गोर्खा एक जीवनशैली
‘म गोर्खा हुँ । यही माटोमा जन्मिएँ र यहीं विलीन हुनेछु’, भन्दैथिए बिग बजारका हिमांशु गर्ग । बङ्गाल सरकारले गोर्खा भन्ने जात छैन भन्ने गरेको दार्जीलिङवासीलाई मन पर्दैन । दार्जीलिङमा बस्ने जो कोही हुन्, प्रायःको भनाइ हुन्छ– हामी गोर्खा ।
बेलायती उपनिवेशले ‘गोर्खा’ शब्दलाई लिएर ज्ञानको ‘हाइरार्की’ मात्र सिर्जना गरेन बरु यसको ‘पोजिसनिङ’ र कामको पनि स्तर निर्धारण गर्यो । बेलायतीहरू भारतबाट गए पनि त्यो बुझाइ स्वतन्त्र भारतबाट हटेन ।
उपनिवेशकालमा बेलायतीहरूले व्याख्या गरेको गोर्खा शब्दको ‘हेजिमोनिक’ परिभाषा समयक्रममा गोर्खाहरूबाटै परिमार्जित र पुनः परिभाषित हुँदै गएको छ । ब्रिटिश राजसँग भिडेका गोर्खा जातिले गोर्खाल्याण्डको आन्दोलनमार्फत पहिचान र भूमिका खोजिरहेका हुन् ।
पहाडमा बस्ने र अंग्रेजका लागि लड्नेहरूले पाएको गोर्खा परिचय धेरै फराकिलो भएर भारतभर छरिएका गोर्खाहरूको जीवनपद्धतिको रूपमा विस्तारित भइसकेको छ ।
भारतीय गोर्खाहरूको परिचयबारे निकै कम चर्चा भएको मान्छन्, लेखक एस.सी. सिन्हा । उनको सम्पादनको पुस्तक इन्डियन नेप्लीज मा नेपालीभाषी भारतीयहरूले नागरिकका रूपमा ‘सेन्स अफ विलङ्गिङ्ग’ को पीडा भोग्नुपरेको बृहत् चर्चा छ । तर, दिल्लीको सोच यति जड छ कि आफूलाई हात्ती ठान्ने ऊ त्यत्तिका संख्याका मुसलमानलाई पनि ‘माइनोरिटी’ को दर्जामा लिंदैन । राजनीतिकर्मी अमर लामा भन्छन्, “हामीलाई त झन भुसुना नै ठानिरहेको छ ।”
इन्डियन नेप्लीज पुस्तककै ‘रिथिंकिंग गोर्खा आइडेन्टिटी’ शीर्षक लेखमा विधान गोलेले ‘गोर्खा परिचय– पहाडका केही जातिमा सीमित नरही दक्षिणएशियाभर छरिएका समान संस्कार र जीवनशैली भएका मानिसहरूको साउथ एशिएन आइडेन्टिटी हुँदै गएको’ उल्लेख गरेका छन् ।
हुन पनि दार्जीलिङको व्यवहारमा यही कुरा पाइन्छ । मीठो मुस्कान र नम्र बोलीका धनी दार्जीलिङवासीका घर–कौसी प्रायः फूल नझुलेका हुन्नन् । आदिकवि भानुभक्त आचार्यको पूजा हुने यो ठाउँमा बिहारबाट आएका रामानन्द गुप्ता नेपाली साहित्यका अनुरागी हुन् ।
मानिसहरू दिवाली, क्रिसमस, ल्होसार, धनतेरस, दशैं, होली समान रूपमा मनाउँछन् । पर्वतेको खैंजडी, राईको ढोल, लिम्बूको च्याम्ब्रुङ, तामाङको डम्फू मिसिएको अर्केष्ट्रा सुन्न पाइन्छ ।
सबै खालका संस्कार र संस्कृतिको ‘मेल्टिंग प्लेस’ मान्न सकिन्छ, दार्जीलिङलाई । ‘हामी उस्तै तरिकाले जिउँछौं’ रेस्टुरेन्ट व्यवसायी निर्मला प्रधानको यो भनाइ काफी छ, दार्जीलिङवासीको जीवनशैली बुझाउन । प्रधान भन्छिन्, “न धेरै पैसा भएकोमा आडम्बर छ, न त थोरै भएकोमा हीनताबोध नै ।” जिउने शैली, दैनन्दिनको व्यवहार र पाहुनालाई स्वागत गर्ने मिजासमा रहेको समानता– यसैलाई उनीहरू ‘गोर्खा वे अफ लाइफ’ भन्न मनपराउँछन् ।
दार्जीलिङमाथि गोर्खा नामकै कारण अन्याय र अपमान भएको अनुभव, यहाँका अधिकांश बासिन्दामा छ । तर उपचार पनि यसकै नाममा हुनुपर्नेमा उनीहरू एकमत छन् ।
सम्बन्धित समाचार
स्वाभिमानको लडाईंले एक्लिएको दार्जीलिङ
दार्जीलिङ बन्दमा सिक्किम थला पर्छ
काठमाडौंको उदासीनता