किसानको कोपीले बजार नपाएपछि संघीय सरकारलाई गुहार्न काठमाडौं आए मेयरहरू
तेह्रथुम, धनकुटा र संखुवासभाका कृषकको कोपी प्रतिकिलो तीन रुपैयाँमा पनि नबिकेपछि मेयरहरू काठमाडौं आएका छन्।
कोपीको बजारीकरण लगायत माग लिएर उनीहरू संघीय सरकारका मन्त्री भेट्न काठमाडौं आएका हुन्। मेयरहरूका अनुसार पूर्वी नेपालका तीन जिल्लामा उत्पादित ३० हजार मेट्रिक टनमध्ये झन्डै आधा कोपी बिक्री नभएर खेर जाने गरेको छ।
प्लान्ट क्वारेन्टिन परीक्षण, भन्सार जस्ता समस्याले गर्दा भारतीय बजारमा पठाउन नसकिएको मेयरहरू बताउँछन्। उनीहरूका अनुसार नेपाल र भारततर्फ गरी भन्सार लगायतमा प्रतिबिल (एकदेखि १० ट्रकसम्म) पाँच हजार ६५ रुपैयाँ तिरे पुग्नेमा अहिले १८ हजार रुपैयाँभन्दा बढी तिर्नुपरेको छ।
लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा लगायत जनप्रतिनिधि काठमाडौं आएका हुन्।
मेयरहरूको टोलीले अर्थमन्त्री प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सीता गुरुङ, परराष्ट्र मन्त्री एनपी साउदलाई छुट्टाछुट्टै भेटेका छन्। आगामी मन्त्रिपरिषद् बैठकबाट किसानका समस्या सम्बोधन गर्न आवश्यक नीति लिने आश्वासन पाएको लालीगुराँसका मेयर अर्जुन माबुहाङले बताए।