कसरी सुधार्ने बन्दाकोपीको बजार?
बन्दाकोपी नबिकेर रोइरहेका किसानको आँसु पुछ्न उत्पादनलाई उद्यमसँग जोड्नेदेखि नयाँ बजार खोज्नेसम्मका पाटोमा पहलकदमी आवश्यक छ।
बन्दाकोपीले मूल्य नपाउने समस्या नेपाली किसानले बर्सेनि भोग्दै आएका छन्। पछिल्लो पटक भने २०७९ फागुनदेखि नै उत्पादनले बजार नपाउँदा बन्दाखेतीमा संलग्न किसान मारमा छन्। लगानी र मिहिनेत खेर जाँदा किसान इन्तु न चिन्तु बनेका छन्।
केही समयअघि बन्दाकोपीको जस्तो समस्या गोलभेंडा उत्पादक किसानले पनि भोगेका थिए। उत्पादन पाँच रुपैयाँ किलोमा पनि बिकेको थिएन। तर, एकाध महीनाकै अन्तरालमा अहिले किसानले प्रतिकिलो ५० रुपैयाँसम्म पाइरहेका छन्। बन्दाकोपीमा पनि सामान्यतया भदौपछि मूल्य सुधारिएर किसानले राहत पाउने गरेका छन्।
बन्दाकोपीले मूल्य नपाउने समस्या किन आयो त? यसका कारण र समाधानका उपायबारे यो लेख केन्द्रित छ।
शुरूमा कारणबारे चर्चा गरौं।
आर्थिक सङ्कटको असर
बन्दाकोपीको सबैभन्दा ठूलो बजार होटल, रेस्टुरेन्ट र ससाना खाजाघर हुन्। चाउमिन, मःम, पकौडा र मासुका परिकारमा यसको प्रयोग हुन्छ। बजार चलायमान हुँदा बन्दाको खपत धेरै मात्रामा हुन्छ र यसको मूल्य स्थिर रहन्छ। तर, केही समययता आर्थिक सङ्कटका कारण मान्छेहरूका हातमा पैसा नहुँदा प्रायः होटल, रेस्टुरेन्टको व्यापार सुस्त छ। ठूला शहरबजारमा परिकार व्यवसाय थला पर्नुको असर सीधै बन्दाकोपीमा परेको छ। माग घट्दा मूल्य पनि खस्किने भयो।
बन्दाकोपीको बजारमूल्य बढाउन र स्थिर बनाउन शहरबजारमा होटल तथा पर्यटन व्यवसायलाई बढावा दिनुपर्ने देखिन्छ। अन्य विकसित मुलुक जस्तै नेपालमा पनि पर्यटन व्यवसायलाई चलायमान गर्न सरकारले योजना ल्याउनुपर्छ।
उत्पादन छेलोखेलो
तीन दशकअघि वातावरण तथा कृषि नीति अनुसन्धान, प्रचार एवं विकास केन्द्र (सिप्रेड) नामक गैरसरकारी संस्थाले नेपालमै पहिलो पटक बेमौसमी तरकारी खेतीको अवधारणा शुरू गरेको हो। संस्थाले धनकुटाको भेडेटार र सिंधुवाका महिला किसानका लागि उक्त परियोजना चलाएको थियो।
उक्त परियोजना सफल भएपछि अन्य संस्थाहरूले यस्तै कार्यक्रम देशभर सञ्चालन गरे। जसले तरकारी खेतीमा क्रान्ति गर्यो। अहिले तराईका साथै पहाड र हिमाली जिल्लाहरूमा समेत बन्दाकोपीको बेमौसमी खेती हुन थालेको छ। यस वर्ष लामो खडेरीका कारण तराईमा उत्पादित बन्दाकोपी जेठसम्म बजारमा आइरह्यो। यस्तै, मध्य पहाडको उत्पादन असार र साउनको पहिलो सातासम्म बजारमा आइरह्यो। उच्च पहाडमा पनि अहिले मूल्य नपाउने सिजनमै बन्दाकोपी बढी उत्पादन भयो। यसले उत्पादन नबिक्ने अवस्था आयो।
प्राविधिक समस्या
पूर्वी नेपालका धनकुटा, तेह्रथुम र संखुवासभामा लगाइएका बन्दाकोपीमा बीउजन्य समस्या देखिएको छ। बिक्सान जातको बन्दा राम्रो नदेखिने भएकाले व्यापारीहरूले किन्दैनन्। साथै, किसानले बन्दा टिप्ने र बजारमा पुर्याउने पाटोमा व्यवस्थापनगत कमजोरी देखिन्छ। वर्षात्को समय र गर्मी क्षेत्रहरूमा यसको बजारीकरण गर्नुपर्ने हुन्छ, त्यो भइरहेको छैन। किसानको इच्छाशक्ति भएमा यो समस्या समाधान हुन सक्छ तर त्यतातिर ध्यान गएको छैन।
उत्पादन टिपेर बजारमा लैजाने क्रममा किसानले गर्नैपर्ने सामान्य काम पनि नगर्दा समस्या निम्तिएको छ। जस्तै, पानी पर्दा त्रिपालले छोपिदिनुपर्ने हुन्छ। अन्यथा पानीले भिजेमा धेरै टाढा ढुवानी गर्नुपर्दा र गर्मी भेगको बजारमा लैजाँदा बन्दा कुहिन सक्छ। यति सामान्य विषयमा हेक्का नपुर्याउनुले पनि मूल्य नपाउनुमा भूमिका खेलेको छ।
समाधानका उपाय
बन्दाकोपीको मूल्य सम्बन्धी समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय छन्। यसका लागि किसान आफैं अग्रसर हुनेदेखि संघीय, प्रदेश र स्थानीय सरकारको पहलकदमी आवश्यक हुन्छ। तीन तहका सरकारमध्ये पनि स्थानीय सरकारले समस्या सबैभन्दा नजिकबाट नियालेकाले उसको भूमिका महत्त्वपूर्ण हुन्छ।
यिनै आयाममा रहेर समस्या समाधानका उपायबारे तल चर्चा गरिन्छ।
उद्यमशीलताको विकास
अहिले प्रत्येक पालिकामा उद्यमशीलता शाखाको अभ्यास गरिएको छ। यस्तो शाखाले बन्दाकोपीको बजारलाई टेवा पुर्याउने गरी यसलाई उद्यमसँग जोड्न सक्छ। जस्तै, स्थानीय स्तरमा बन्दाको अचार बनाएर बजारमा लैजाने व्यवस्था गर्न सकिन्छ। यसबाट मूल्यमा हुने गिरावट थोरै मात्रामा भए पनि घटाउन सकिन्छ।
यस्तै, किम्ची बनाउने र खाने तरीका नेपालीहरूलाई सिकाउनु पनि बन्दाको बजार सुधार्ने एउटा उपाय हो। बन्दा उत्पादक किसानलाई किम्ची बनाउने विधि सिकाएर आम नेपालीमा यसको स्वाद बसाउन सकियो भने मूल्यको गिरावट सदाका लागि अन्त्य गर्न सकिन्छ।
बन्दाकोपीको प्रयोग धेरै हुने परिकारलाई होटल तथा रेस्टुरेन्टको मेन्युमा प्राथमिकता दिन स्थानीय सरकारहरूले पहल गर्न सक्छन्।
बाली क्यालेन्डर निर्माण
सामान्यतया हरेक वर्षको भदौदेखि बन्दाकोपीमा किसानले राम्रो मूल्य पाउँछन्। सबै तरकारीको मूल्य असारदेखि नै बढेको देखिए पनि कहिलेकाहीं अचानक कुनैको मूल्य ज्यादै खस्किने गरेको देखिन्छ। यसो हुनुको प्रमुख कारण बाली क्यालेन्डर नहुनु नै हो।
नेपालमा बन्दाको खपत कति छ, यसको बजार विस्तार कति गर्न सकिन्छ भन्नेबारे राष्ट्रिय स्तरमै बाली क्यालेन्डर तयार पार्नुपर्छ। यसबाट कुन ठाउँमा कुन समयमा कति उत्पादन गर्ने र कति बजारमा ल्याउने भन्ने प्रक्षेपण गर्न सकिन्छ। त्यस अनुसार कार्यक्रम लागू गरेमा मूल्यको उतारचढाव धेरै हदसम्म नियन्त्रण हुन सक्छ।
पर्यटन प्रवर्द्धन
कोशी प्रदेशका धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाले पर्यटन विकासको धेरै सम्भावना बोकेका छन्। अहिलेसम्म हामीले बन्दाकोपी फरक ठाउँ या देश (भारत)मा ढुवानी गरेर बिक्री गर्न पहल गर्दै आएका छौं। यस्तो बजार जुनसुकै वेला सङ्कटमा पर्न सक्छ। अहिले देखिएको समस्या यही हो।
यसैले बन्दाकोपी कतै लगेर बेच्नेभन्दा पर्यटकलाई आफ्नै ठाउँमा ल्याएर खपत गराउने योजनामा काम गरिनुपर्छ। खासगरी कोशी प्रदेशका बन्दा उत्पादन हुने प्रमुख जिल्लाहरू संखुवासभा, तेह्रथुम र धनकुटामा एकीकृत कार्यक्रम सञ्चालन गरी पर्यटक ल्याउने वातावरण बनाउन सकिन्छ। सडक सञ्जालको विकास भइसकेकाले पर्यटक भित्र्याउन होटल–रेस्टुरेन्ट, होमस्टे, फार्मस्टे जस्ता पूर्वाधारको विकास, सुव्यवस्था र सेवाको स्तरोन्नतिमा ध्यान दिन जरुरी छ।
उत्तरको सम्भावित बजार
नेपाली बन्दाकोपी तीन दशकयता भारतीय बजारमा बिक्री हुने गरेको छ। सिप्रेड तथा धनकुटाको सिंधुवा बहुउद्देश्यीय सहकारी संस्था र यसका संस्थापक मेघेन्द्र गुरुङको पहलबाट भारतीय बजारमा बन्दा जान थालेको थियो। तर, पश्चिम बंगाल बाहेकका प्रान्तमा हामीले बन्दाकोपी पठाउन सकेनौं। भारतमा थप बजार विस्तार हुने सम्भावना छ।
साथै उत्तरको तिब्बत पनि धेरै सम्भावनायुक्त बजार हो। तिब्बतले नेपालबाट कृषि उपज धेरै पहिलेदेखि लैजान खोजे पनि त्यसमा पहल गर्न नसक्नु हाम्रो कमजोरी हो। तिब्बतमा ठूलो संख्यामा आउने विदेशी पर्यटक र स्वयं तिब्बतीहरू पनि बन्दाकोपीको पारखी भएकाले त्यो बजारको अवसर छोप्न हामी अग्रसर हुनुपर्छ।
समग्रमा, विगतका अनुभवका आधारमा भदौदेखि स्वतः बन्दाकोपीको मूल्यमा क्रमिक सुधार आउने पाटो आफ्नो ठाउँमा छ। उत्पादनले बजार पाउन निश्चित समय पर्खनुपर्ने चक्र तोड्न दीर्घकालीन समाधानका लागि किसान आफैं सजग र सुसूचित हुनुपर्छ।
किसानले बन्दाकोपीबाट प्राप्त आम्दानी बन्दाको उत्पादन क्षेत्रमा लगानी नगरी काठमाडौं र तराईमा घरघडेरी जोड्न खर्चने प्रवृत्ति छ। यसले बन्दाको खेती विस्तार र बजारीकरण उपेक्षित बनेको छ। कमाइ जति अन्यत्र खर्च गर्नुभन्दा भविष्यमा आउने समस्यालाई सम्बोधन गर्न एकल वा सामूहिक प्रयास गरिनुपर्छ। जस्तै, किम्ची उद्योग निर्माण, अचार बनाउने तथा यिनको बजारीकरण गर्ने, बन्दा केही महीना भण्डारण गर्ने ससानो लगानीको शीतभण्डार निर्माण जस्ता क्षेत्रमा लगानी गरेर आफ्नो सुरक्षाको प्रबन्ध गर्न सकिन्छ।
तर, पानी पर्न थालेपछि मात्रै घरमा छानो हाल्ने हाम्रो बानी छ। अर्कातिर, आफ्नो काम गर्न र समस्या समाधान गर्न पनि कोही बाहिरी मान्छे वा नेताको मुख ताक्छौं। जबकि व्यक्तिगत र सामूहिक रूपमा जुटे धेरै समस्या समाधान गर्न सकिने हुन्छ। बन्दाकोपी बजारको समाधानका लागि पनि उत्पादक किसानसँगै क्षमता र विकल्प छ। यसमा सरकारले होस्टेमा हैंसे मात्रै गरिदिने हो।