टिप्पणीबुधवार, बैशाख २७, २०७४

जयन्ती होइन बुद्ध पूर्णिमा

वसन्त महर्जन

नेपालमा मनाइने 'बुद्धजयन्ती' ले गौतम बुद्धको जन्म बाहेकका घटनालाई बेवास्ता गरेको छ। 

नेपालमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाइन्छ। अन्यत्र वैशाख पूर्णिमा वा बुद्ध पूर्णिमा भनेर मनाइए पनि नेपालले त्यसलाई 'बुद्धजयन्ती' भनेको छ। उहिले यो कुन रूपमा मनाइन्थ्यो थाहा पाइन्न, तर नाम 'स्वांया पुन्हि' भएको किटान गर्न सकिन्छ।

काठमाडौंको नेवार समाजमा वैशाख पूर्णिमालाई हिजोआज पनि स्वांया पुन्हि भनिन्छ। 

कुनै बेला टुटेको गौतम बुद्धको सन्दर्भमा उत्सव मनाउने परम्परा राणाकालमा धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले जोडेका थिए। त्यसबेला 'वैशाख पूर्णिमा' र 'स्वांया पुन्हि' शब्द प्रयोग भएको थियो। यसबाट बुझिन्छ, प्राचीनकाल र बौद्ध धर्मको पुनर्जागरणकालमा 'बुद्धजयन्ती' भनिएन।

नेपालमा कहिलेदेखि सामूहिक रूपमा वैशाख पूर्णिमा मनाउन थालियो भन्ने जानकारी धर्मादित्य धर्माचार्यद्वारा सम्पादित/प्रकाशित बुद्ध धर्म पत्रिकाले दिन्छ।

त्यस पत्रिकाको दोस्रो अंक (१९२६) को लेखमा 'बुद्ध संवत् २४७० को पूर्णिमा' मा मनाउने अपेक्षा गर्दै लेखिएको थियो– 'दुःखको कुरा, नेपाल राज्य जहाँ कपिलवस्तु नगर अवस्थित छ, भविष्यमा भगवान बुद्ध हुने बोधिसत्व जन्मेको लुम्बिनीजस्तो पुण्यभूमि छ र लाखौं बौद्ध छन्। र पनि, बुद्धको उत्सव मनाइँदैन। त्यसकारण वैशाख पूर्णिमादेखि महीना दिनसम्म भगवानको उपयुक्त आदरसत्कार र पूजा गर्नुपर्‍यो। सकिन्न भने वैशाख पूर्णिमाका दिन मात्र भए पनि भगवानको नाममा नेपालका मूल ठाउँहरू मञ्जुपत्तन, अशोकपत्तन लुम्बिनीमा गर्नुपर्छ। लुम्बिनीमा त नगरी हुन्न किनभने त्यहाँ भगवान बुद्ध हुने सिद्धार्थ राजकुमार जन्म भएका थिए। यो ठाउँ हाम्रो धर्मको मूल ठाउँ हो।'

त्यसको तीन वर्षपछि धर्मादित्यकै सम्पादनमा कलकत्ताको महाबोधि सोसाइटी कलेज स्क्वायरबाट प्रकाशित बुद्धिस्ट इण्डिया (१९२८ जून) अंग्रेजी त्रैमासिकको समाचारमा नेपालमा तेस्रो पल्ट वैशाख पूर्णिमा मनाएको उल्लेख भएअनुसार १९२६ मा पहिलो पटक नेपालमा वैशाख पूर्णिमा उत्सव मनाएको सिद्ध हुन्छ।

गौतम बुद्धसँग सम्बन्धित महत्वपूर्ण घटनाहरू जन्म (इ.पू. ४८३, लुम्बिनी), बुद्धत्व लाभ (इ.पू. ४२८, बोधगया) र महापरिनिर्वाण (इ.पू. ४८३, कुशीनगर) वैशाख पूर्णिमाकै दिन परेका कारण यस दिनलाई 'त्रिसंयोग' पनि भनिन्छ र बौद्धहरू बडो श्रद्धासाथ बुद्धको स्मरण र धर्मोपदेश मनन् गर्दै उत्सव मनाउँछन्।

अझ आदर र गौरवका लागि 'बुद्ध पूर्णिमा' पनि भनिने यस दिनको उत्सव कस्तो हुने भन्ने निश्चित मापदण्ड नभएको हुँदा संसारका बौद्धहरू आफ्नै संस्कृति–परम्परा अनुरूप गर्छन्।

नेपालमा मनाइने बुद्धजयन्तीले बुद्धको जन्म सन्दर्भको मात्र संकेत गर्छ। यसमा गौतम बुद्धको जन्म बाहेकका घटनाहरूमा ध्यान दिनुपर्दैन भन्ने साँघुरो सोचले काम बिगारेको छ। आजभोलि यही सोचलाई जोड दिने गरी यस दिनलाई 'लुम्बिनी दिवस' भन्नुपर्छ भन्ने अविवेकी आवाज पनि उठ्न थालेको सुनिन्छ।

लुम्बिनीमा जन्मेका सिद्धार्थले बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएर शुरु गरेको (धर्मचक्र प्रवर्तन) बौद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ।

आफू अर्कै धर्मावलम्बी भए पनि बुद्ध र बौद्ध धर्म मन पराउने र कुनै धर्ममा खासै चासो नराख्नेहरू पनि बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने ठान्दछन्।

यसरी यो संसारकै एउटा साझा दर्शन भएको छ। विश्वले यसरी बुद्ध र बुद्धका उपदेशहरूलाई अंगीकार गरिरहेको अवस्थामा नेपालले भने बुद्धलाई सानो घेरामा राख्नु ताज्जुबको विषय हो।

नेपालले वैशाख पूर्णिमालाई बुद्धको जन्म वा लुम्बिनीमा मात्र सीमित गर्ने हो भने भोलि भारतले यस दिनलाई बुद्धत्व प्राप्ति वा बोधगया र महापरिनिर्वाण वा कुशीनगरसँग मात्र सम्बन्धित गर्‍यो भने संकीर्णताको नमूना हुनसक्छ।

यस्तो संकीर्णता र क्षेत्रीयतावाद हावी भयो भने बाँकी विश्वले बुद्ध र बौद्ध धर्मलाई कुन रूपमा लेला? बुद्ध र बौद्ध धर्मको नामबाट नेपालले पर्यटनलगायतका क्षेत्रमा फाइदा लिन चाहेको केही दशकयता सरकारी स्तरबाट भइरहेका गतिविधिले बुझाउँछ, तर साँघुरो सोचबाट फराकिलो फाइदा लिन सकिने कुरा हुँदैन।

यत्तिऔं र उत्तिऔं 'बुद्धजयन्ती' नभनी बुद्धको जन्म सालबाट गणना हुनुपर्छ भन्नेहरू पनि नभएका हैनन्। यसवर्ष २५६०औं बुद्धजयन्ती भनिंदैछ, तर यसमा बुद्ध बाँचेको ८० वर्ष थपेर '२६४०औं बुद्धजयन्ती' भनिनुपर्ने उनीहरूको भनाइ छ।

तर, यो न ऐतिहासिक कालगणनासँग मिल्छ न त मूलभूत बौद्ध मूल्य र मान्यतासँग। घटनाहरूको कालगणना महापरिनिर्वाणभन्दा यति वर्षअघि वा पछि भनेर गरेको पाइन्छ। भारत, श्रीलंकालगायतको इतिहासका तिथिमितिहरू यही पद्धतिबाट निर्धारित छ।

इतिहास र पुरातत्वका अध्येताहरू बुद्धको महापरिनिर्वाण इ.पू. ४८३ भएको मान्छन् भने श्रीलंकाको बौद्ध परम्पराले ५४३ लाई। यसमा ६० वर्षको फरक पर्न गयो। यही मतभिन्नताका कारण बुद्ध संवत् नै प्रचलनमा रहेन।

प्रतिकृया दिनुहोस