सम्बन्धित रहेको बुझनुपर्दछ । बौद्ध समाजमा ‘शाक्यभिक्षु’ र ‘शाक्यवंश’ दुई शब्द पनि प्रचलित छन् तर, आजभोलि शाक्य मात्रै भन्ने चलन छ । 

बज्रयान बौद्घ धर्ममा दीक्षित भई बज्राभिषेक लिएका जो–कोही व्यक्ति ‘बज्राचार्य’ हुन् तर, अचेल यो थरमा रूपान्तरित हुँदैछ। उही बज्राचार्यको सन्तानले बज्राभिषेक नलिएको र परम्परानुसार चूडाकर्म मात्रै सम्पन्न गरेको खण्डमा ‘शाक्य’ भनिने प्रचलन छ।

गौतम बुद्धका पूर्वजहरूका कुलदेवता पो महादेव थिए कि भन्ने प्रश्न पनि उठ्न सक्छ तर, इतिहासमा त्यसको कुनै संकेत पाइँदैन । बरु त्यसबेला गैरवैदिक समाजमा यक्ष पूजाको प्रचलन व्यापक रहेकाले उनीहरूका कुलदेवता यक्ष हुनसक्छन् । शाक्यकुल बाहेकका केही शाक्य (कपिलवस्तुका नागरिक) का कुलदेवता महादेव हुनसक्ने संभावनालाई भने नकार्न सकिन्न ।

काठमाडौंको नेवार बौद्ध समाजका शाक्य र बज्राचार्य थर रक्त सम्बन्धका कारण नभई धर्म सम्बन्धका कारणले बन्न पुगेका हुन् । आफ्नो पुख्र्यौली बताउने क्रममा फलाना ठाउँको फलाना ब्राह्मण भनी नाम लिने गरेका वंशज पनि अहिले ‘बज्राचार्य’ भनिन्छन् । बज्रयान बौद्ध धर्ममा दीक्षित भई बज्राभिषेक लिएका जो–कोही व्यक्ति ‘बज्राचार्य’ हुन् तर, अचेल यो थरमा रूपान्तरित हुँदैछ । उही बज्राचार्यको सन्तानले बज्राभिषेक नलिएको र परम्परानुसार चूडाकर्म मात्रै सम्पन्न गरेको खण्डमा ‘शाक्य’ भनिने प्रचलन छ ।

जुनसुकै भूगोलबाट जस्तोसुकै जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक पृष्ठभूमिबाट आए पनि बौद्ध धर्ममा दीक्षित भई भिक्षु वा भिक्षुणी बनेका व्यक्तिलाई सामान्यतः शाक्यपुत्र वा शाक्यपुत्री भन्न सकिने कुरा स्पष्ट भइसकेपछि प्रश्न उठ्छ, तिनीहरू भिक्षु/भिक्षुणी हुन् भने गृहस्थ कसरी भए त ? गृहस्थ भिक्षुको प्रचलन बुद्धकै बेलामा पनि रहेको विभिन्न प्रसङ्गबाट थाहा पाइन्छ ।

नेपालमा राजा जयस्थिति मल्ल (इ.सं. १३८२–१३९५) को शासनकालमा बौद्ध भिक्षुहरूलाई जबर्जस्ती गृहस्थ बनाइएको र दमन गरिएको भन्ने कथन आफ्नो ठाउँमा होला तर, यो भन्दाअघि पनि शाक्य, बज्राचार्यहरू गृहस्थ जीवनमा रहेको पाइन्छ ।

आफ्नो आस्था र विश्वास अनुसार पुजिने देवीदेवता परिवर्तन हुँदै गएको यदाकदा देखिए पनि नेपाली संस्कृति र परम्परामा कुलदेवता नै परिवर्तन गरिएको पाइँदैन । बरु, पछि गएर कुनै अर्को धर्म–संस्कृतिको हिमायती भएपछि उक्त धर्म अनुसार आफ्ना कुलदेवता नहुँदा रनभुल्लमा परेकाहरू ‘कुलदेवताका बारेमा बोल्नुहुँदैन’ भनेर पन्छिने गर्छन् ।

विगतमा पुर्खाले अर्कै धर्म मान्ने भएका कारण कुलदेवता अर्कै भएको कुराको अन्तर्य थाहा पाउनु र थाहा दिनुले नेपाली समाजमा धार्मिक इतिहासलाई स्पष्ट पार्छ । 

पढ्नुहाेस् 

वैशाख पूर्णिमा : बुद्ध जयन्तीको बहस

बौद्ध खानपानको चियोचर्चा 

जयन्ती होइन बुद्ध पूर्णिमा

राजनीतिमा बौद्ध भिक्षु, नसुहाउँदो व्यवहार

दक्षिण एशियाली बुद्ध

 

प्रतिकृया दिनुहोस