कर्णेल क्रस: ४० देश चहारे, नेपालमा घरजम गरे
कूटनीतिक चाल र बहादुरीपूर्ण किस्साहरूले ‘ब्रेभ प्रिन्स’ उपनाम पाएका बेलायती सेनाका कर्णेल जेपी क्रसले संसार घुमे पनि नेपाललाई नै मन पराए, यहीं घरजम गरे।
पोखरा नयाँ गाउँको ‘धम्पु निवास’। फराकिलो आँगन र सानो मन्दिर भएको एउटा चिटिक्क परेको घर। त्यो घरमा भेटिन्छन्- बेलायती सेनाका पूर्व कर्णेल जोन फिलिप (जेपी) क्रस।
९८ वर्ष पुगेका क्रसको शिरमा सधैंजसो नेपाली ढाका टोपी हुन्छ। उमेरका कारण लौरो टेक्दै हिंड्छन्। ‘लुका’ नामको कुकुर क्रसको अघिपछि-अघिपछि दौडिइरहन्छ।
क्रसकी नातिनीको कुकुर हो, लुका। नातिनी विदेश गएपछि भने लुका क्रसको साथी भएको छ। क्रसको दैनिकी नै लुकासँग खेल्नु, किताब लेख्नु, पढ्नु, पनातिसँग समय बिताउनु हो। अर्को छुट्दै नछुट्ने काम हो- दूधको चिया पिउनु। दूधको चिया पिउन सिकेको उनले नेपाल आएपछि नै हो। त्यसैले पनि यो उनका लागि विशेष खान्की हो।
विसं १९८२ मा जन्मिएका क्रस १७ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए, बेलायत सरकारको बाध्यकारी नियमका कारण। त्यति वेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो। बेलायत र जर्मनीबीच युद्ध भइरहेको थियो। यही कारण १७ वर्ष पुगेका पुरुष सेनामा अनिवार्य भर्ती हुनुपर्ने नियम थियो।
सेनामा भर्ती हुनुनपरेको भए के बन्थे हाेलान?
क्रस हास्दै अंग्रेजी लवजमा नेपालीमा जवाफ दिन्छन्, “दमकल, रेलको ड्राइभर। खै, केटाकेटीको के थाहा र!”
वीर राजकुमार
युद्धमा खटिनुअघि क्रसले २० साताको आधारभूत सैन्य तालीम लिए। त्यसपछि उनलाई जापान विरुद्ध लड्न भारत पठाइयो। भारत त्यति वेला बेलायती उपनिवेशमा थियो।
एक महीना पानीजहाजको यात्रा तय गरेपछि उनी भारतको देहरादून पुगे। देहरादूनमा बेलायतले सैन्य तालीम केन्द्र सञ्चालन गरेको थियो। त्यही ठाउँमा उनले गोर्खा सैनिकसँग घुलमिल हुने मौका पाए। नेपाली भाषा सिके।
विश्वयुद्धपछि उनी भियतनामसम्म पुगे। फेरि देहरादून नै फर्किए। जम्मु काश्मीरतिर खटाइए। १४ अगस्ट १९४७ मा भारतबाट विभाजन भएर पाकिस्तान बनेको प्रसङ्गबारे ठट्टा गर्दै उनी भन्छन्, “राति भारतमा सुतेको बिहान आँखा खोल्दा त पाकिस्तानमा रहेछु.”
ब्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भएपछि क्रसको पल्टनलाई बर्मा हुँदै मलाया खटाइएको थियो। त्यहाँ उनले २० वर्ष बिताए। यो समयमा उनको सङ्गत गोर्खालीसँग नै भयो।
मलायामा हुँदा १० वर्ष त उनी जङ्गलमै बसे। कहिले पानीभित्र त कहिले महीनौं भोकभोकै। एक पटक त झण्डै शिर काटिनबाट जोगिए उनी। दुई पटक त उनले आफ्नो मृत्युको समाचार नै सुने रेडियोमा।
“जङ्गलमा दुःख थियो। २०२ दिनसम्म म र नौ जना केटा एक केजी खानेकुरा ६ दिनका लागि बाँडेर खाने गर्थ्यौं। वन्यजन्तुको डर त्यस्तै। कमान्डर भएपछि सिपाहीहरूको पनि चिन्ता। तर, १० वर्षमा कोही मरेनन्। सबै सकुशल फर्कियौं,” उनले भने।
एक पटक ब्रुनाईमा विद्रोहीले क्रसलाई घेरा हाले। क्रसको रेडियो कब्जा लिए। अनि भने, “वुइ आर गोइङ टु किल मिस्टर जेपी क्रस।” अर्थात्- हामी जेपी क्रसलाई मार्न गइरहेका छौं।
विद्रोहीको नाइके इभान थिए। उनले जेपी क्रसको घाँटीमा तरबार राखे। अनि आफ्नो हातमा कोरिएको धर्काहरू गन्न लगाए। क्रस सम्झिन्छन्, “१८ वटा धर्का थियो। त्यो भनेको उसको तरबारले १८ वटा टाउको छिनाइसकेको थियो। रिसले चुर इभानले मलाई ‘तेरो १९ औं किन नपार्ने?’ भन्यो।”
उनलाई निकै डर लागेको थियो। तर, डर लुकाए। अनि स्थानीय भाषामै इभानलाई आँखा जुधाएरै भनिदिए, “छिनाएकै राम्रो। तर, भोलि बिहान गरे कसो होला?”
इभानले तरबार तल झारे। क्रसलाई एउटा कोठामा लगियो। बेलुका कोही नभएको वेला इभानकी श्रीमतीले ढोका खोलिदिइन्। क्रस भागे। रातभर भागे। प्यास लाग्दा खोलाको पानी पिए। बिहानीपख उनी गोर्खा पल्टन पुगे।
दुश्मनलाई पछि पार्ने यही कूटनीतिक चालका लागि आज पनि उनको प्रशंसा हुन्छ। त्यति वेला उनको यस्तै बहादुरीपूर्ण किस्साका कारण बेलायती सेनामा ‘ब्रेभ प्रिन्स’ अर्थात् वीर राजकुमार भन्न थालियो।
बेलायती सेनामा उनको नाम आज पनि धेरैले सम्झिन्छन्। उनलाई पनि आफ्ना फौजीको नाम याद छ।
केही वर्षअघि हालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनले एक जना भेटेका थिए। तिनले आफ्नो पल्टन नम्बर २१२६ भएको बताए। क्रसले सोधे, “तपाईं धनबहादुर हो?”
क्रस आफूले १७ थरीका सेनासँग लडाइँ र तालीम गरे पनि गोर्खाली जस्तो कोही नभेटेको बताउँछन्। “एक जना गोर्खाली बराबर १० जना अरू मान्छे भन्छन्। म त पत्याउँछु,” उनी भन्छन्।
३९ वर्ष ८० दिन काम गरेर उनी बेलायती सेनाबाट सेवानिवृत्त भए। त्यति वेला उनी लेफ्टिनेन्ट कर्णेलका रूपमा ब्रिटिश क्याम्प पोखरामा कार्यरत थिए।
लडेनन् मात्र, भाषा पनि सिके
लडाइँ र सैन्य तालीमका क्रममा जेपी क्रसको ३७ वर्ष ३२४ दिन एशियामा बित्यो। लड्न, हतियार चलाउन बाहेक क्रम भाषामा पनि पोख्त भए। जहाँ पुगे, त्यहाँको भाषा सिके। लिपि सिके।
अंग्रेजी बाहेक उनी नेपाली, रोमन, उर्दू, क्यान्टोनिज, मलायालम, इबान, फ्रेन्च, हिन्दी, थाई, भियतनामी, तेमियार भाषामा पोख्त छन्। नेपालभित्र बोलिने गुरुङ र मगर समुदायको भाषा पनि फाट्टफुट्ट बोल्छन्। “भाषाहरूमा रुचि थियो। इतिहासमा पनि रुचि थियो। पढ्थें, तर सरकारले सैनिक बनाइदियो। सिकेको कुनै कुरा खेर जाँदैन,” उनी भन्छन्।
देहरादूनमा गोर्खा पल्टनको कमान्डरका रूपमा काम गर्नुपरेपछि उनले नेपाली भाषा सिकेका थिए। पछि त नेपाली भाषामा त्रिभुवन विश्वविद्यालयबाट स्नातक समेत गरे। त्रिभुवन विश्वविद्यालयकै नेपाल तथा एशियाली अध्ययन केन्द्र सिनासमा अनुसन्धाताका रूपमा पनि काम गरे।
जेपी क्रस पहिलो पटक २००३ सालमा तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरको निमन्त्रणामा नेपाल आएका थिए। “बेलायतबाट बर्सेनि दुई जना छोरा मान्छे मात्र नेपाल आउन पाइन्थ्यो। २००३ सालमा म र साथीको पालो आयो,” उनी सम्झिन्छन्।
क्रस र उनका साथी भारतको सिमानाबाट सात दिन हिंडेर काठमाडौं पुगेका थिए। त्यति वेलै क्रसलाई नेपालको सुन्दरताले लोभ्याएको थियो। दोस्रो पटक उनी विश्वयुद्ध सकिएपछि २०३३ सालमा भैरहवास्थित पक्लिहवाको बेलायत भर्ती डिपोमा प्रमुख भएर आए।
नेपालमा भेटेको परिवार
२०३२ सालमा लमजुङको दुरा डाँडाबाट बेलायती सेनामा भर्ती हुन बुद्धिमान दुरा तमु ‘धम्पु’ पनि पक्लिहवा पुगेका थिए। तर, आधा इन्च उचाइ कम भएपछि बुद्धिमान छनोट भएनन्।
त्यसपछि गाउँ नफर्किई डिपोमै एक जना हवल्दारको भान्सामा भाडा माझ्ने काम गरेर बसे। त्यसको एक वर्षपछि क्रस प्रमुख भएर आए। अनि बुद्धिमान क्रससँगै काम गर्न थाले। क्रसले बुद्धिमानलाई तलब नदिने तर खान, बस्न सहित लुगाफाटो बेहोर्ने र जमीन किनिदिने वाचा गरेका थिए।
क्याम्पमा बसेको केही समयमा नै क्रसको आँखामा समस्या देखियो। आँखा देख्न छोडे। उपचारपछि मात्रै आँखा देख्न थालेका थिए। त्यसबीचमा क्रसको सम्पूर्ण हेरचाह बुद्धिमानले नै गरेका थिए। दुःखमा साथ दिएकाले क्रस बुद्धिमानसँग नजिकिए।
एक दिन क्रसले बुद्धिमानको आमाबुवाबारे सोधे। बुद्धिमानले आफ्नो कोही नभएको बताए। त्यसपछि क्रसले नै बुद्धिमानलाई छोरा बनाउने प्रस्ताव गरे। “४७ वर्ष भयो छोरा भनेको, बानी भइसकेको छ। ऊ मेरो छोरा हो। म बुबा हो उसको। यो मेरो परिवार नै हो,” क्रस भन्छन्।
ब्रिटिश आर्मी बन्न नसकेका क्रसका धर्मछोरा बुद्धिमान दुराले आफ्नो गाउँको ठाडो भाका जगेर्ना गर्न थाले। उनी संस्कृतिकर्मीका रूपमा परिचित छन्।
त्यसो त एक झाँक्रीले क्रस र बुद्धिमानलाई कुनै समयमा एउटै आमाको कोखबाट जन्मिएको पनि बताएका थिए रे। “चामल हेरेर झाँक्रीले ४०० वर्षअघि क्रिश्चियनको देशमा हामी एउटै आमाको कोखमा थियौं भन्यो। बल्ल भेटेको रे! मलाई त विश्वास लाग्छ,” क्रस भन्छन्।
अहिले बेलायतमा उनको कोही छैन। परिवार भन्नु नेपालमा मात्र छ। छोरा, बुहारी, नातिनातिनी, पनाति। “बेलायत छाडेको नै ७३ वर्ष १० महीना २४ दिन भयो,” मिति सम्झन माहिर छन् उनी।
यतिसम्म नेपाली भइसके कि उनी अंग्रेजीभन्दा नेपालीमा बोल्न मन पराउँछन्। उखान-टुक्का नेपालीमा भन्छन्। लोकभाका सुर तानेर गाउँछन्।
नेपालमै परिवार भेटेपछि उनले स्थायी बसोबासका लागि सरकारसँग अनुमति मागेका थिए। तत्कालीन राजा वीरेन्द्रले विदेशी भए पनि जमीन र घर किन्न पाउने भनी लालमोहर जारी गरिदिएका थिए क्रसका नाममा। तर, माओवादी विद्रोह शुरू भएसँगै उनलाई लालमोहरको भर लागेन। उनले नागरिकता नै माग गरी मन्त्रालयमा आवेदन दिए।
नेपाली नागरिकता पाउनु सहज भने भएन। उनले आश गर्न पनि छोडेनन्। ढृढ थिए। अन्ततः नौ वर्षअघि २०७१ सालमा नेपाली नागरिकता पाए। “मैले ३२ वर्ष ६ महीना दुई दिनको पर्खाइपछि नेपाली नागरिकता पाएँ,” कोठामा जतन गरेर राखिएका पुराना सम्मानपत्र, उपहार, किताबसँगै नागरिकता हेर्दै क्रस भन्छन्।
बुढ्यौलीमा दैनिकी
सय वर्ष हाराहारीका क्रसलाई कुनै दीर्घरोग छैन। कहिलेकाहीं चाहिं आँखाले देख्दैन, कानले सुन्दैन। अरू ठीक छ। उनको मुहारमा हाँसो छुट्दैन।
कोरोना महामारीले निम्त्याएको बन्दाबन्दीअघिसम्म रोजिन्दा २० किलोमिटर हिंड्थे। बन्दाबन्दीपछि छोराले बाहिर नजानू भने। त्यसपछि भने घरको फन्को लगाएर ‘मर्निङ वाक’ गर्छन्। “मानसिक कसरत भयो भने बुढेसकाललाई टाढै पार्छु कि जस्तो लाग्छ,” उनी भन्छन्।
अहिले पनि हरेक दिन पढ्ने र लेख्ने गर्छन्। आफ्नो जागीरे जीवनका अनुभव, नेपालीको ब्रिटिश सेनाको यात्रा, दोस्रो विश्वयुद्धको वृत्तान्त गरी २१ भन्दा बढी पुस्तक लेखिसकेका छन्। गुर्खाज् एट वार, द फेम अफ द नेम, जङ्गल वारफेयर, इट ह्यापेन्स विथ गोर्खा लगायत उनले लेखेका किताब हुन्।
हरेक दिन बिहान ४ बजेर २० मिनेट जाँदा ब्युँझन्छन्। ओछ्यानको आडमै छ टेबल घडी। अलार्म बनाएर राखेका छन्। नाडीमा घडी बाँध्दैनन्। त्यसको पनि कथा छ।
सन् १९६२ तिर जङ्गलमा भोकभोकै हिंड्ने वेला जति घडी हेर्यो उति भोक लाग्ने हुन्थ्यो रे! समयको हेक्का राख्दा झन् भोक लाग्ने। खाना नपाइने समयमा निदाउँदा समेत भोकले गाह्रो बनाउँथ्यो। त्यसपछि हातमा घडी लगाएनन्। घडी नलगाउँदा पनि कहिल्यै धोका पाएनन्।
बिहान अलार्म बज्ने बित्तिकै क्रस दबाई खान्छन् र आँखामा जलबिन्दुको औषधि लगाउँछन्। त्यसपछि ‘मर्निङ वाक’ जान्छन्, लुकासँग खेल्छन्, पनातिसँग समय बिताउँछन्। इमेल हेर्छन्।
वेलाबखत ब्रिटिश आर्मीमा भर्ती हुन जाने नेपाली युवालाई कक्षा पनि दिन्छन्। निमन्त्रणा गरिएका जति कार्यक्रममा अतिथिका रूपमा पुग्छन्।
क्रसले बिहे गरेनन्। फौजी ज्यानको भर नहुने र केही भइहाले श्रीमतीले दुःख पाउन सक्ने सोचेर बिहे नगरेको उनी सुनाउँछन्। त्यसो त चार-पाँच पटक भने बिहे होला जस्तो पनि भएको रहेछ। “तर, छोरीमान्छेको चित्त बुझाउन गाह्रो हुन्छ,” उनको अनुभव छ।
क्रस अहिले नयाँ किताब प्रकाशनको तयारीमा छन्। त्यसैमा उनको समय बित्ने गरेको छ।
संसार चहारेका क्रस बेलायतमा पनि आनन्दको बाँच्न सक्थे। वा युरोपका सुविधासम्पन्न शरमा घरजम गर्न सक्थे। किन नेपाल नै रोजे?
बेलायती सेनाका पूर्व कर्णेल क्रस केहीबेर सोचमग्न भए। केही गने जस्तो गरे। नेपालले लोभ्याएको सुनाउँदै उही हसिलो मुहारमा बोले, “४० भन्दा बढी देश पुगें, तर तन, मन र धन नेपालमै छ। अब अन्तिम सास नेपालमा नै लिनु छ।”