ब्लगशनिवार, पौष २२, २०७४

राजनीतिमा बौद्ध भिक्षु, नसुहाउँदो व्यवहार

वसन्त महर्जन

शील–सदाचारयुक्त हुनैपर्ने बौद्ध भिक्षुहरूमा राजनीतिप्रति बढ्दो रुचि भ्रष्टाचार प्रेरित देखिन्छ।

लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु निग्रोध (सिद्धार्थ महर्जन)

बौद्ध समाजमा तृष्णामुक्त धार्मिक अभ्यासका लागि घरबार त्यागेर बिहारमा बस्नेलाई भिक्षु भनिन्छ । सदाचारबाहेक अन्य काम–कुरामा नलाग्ने भएका कारण भिक्षुहरू अत्यन्त मर्यादित र श्रद्धाका पात्र हुन्छन् ।

तर, पछिल्लो समय नेपालका बौद्ध भिक्षुहरूमा डरलाग्दो गरी राजनीतिक रुचि बढेको देखिंदैछ । उनीहरू दलीय भागबण्डाका विभिन्न राजनीतिक नियुक्ति पाउन लालायित देखिन्छन् । लाग्छ, यस्ता नियुक्ति भिक्षुहरूका बीच प्रतिष्ठाको विषय बन्न पुगेको छ । 

भिक्षुहरूको दैनिक जीवन र समाजप्रतिको कर्तव्य कस्तो हुनुपर्छ भन्ने कुरा गौतम बुद्धद्वारा निर्दिष्ट छ । त्यसअनुसार उनीहरू राजनीतिमा बिल्कुल निरपेक्ष हुनुपर्छ ।

गौतम बुद्ध विभिन्न देशका राजा–महाराजा र राजनीतिज्ञहरूसँग नजिक भए पनि राजनीतिक दाउपेचबाट निरपेक्ष थिए । त्यसको तात्पर्य उनी राजनीतिप्रति उदासीन थिए भन्ने होइन ।

गौतम बुद्धका लागि राजनीति समाजसेवाको एउटा पाटो थियो । उनी राजा–महाराजाहरूलाई पनि सर्वसाधारणलाई जसरी नै चित्त–प्रमादि नहुन उपदेश दिन्थे । राजा–महाराजाहरू बुद्धलाई श्रद्धावश भोजनका लागि दरबारमा आमन्त्रण गरेर उपदेश सुन्थे ।

बुद्धवचन सुन्न बिहारमा जाँदा उनीहरू सर्वसाधारण जसरी नै जान्थे, राजचिह्नहरू साथमा लैजाँदैनथे । कोशलका राजा प्रसेनजितले जातीय कुरा उठाएर राजकुमार विडूडभलाई आफ्नो उत्तराधिकारीबाट हटाउँदा गौतम बुद्धले जातीय विभेदको खराबी बुझाएर निर्णय बदल्न लगाएका थिए ।

त्यस्तै, रानी मल्लिकादेवीले छोरी पाएको खबर सुनेर खिन्न भएका प्रसेनजितलाई गौतम बुद्धले उचित शिक्षा दिए छोरीले पनि राजकाज चलाउन सक्छिन् भन्दै लैंगिक विभेद नगर्न उपदेश दिएको प्रसंग पनि महत्वपूर्ण छ ।

पानीको विषयलाई लिएर कपिलवस्तु र कोलिय गणराज्यबीच हुन लागेको युद्धलाई बुद्ध स्वयं उपस्थित भएर टारेका थिए । त्यस्तै, कपिलवस्तुमाथि आक्रमण गर्न लागेका कोशलका राजा विडूडभलाई बुद्धले पटक–पटक रोकेका थिए ।

बुद्धका ती हस्तक्षेपहरू राजनीति प्रेरित नभई समस्या समाधानको उद्देश्यबाट अभिप्रेरित थिए ।

गौतम बुद्धको महापरिनिर्वाण पछि पनि बौद्ध भिक्षुहरू राजनीतिबाट निरपेक्ष नै रहन्थे भन्ने कुराको ज्वलन्त उदाहरण भिक्षु महाकाश्यप महास्थविर हुन् ।

बुद्धको अस्थिधातुका लागि मल्ल गणराज्यसँग युद्ध गर्न तम्तयार भएका अन्य गणराज्यहरू अन्ततः आठ भाग लगाएर फर्केपछि अस्थिधातु यसरी छरिएर रहनु उचित नहुने ठानेका भिक्षु महाकाश्यपले पुनः संकलन गर्ने सोच बनाएका थिए ।

तत्कालीन राजनीतिक शक्ति–सन्तुलनमा त्यो काम असम्भवप्रायः देखेर मगध नरेश अजातशत्रुले ‘कसरी ?’ भनी सोधेका थिए । त्यसमा भिक्षुले ‘त्यो मलाई छाडिदिनुस्’ भनेर जवाफ दिएका थिए ।

त्यसबेलाका राजनीतिक शक्तिहरू भिक्षुसंघप्रति नतमस्तक रहेकाले भिक्षु महाकाश्यपमा त्यस्तो आत्मविश्वास रहेको बुझ्न सकिन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भिक्षु अश्वघोष महास्थविर नेकपा (एमाले) को कोटाबाट राष्ट्रिय सभा सदस्य बने । त्यसयताको नेपाली राजनीतिक परिदृश्यमा भिक्षुहरू विभिन्न राजनीतिक दलको बुईं चढिसकेका छन् ।

नेतासँगको सम्बन्ध सार्वजनिक गर्न भिक्षुहरू कतिसम्म उत्ताउला बनिसकेका छन् भन्ने कुराको दृष्टान्त हालैको निर्वाचनमा देखियो । कतिपय भिक्षुले चुनाव प्रचारका लागि घरदैलोमा आएका नेतासँग फोटो खिचेर तुरुन्तै सार्वजनिक गरे ।

यसरी नेताको समर्थक वा कार्यकर्ता जस्तो व्यवहार देखाउनु भिक्षुका लागि बिल्कुलै सुहाउने कुरा होइन । बौद्ध आदर्शअनुसार घरबार छाडेर बिहारमा आउनु सांसारिकताबाट टाढा हुनु हो ।

बौद्ध भिक्षुले नागरिकता र पासपोर्ट नै त्याग्नु त व्यावहारिक नहोला, तर राजनीति निरपेक्ष रहनु सांसारिकताबाट टाढिने आदर्शभित्रकै कुरा हो ।

नेपालमा सार्वजनिक पदहरू दलीय भागबन्डामा बाँडिंदा अनेक प्रकारका विकृति सिर्जना भएका छन् । ती पदहरूको भागबण्डामा करोडौंको चलखेल हुने गरेको कुरा पनि ‘ओपन सेक्रेट’ भइसक्यो ।

लुम्बिनी विकास कोषका पदहरू पनि दलीय भागबण्डामै बाँडिन्छन् । कोषको उपाध्यक्षमा भिक्षु निग्रोध (सिद्धार्थ महर्जन) पछि भिक्षु मैत्रेय शाक्यपुत्र (अवधेश त्रिपाठी) नियुक्त भएका छन् ।

आर्थिक चलखेल र राजनीतिक भर्तीकेन्द्रको रूपमा बदनाम निकायमा बौद्ध भिक्षुहरू देखापर्नु पनि शंकास्पद छ । यो विल्कुलै चिन्ताको विषय हो ।

प्रतिकृया दिनुहोस