काठमाडौंको उदासीनता
१२ वैशाख २०७२ को महाभूकम्प पछि नेपालले भोगेको कहालिलाग्दो काल दार्जीलिङवासी हरिकृष्ण प्रधानले यसरी सम्झे, ‘नेपाल टि.भी.मा समाचार आइबस्थ्यो, खानेबेलामा घाँटीमै खाना अड्की बस्थ्यो ।’ दार्जीलिङवासीहरूको नेपालप्रतिको अपार माया दर्शाउन प्रधानको अभिव्यक्ति काफी छ ।
आफ्नै मुलुक भारतले लगाएको नाकाबन्दीको चोट त नेपालमा थियो तर पीडा दुई वर्षपछि समेत यहाँ देखिन्थ्यो । बङ्गाल सरकारको बन्दको रापमा पोलिंदै गर्दा उनीहरूलाई पनि नेपालको माया चाहिएको थियो । सनफ्लावर होटलका कर्मचारी मिलन गुरुङ भन्छन्, “हामीलाई दुखेको बेला पारिबाट कसैले कठै ! भनिदिंदा पनि सन्चो भएझैं लाग्छ ।”
मोबाइलको स्क्रिनमा नेपालका प्रमुख पत्रिका डाउनलोड गरेर पढ्ने मिलन एक्ला दार्जीलिङे होइनन् । नेपाली टेलिभिजनका हास्य कार्यक्रमहरू त यहाँका घरघरमा हेरिन्छन् । बिग बजारकी रेस्टुरेन्ट व्यवसायी निर्मला प्रधान आफ्नो पछिल्लो काठमाडौं यात्रा सम्झँदै भन्छिन्, “६ महीना अघि मात्र गएर नक्शा (फोटो) खिचेको धरहरा त डल्लै ढलेछ । उभिएर हेरिरहें, मेरो त आँशु झर्यो हो !”
तर गोर्खाल्याण्डको आन्दोलनका बारेमा यसपटक नेपालको राजनीतिक, बौद्धिक र सार्वजनिक तप्कामा यसअघि जस्तो चर्चा हुन सकेन । सरकार त यसअघि झैं मौन नै रह्यो भने दार्जीलिङमाथिको दमन काठमाडौंमा बेलावखत उर्लने राष्ट्रवादका लागि समेत विषय बनेन । सञ्चारमाध्यम पनि समाचारमा सीमित देखिए, त्यो पनि ‘लो–प्रोफाइल’ मा रहेर । मेचीपारिको पहाडमा स्वभाषीहरूले भोगेको पीडामा वारि मर्माहत देखिएन ।
यसमा मूलतः नेपालभित्रको त्यो आम मानसिकताले काम गरेको हुनसक्छ– जसमा चौहद्दीभित्रको मामिलालाई प्राथमिकता दिनकै लागि सीमापारका नेपाली सम्बन्ध नजरअन्दाज भए/गरिए । दशक लामो संक्रमणकालको उत्कर्षमा पुग्दै गर्दा नेपाल आफैं राजनीतिक रुपमा सम्हालिने अन्तिम प्रयासमा थियो ।
तीन–तीन पटकको मधेश आन्दोलन र त्यसमै टेकेर नयाँदिल्लीले यहाँको आन्तरिक राजनीतिमा व्यापक तुल्याएको हस्तक्षेप– नाकाबन्दीसम्म पुगेका कारण पनि भारतीय भूगोल भित्र नेपालीभाषीहरूको आन्दोलनबाट आफूलाई टाढै राख्नु उचित ठान्यो, नेपालले ।
संविधानमा असन्तुष्ट हुँदै भारतले एकाएक नाकाबन्दी लगाएपछि– मधेशको असन्तुष्टिबारे काठमाडौंको राजनीतिक, बौद्धिक र सञ्चारजगतमा बनेको ‘नेपालको यो दक्षिणी समथर कुनै पनि बेला काश्मिरको बाटोमा जान सक्छ’ भन्ने बुझाइले पनि दार्जीलिङ मामिलामा नेपाली ‘पोलिटी’ लाई ‘ब्याकफूट’मै रहन प्रेरित गर्यो । जबकि यो मनोविज्ञान विल्कुलै गलत थियो, छ ।
किनभने मधेश र काश्मिरबीचको जमिनी यथार्थ विल्कुलै फरक छ भने मधेश र दार्जीलिङको असन्तुष्टिमा पनि व्यापक भिन्नता छ । मधेशमा देखिएको असन्तुष्टि नेपालको केन्द्रीय राज्यसत्ता भित्र आफ्नो ‘स्पेस’ बढाउने हुटहुटी हो भने काश्मिर भारत बाहिरको हावाबाट आक्रान्त छ । मधेश नेपाली राज्यसत्तामा पहाडसँग बराबरीको हिस्सा खोजिरहेको छ भने दार्जीलिङ भारतको २९ मध्येको एउटा राज्यसँग आफ्नो भिन्नता स्थापित गर्ने कोशिशमा छ ।
यहींनेर नेपाली पत्रकारिता र बौद्धिक जगतको अलमल देखियो । बोल्दा बिटुलो हुने डरका कारण भावनात्मक सहानुभूतिसम्म पनि देखाइएन ।
काठमाडौंको पछिल्लो व्यवहारले देखायो– दार्जीलिङले अब आफ्नो लडाईंमा नेपालबाट राजनीतिक रूपमा धेरै आश गर्न सक्दैन । भारतीय गोर्खाकै परिचयको बलमा उसले आफैं आफ्नो दिशा तय गर्नुपर्नेछ । यद्यपि यो शुरू पनि भइसकेको छ ।
भारतीय नागरिककै हैसियतमा नेपालीपन र भाषा जोगाउनु नै आजको दार्जीलिङको वास्तविकता बनेको छ । स्वभाषी र इतिहासका साझेदारका रूपमा नेपालीले गोर्खाल्याण्डको लडाइँमा अनावश्यक हस्तक्षेप गर्दा कुरा बिग्रन्छ भन्ने डर दार्जीलिङमा बढ्दो छ ।
राजनीतिक आन्दोलनले उँचाइ पाउँदा नेपालसँगको साइनो पातलै रहोस् भन्ने चाहना दार्जीलिङवासीमा पनि छ । घाउ दुःखेको बेला माया त चाहन्छन् तर नेपालकै कारण आफूहरूको पहिचान ‘माइग्रेन्ट’ मा नखुम्चिओस् भन्ने सजगता पनि छ । घरको आन्तरिक मामिलामा हस्तक्षेप नचाहने तर दुःख पर्दा माइतीको सहानुभूति खोज्ने विवाहित छोरीको मनस्थिति जस्तोमा छन्, दार्जीलिङवासी ।
भावनात्मक रूपमा मजबूत र राजनीतिक तटस्थतामा नै नेपाली र दार्जीलिङेको सम्बन्धको सौन्दर्य खुल्न सक्छ । समयले अरू साइनो फिका पार्दै गए पनि मनको साइनो नमेटियोस् भन्ने त हुन्छ नै !
सम्बन्धित समाचार
स्वाभिमानको लडाईंले एक्लिएको दार्जीलिङ
दार्जीलिङ बन्दमा सिक्किम थला पर्छ
गोर्खा एक जीवनशैली