बिर्सिइएका ‘पुतली बाजे’ जसले नेपाललाई नै घर बनाए
कलेजको पढाइ सकिएपछि शिक्षक बनेर नेपाल आएका कोलिन फिलिप स्मिथले पुतलीसँग रमाउँदा बेलायत बिर्से। यति वेला बुढ्यौलीसँगै थलिएका उनी नेपालीले पनि आफूलाई बिर्सेको महसूस गरिरहेका छन्।
गोरो वर्ण, सेतो दारी, साधारण सर्ट र पाइन्ट लगाउने कोलिनको टाउकोमा ढाकाटोपी छुट्दैनथ्यो। अझ नेपाली भाषा बोल्ने र बुझ्ने उनी पुतलीका तस्वीर अङ्कित पोस्टकार्ड लिएर पोखराका सडकमा ओहोरदोहोर गरिरहन्थे। त्यसैले उनलाई देख्नेहरूले नाम नै राखिदिए, पुतली बाजे।
पोखराको नयाँ गाउँस्थित चर्चको एक कोठामा भेटिन्छन् कोलिन फिलिप स्मिथ। बिहान-दिउँसो मन पर्ने दूधको चिया ओछ्यानमै बसेर पिउँछन्। त्यस बाहेक अधिकांश समय सुतेरै बिताउँछन्। ओछ्यानबाटै बिस्तारै उनी भन्छन्, “मसँग शक्ति छैन अब।”
अब उनी पहिले जसरी गफिन सक्दैनन्। तैपनि भेट्न आएका मान्छेलाई धन्यवाद दिन भने भुल्दैनन्।
उनी तिनै कोलिन हुन् जो नेपालका अधिकांश जिल्ला हिंडेरै पुगेका छन्। घुमफिर गर्न हिंडेका पर्यटक पनि होइनन्, नेपालका कुनाकाप्चा हिंडेर पुग्नुको एउटै उद्देश्य थियो- पुतलीको खोज।
हिमाल, पहाड र तराईका सबै ठाउँका कुनाकाप्चा पुगेर पुतलीका प्रजाति पत्ता लगाउनु, सङ्कलन गर्नु, नाम दिनु र त्यसबारे किताब लेख्नु। यतिमै उनले आफ्नो जीवनका ऊर्जाशील ५७ वर्ष बिताए। पुतलीको खोज र अनुसन्धानको क्षेत्रमा विश्व समुदायमा नेपालको नाम नमेटिने गरी लेखिदिए।
नेपालका पुतलीबारे उनले लेखेका किताब आज पनि पढिन्छन्। उनी पहिलो व्यक्ति थिए जसले नेपाली र विश्व समुदायलाई नेपाली पुतलीबारे सुनाए, यसको महत्त्व बुझाए।
उनै पुतली बाजे ८७ वर्षका भए। अहिले पेट सम्बन्धी रोगले बिरामी परेका छन्। ओछ्यानबाट उठ्न, खान, हिंडडुल गर्न पनि सहारा चाहिन्छ। उनको सहारा बनेका छन्, मीन परियार।
“सर, भेट्न आउनुभएको छ,” पल्टिरहेका कोलिनको कान नजिकै पुगेर मीनले भने। कोलिनले पुलुक्क यताउता हेरे। कोलिनलाई मीनले ‘सर’ भनेरै बोलाउँछन् भने कोलिनले मीन। दुवैको सम्बन्ध भने धर्मबाबु र छोराको हो।
सन् १९७२ मा शिक्षणकै लागि कोलिन पोखरामा थिए। उनी नदीपुरमा भाडाको कोठामा बस्थे। त्यही वेलादेखि नै उनी टोलमा रहेका बालबालिकालाई पुतलीको पोस्टकार्ड दिने, घुमाउन लैजाने गर्थे। पछि लामागाउँमा सानो घर बनाएर उतै बस्न थाले।
त्यो क्षेत्रमा परियार समुदायको बाहुल्य थियो। कोलिन दशैंतिहारको छुट्टीमा लामागाउँका किशोरकिशोरीलाई ‘क्याम्पिङ’ लैजाने गर्थे। क्याम्पिङमा पुतली सङ्कलन गर्ने र किशोरकिशोरीलाई पढाउँथे। त्यही समूहमा थिए मीन।
मीन अरूभन्दा अलि ठूलो भएकाले खाना पकाउने जिम्मा थियो। पछि कोलिनले नै घरको काम सघाउन आग्रह गरे। अनि उनीसँगै बस्न थाले मीन। हेरचाह गर्ने, बिहानको खाजा तयार पार्नेदेखि घर सरसफाइको काम मीनकै थियो।
केही वर्षपछि मीनको बिहे भयो र कोलिनकै घर पछाडि आफ्नो घर बनाएर बसे। “म सानैदेखि उहाँसँग बसेको। अहिले त मेरा नै छोराछोरी भइसके। उहाँ नै मेरो परिवार हो,” मीन भन्छन्। कोलिनले पनि अस्पतालमा भर्ना गर्दा होस् अथवा अन्य कुनै काममा मीनलाई छोरा नै भनेर लेख्ने गरेका छन्।
रोगले च्यापेपछि भने गत एक वर्षदेखि मीन पनि घर गएका छैनन्। छोराछोरी आफैं कहिले अस्पताल त कहिले चर्चमा उनीहरूलाई भेट्न आउने गर्छन्। कोलिनको स्याहारसुसारमा नै उनको अधिकांश समय बित्छ।
गणित गुरु
बेलायतमा जन्मिएका कोलिनको सानै उमेरदेखि नै रुचि र अध्ययनको विषय गणित थियो। विद्यालयदेखि स्नातकोत्तर तहसम्म उनले गणितलाई नै आफ्नो अध्ययनको मूल विषय बनाएका थिए।
उनले विश्वविद्यालयमा सहायक लेक्चररका रूपमा काम पनि गरे। सन् १९६६ मा ‘युनाइटेड मिसन टू नेपाल’ बाट कोलिन पहिलो पटक नेपाल आएका थिए। शिक्षकका रूपमा गोरखामा पढाउँदा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र चिकित्सक डा. उपेन्द्र देवकोटा लगायत उनका विद्यार्थी थिए।
५७ वर्षअघि गणित पढाउन नेपाल आएका कोेलिनले नेपाली वेशभूषा मात्रै अपनाएनन्, ‘पुतली बाजे’ नाम पनि पाए। उनले गरेको योगदानको सम्मान गर्दै २०७६ सालमा सरकारले कोलिनलाई सम्मानार्थ नेपाली नागरिकता पनि प्रदान गरेको थियो।
पुतलीको खोज
पुतलीमा कोलिनको रुचि सानैदेखि थियो। उनका मामा बेलायतमा पुतली सङ्कलन गर्थे। मामाले पुतली सङ्कलन गरेको देखेपछि नै उनी पनि पुतलीतर्फ आकर्षण बढेको बताउँछन्।
नेपाल आएपछि उनले आफ्नै रुचिको पुतली सङ्कलन कार्य शुरू गरे। त्यसबारे खोज र अध्ययन गर्न थाले। पुतलीले नै हो, जसले कोलिनलाई नेपाल छाडेर स्वदेश फर्किन दिएन। शिक्षणका लागि आएका उनी पढाउने काम छाड्दै गए भने पुतलीको अध्ययनमा समय व्यतीत गर्न थाले।
पछिल्लो समय त उनी बेलायत जान नै बिर्से जस्तो भएको छ। कोलिन बेलायत नफर्किएको ३७ वर्ष भइसक्यो। अहिले बेलायतमा उनका दाइ मात्रै छन्।
उनले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण (पीएन) क्याम्पस, एक्याप, इन्टरन्याशनल माउन्टेन म्यूजियम, फरेस्ट्री क्याम्पस, लिर्बड लगायतमा पुतलीसँग सम्बन्धित विषयमा रहेर नै काम गरे। उनले पुतलीको खोज अनुसन्धान गर्नुअघि पनि नेपालमा अध्ययन हुने गरेको त थियो, तर विदेशबाट आएकाहरूले नेपालको पुतली सङ्कलन गर्थे र विदेश लैजान्थे। नेपालमा मात्र पाइने कतिपय पुतलीबारे बुझ्न अहिले विदेश जानुपर्ने अवस्था रहेको पुतलीविद् बताउँछन्।
नेपालको पुतली नेपालमा नै रहनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसैले कोलिनको पहलमा पीएन क्याम्पस पोखरामा अन्नपूर्ण नेचुरल हिस्ट्री म्यूजियममा उनले सङ्कलन गरेका पुतली र निशाचर पुतली (मोथ्स) सङ्गृहीत छन्। हाल सङ्ग्रहालयमा नेपालका ६६० प्रजातिको पुतली र निशाचर पुतलीको सङ्कलन छ।
नेपालमा पुतली र निशाचर पुतली (मोथ्स)को सङ्कलन पोखराको पीएन क्याम्पसमा रहेको एक्यापकोे संग्रहालय, पोखराकै अन्तर्राष्ट्रिय माउन्टेन म्यूजियम र काठमाडौंको स्वयम्भुस्थित नेचुरल हिस्ट्री म्यूजियममा छ। यी तीनै ठाउँमा पुतली सङ्कलन र अध्ययनमा कोलिनको महत्त्वपूर्ण योगदान छ। उनले नेपालका पुतलीबारे ११ भन्दा बढी किताब र जर्नलमा दर्जनौं लेख लेखेका छन्।
कम बोल्ने र धेरै काम गर्नेमध्ये कोलिन पनि एक रहेको पुतलीविद् महेन्द्रसिंह लिम्बू बताउँछन्। लिम्बू भन्छन्, “अरू वेला त्यति नबोल्ने तर पुतलीको विषयमा घन्टौंसम्म कुरा गर्न सक्थे कोलिन।’
बिर्सिएका ‘पुतली बाजे’
उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘पुतली बाजेले धेरैलाई सहयोग गरे, धेरैको जीवन बनाए।’ तर, उनी आज कठिन अवस्थामा पुग्दा भने कसैले नसम्झिएको गुनासो गर्छन् उनका सहयोगी मीन। “सरले कतिलाई सहयोग गर्नुभयो, तर आज उहाँ यस्तो बिरामी हुँदा भेट्न आउने पनि कोही हुँदैनन्,” मीन दुखेसो गर्छन्।
रोगले च्याप्नुअघिसम्म कोलिन बाहिर हिंड्ने, पुतलीबारे लेख्ने र पढ्ने गर्थे। अहिले उनी हिंड्न नसक्ने अवस्थामा छन्। उनलाई सोधखोज गर्दै आउने पनि कोही मान्छे छैनन्।
कोलिनले पुतलीका लागि आफ्नो जीवन समर्पण गरे। अहिले पुतली कोलिनको बन्द कोठामा भेट्न आउन सक्दैनन् र ‘पुतली बाजे’ पुतली छेउ जान सक्दैनन्।