‘थवाङकै बासिन्दा भएर मर्ने चाहना छ’
डेढ दशकदेखि नेपाल बसेर निःशुल्क स्वास्थ्य सेवा दिंदै आएका डा. रियुचिकी इसिदाले आफ्नै खर्चमा सामुदायिक विद्यालयका तीन विद्यार्थीलाई चिकित्साशास्त्र पढाएका छन्। १५ शय्याको अस्पताल बनाउँदै छन्।
“मलाई थवाङकै बासिन्दा भएर मर्ने चाहना छ।”
डा. रियुचिकी इसिदाले आफ्नो प्रस्तुतिको शुरूआत यसो भन्दै गरे।
अघिल्लो साता उनी पाटनमा अनुभव सुनाउँदै थिए। यी ७६ वर्षीय जापानी नागरिक नेपाललाई दोस्रो घर भन्छन् र बन्न चाहन्छन्, नेपाली नागरिक। थोरै थोरै नेपाली बोल्ने उनको अंग्रेजी पनि उति प्रस्ट सुनिंदैनथ्यो। तर, भावनामा नेपालप्रतिको माया र लगाव निकै गाढा थियो। त्यसैले त नेपालको ग्रामीण भेग अझै स्वास्थ्य सेवाको पहुँचमा नरहेकोमा उनी दुःखी देखिन्थे। अझ बिझाउने कुरा थियो, आफूले २० वर्षको उमेरमा देखेको यही स्थिति ७६ वर्षको उमेरमा आइपुग्दा पनि नफेरिनु।
अहिले उनी रोल्पाको थवाङलाई कर्मथलो बनाइरहेका छन्। जापानको सुखसुविधा छाडेर वर्षौंदेखि जलजला अस्पताल तथा अनुसन्धान केन्द्रमा खटिनु पछाडिको ध्येय एउटै छ, गाउँ गाउँसम्म स्वास्थ्य सेवा पुर्याउने।
विसं २०२५ ताका इसिदा चिकित्साशास्त्रका विद्यार्थी थिए। जीवन कसरी अघि बढ्छ, स्पष्ट योजना थिएन। त्यही मेसोमा क्षयरोगको खोप लगाउने कार्यक्रमका लागि नेपाल आइपुगेका थिए। पोखराबाट काली नदीको किनारैकिनार बेनी, बाग्लुङ हुँदै तानसेनसम्म हिंडे।
पश्चिमी पहाडका विभिन्न जिल्ला छिचोल्दै जुम्ला पुगे। उनले देख्दै आएको जापानको भन्दा अर्कै थियो, यहाँको स्थिति। मानिस उस्तै, दुःख फरक थिए। रोग थियो, अस्पताल थिएनन्। यी कुरा मनमा यसरी गढेछन् कि मनमनै वाचा गरे, कुनै वेला नेपालमै बसेर सेवा गर्ने।
पढाइ सकिएपछि इसिदाले जापानकै एक अस्पतालको अर्थोपेडिक विभागमा काम थाले। नेपाल सम्झिरहन्थे, आफ्नो वाचाले वेलावेला पोलिरहन्थ्यो तर आउन फुर्सद पाउँदैनथे। तीन सन्तानका पिता उनलाई जागीर चटक्कै छाडिहाल्न पनि सहज थिएन। अवकाश पाउन उमेर ५८ वर्ष पुग्नुपर्थ्यो। अन्तत: त्यो दिन आइपुग्यो।
३७ वर्षपछि २०६२ सालमा उनले दोस्रो पटक नेपाल टेके। रुकुमको चौरजहारीदेखि रोल्पाको घोरनेटीसम्म पैदल यात्रा गर्दै विभिन्न गाउँमा स्वास्थ्य सेवा दिए। ग्रामीण भेग डुल्नु उनको रुचि थियो। सँगसँगै परम्परागत उपचार पद्धतिबारे अनुसन्धान पनि गर्नु थियो। यसैको तारतम्य मिलाउन जापान फर्किए।
अनि २०६४ सालमा फेरि नेपाल आए। जुम्लादेखि रुकुम, रोल्पा, बाग्लुङसम्म ‘प्राइमरी ट्रमा केयर रिसर्च क्याराभान’ अभियान चलाए । स्वास्थ्य सेवालाई शहर केन्द्रित बनाउन नहुने मान्यता राख्ने उनी अभियान मार्फत ग्रामीण स्वास्थ्यस्थिति, समस्या र सरकारी रवैया बुझ्न चाहन्थे। त्यसैले १२ वटा अनुसन्धान शिविर चलाए।
अध्ययन निकै उत्साहप्रद रह्यो। परम्परागत उपचार पद्धतिबारे पश्चिमा संसारले चित्रण गरेभन्दा फरक निष्कर्ष पाइरहेका थिए उनी। त्यही क्रममा २०६७ सालमा थवाङ पुगे।
दशक लामाे सशस्त्र द्वन्द्व सकिएको चार वर्ष मात्र भएको थियो। स्वास्थ्य चौकी सेनाको आक्रमणले ध्वस्त थियो। भग्नावशेषमै त्यसलाई सानो स्वरूपमा भर्खरै ब्युँताइएको थियो जहाँ एक स्वास्थ्यकर्मी मात्र कार्यरत थिए। यो दृश्यले इसिदाको मर्म छोयो। स्थानीय बासिन्दाको सरल जीवनशैलीले पनि लोभ्यायो। अनि थप अध्ययन त्यहींबाट अघि बढाउने निष्कर्षमा पुगे।
उनले २०६८ सालदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत सेन्टर फर नेपाल एन्ड एशियन स्टडीज (सिनास)को समन्वयमा रोल्पा–रुकुमको स्वास्थ्यस्थितिबारे प्राज्ञिक अनुसन्धान गरे । अनुसन्धान ग्रामीण इलाकाको यात्रा र परम्परागत उपचारकहरूमाझको सर्वेक्षणमा आधारित थियो जसमा आधुनिक चिकित्सा पद्धति अपनाउने चिकित्सक समेत संलग्न थिए।
यसबाट इसिदाले आधुनिक चिकित्साको पहुँचमा नरहेका धेरै ग्रामीण जनताको स्वास्थ्य परम्परागत औषधि र उपचार पद्धतिबाटै धानिएको फेला पारे। ज्यानै जाने तथा अङ्गभङ्ग हुने अवस्थाका मानिसलाई समेत परम्परागत उपचारले बचाएको पाइएको उनी बताउँछन्।
हिमाली विषम वातावरणसँग जुधेर बन्ने भएकाले परम्परागत औषधिलाई अमूल्य सांस्कृतिक सम्पदा मान्छन्, इसिदा। तर, पछिल्लो समय विदेशीको स्वार्थ र लगानीमा आधुनिक उपचार पद्धति मात्र लादिंदा रैथाने पद्धति बेवास्तामा परेको महसूस गरेका छन्।
“दुर्गम ठाउँका मानिसले पुस्तौंदेखिको ज्ञान र विवेकबाट सिक्दै उपचार पद्धतिमा आत्मनिर्भरता विकास गर्नु आफैैंमा महत्त्वपूर्ण कुरा हो,” उनी भन्छन्, “तर, पछिल्लो समय पश्चिमा मुलुकले सहयोग गरेका अस्पतालमा यस्ता सत्यलाई बेवास्ता गरिएको छ।” गाउँघरमा हातखुट्टा भाँचिंदा काम्रो बाँध्ने, ढाड मर्किंदा तेल लगाउने, धामी-झाँक्री प्रथा, हिमाली जडीबुटी सेवन गराउने जस्ता परम्परागत विधि प्रचलनमा छन्।
नेपाल जस्तो स्रोतसाधन कमजोर भएको देशमा परम्परागत र आधुनिक दुवै पद्धतिलाई समायोजन गर्दा गाउँ गाउँसम्म स्वास्थ्य सेवा व्यवस्थित गर्न सकिने इसिदा ठान्छन्। थवाङमा समेत परम्परागत पद्धति अपनाएकाहरूसँगै सहकार्य गरिरहेका छन् उनी। भन्छन्, “मलाई परम्परागत चिकित्सा पद्धतिमा विश्वास छ, आधुनिक र परम्परागत चिकित्सा पद्धतिको समायोजन गर्नु राम्रो हुन्छ।”
इसिदालाई नेपालमै बसिरहन खासगरी तीन कुराले प्रेरित गरेका छन्। पहिलो, थवाङकी स्वास्थ्य स्वयंसेविका लाली। दोस्रो, उनकै पिताको सेवाभावना। अनि, उनी आफैंले वर्षौंअघि ग्रामीण नेपालीहरूसँग गरेको फर्कने वाचा।
लाली थवाङकै स्वास्थ्य चौकीमा काम गर्थिन्। २०५८ मा सेनाले थवाङमा आक्रमण गर्दा मारिने पहिलो व्यक्ति उनै थिइन्। घटनामा ३४ जनाको ज्यान गएको थियो। इसिदाले सुने अनुसार लालीलाई सैनिकले बलात्कारपछि हत्या गरेर नदी किनारमा फालेका थिए। उनले लालीलाई देखेनन् तर विकट ठाउँकी एक्ली स्वास्थ्य स्वयंसेविकालाई भएको यस्तो अन्यायले मन खिन्न बनाइदियो। भन्छन्, “मलाई लालीकै आत्माले थवाङमा काम गर्न बोलाएको होला।”
इसिदाका बुबाको नाम कान्किची ताकाहासी हो। सन् १९१० मा जन्मिएका ताकाहासी जापान-चीन युद्ध हुँदा जापानी सेनाका चिकित्सक थिए। त्यही क्रममा उनी चिनियाँ जनमुक्ति सेनाको कब्जामा परे।
जापानले युद्ध हारेपछि छुटेका ताकाहासीले आर्थिक रूपमा पिछडिएकाहरू बसोबास गर्ने ठाउँमा सानो क्लिनिक खोलेर निःशुल्क सेवा दिन थाले। “जीवनको मुख्य अंश त जापानमा जागीर गरेरै बिताएँ, अब बुबाले जसरी नै रिटायर्ड जीवन मानव सेवामा खर्चौं भन्ने लागेको छ,” इसिदा भन्छन्।
उनले थवाङमा निःशुल्क सेवा गरिरहेका मात्र छैनन्, अस्पताल बनाउन लगानी समेत गरिरहेका छन्। उनकै सक्रियतामा शुरू भएको जलजला अस्पताल तथा अनुसन्धान केन्द्रलाई थवाङ गाउँपालिका अन्तर्गत चलाउने गरी १५ शय्याको अस्पतालमा बदलिंदै छ। “यो अस्पताल बनाएर यहीं सेवा गरिरहनु मेरो अन्तिम उद्देश्य हो,” उनी भन्छन्।
अस्पताल निर्माण र गरीब बिरामीको उपचारमा उनले जापानबाट सेवानिवृत्ति बापत आउने भत्ता र ब्यांकमा बचत राखेको रकम लगानी गरिरहेका छन्। केही वर्षअघिसम्म जापान जाँदा आवधिक काम गर्थे, त्यसबाट आएको पैसा नेपाल ल्याउँथे।
पछिल्ला वर्ष जापान बसाइ वर्षमा एक-दुई महीना मात्र हुने भएकाले आम्दानी धेरै छैन। तर, परिवार, नातागोता र हितैषीको सहयोगले सेवाकर्ममा भरथेग मिलिरहेको छ। आफूलाई दानीभन्दा पनि समानता र ऐक्यबद्धताको सोच भएकाहरूले सहयोग गर्दै आएको उनी बताउँछन्।
धनी राष्ट्रका धर्मप्रचारक अस्पतालबाट आउने उपचार सहयोगलाई भने इसिदा ठीक मान्दैनन्। “यस्तो सहयोगले धनी राष्ट्रहरूप्रति परनिर्भर बनाइदिन्छ,” उनी भन्छन्, “नेपालको स्वास्थ्य पद्धतिमा आत्मनिर्भरताको विकासलाई बाधा पुर्याउँछ।”
इसिदासँग उपचार गराउन अहिले छिमेकी पुथा उत्तरगङ्गा, भूमे, मादी र परिवर्तन गाउँपालिकासम्मका बिरामी जलजला अस्पताल आउँछन्। उनी आफैं पनि उपचार सामग्री बोकेर विभिन्न ठाउँ पुग्छन्। ताकि खर्च अभावमा उपचार नपाएर गाउँमै छटपटिएकाहरूलाई सहयोग गर्न पाइयोस्।
उनले थवाङको सामुदायिक विद्यालयमा पढेका तीन विद्यार्थीलाई चिकित्साशास्त्र पढाएका छन्। तीमध्ये एक जनाले चीनबाट एमबीबीएस र अर्काले दाङबाट आयुर्वेदमा हेल्थ असिस्टेन्ट (एचए) गरेका छन्। तेस्रो विद्यार्थी पोखरामा दन्तचिकित्सा पढ्दै छन्। यी विद्यार्थीले ग्रामीण भेगमा स्वास्थ्य सेवा दिने उनको आशा छ।
डेढ दशकयता नेपाल र नेपालीको सेवालाई नै आफ्नो कर्म बनाएका इसिदा यहाँ कामदार भिसामा बस्दै आएका छन्। भिसा नवीकरणमा हरेक वर्ष प्रशासनिक झन्झट भोगिरहनुपर्छ। उनको चाहना अब थवाङकै स्थायी बासिन्दा बन्न पाइयोस् भन्ने छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म अनुरोध पुर्याइसके। भन्छन्, “अब त नागरिकता पाउँछु कि भन्ने आशा छ।”
थवाङमा निर्माणाधीन १५ शय्याको अस्पताल नजिकै लालीको स्मृतिमा पार्क बनाइएको छ। इसिदा आफ्नो चिहान पनि त्यहीं बनोस् भन्ने चाहन्छन्। उनको इच्छालाई परिवारले स्वीकृति दिइसकेको छ। जापानमै बस्ने पत्नीले पतिको निर्णयलाई सम्मान गरेकी छन्।
त्यसैले त इसिदा ढुक्कले यहाँ बस्न पाएका छन्। उनले आफ्नो प्रस्तुतिको अन्त्य पनि यसै भन्दै गरे, “थवाङमा शहीदहरू सुतिरहेको पहाडतिरै सधैंका लागि सुत्न पाए म खुशी हुन्थें।”