कस्तो धरान बनाउँदै छन् साम्पाङ?
कोका खोलाको पानी धरान झारेर लोकप्रियता कमाएका र आफ्ना गतिविधिमा प्रश्न उठाउनेहरूलाई निषेध गरेर सामाजिक सञ्जाल तताउँदै आएका हर्क साम्पाङको ध्यान शिक्षा, स्वास्थ्य र सुशासनतिर पटक्कै देखिन्न।
पछिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरपालिकाको मेयर चुनिएसँगै हर्कराज राई (हर्क साम्पाङ) देशव्यापी ‘सेलेब्रिटी’ बने। सामाजिक अभियन्ताका रूपमा धरानमै सीमित उनी विदेशमा रहेका नेपालीमाझ पनि चिनिए। त्यसयता आफ्ना अभिव्यक्ति, अभियान र गतिविधिका कारण निरन्तर चर्चामा छन्। खासगरी सामाजिक सञ्जालमा ‘भाइरल’ बन्दै आएका उनी विभिन्न गतिविधिले लोकप्रियतासँगै विवादमा पनि तानिइरहेका छन्।
मेयर चुनिएपछि धरानमा खानेपानी ल्याउन ‘श्रमदान अभियान’ चलाएका साम्पाङ कहिले ढुङ्गा बोक्न खोलामा पुगे त कहिले पाइप बोक्न भीर पहरामा। प्रतिक्रिया आए, ‘मेयर हुनु त यस्तो!’
अभियानमा सघाउन विदेशमा बस्ने नेपालीले करोडौं रुपैयाँ पठाए। विगतका मेयरहरूले कुर्सीमा बसेर निर्देशन मात्र दिएको देखेका धरानवासीले विकास योजनामा आफैं श्रमदान गरेका साम्पाङलाई तन-मनले साथ दिए। यही बलमा उनी टाढाको कोका खोलादेखिको पानी धरान ल्याउन सफल भए। तर, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई पूरै बेवास्ता गरेका छन्।
मेयर चुनिनुअघि पनि साम्पाङका गतिविधि निर्विवाद थिएनन्। धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई फोनमा तथानाम गाली गरेको भिडिओ अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छ। खानेपानी मुहानमा पुगेर पाइप तोडफोड गरेको आरोपमा पक्राउ समेत परेका थिए।
सशस्त्र द्वन्द्वकालमा २०५७ सालतिर नक्कली माओवादी बनेर चन्दा उठाउँदा उनी माओवादीबाट ‘भाटे कारबाही’ मा परेको र त्यसपछि विदेश गएको तत्कालीन माओवादी नेताहरूले बताउँदै आएका छन्। अन्य विषयमा तत्काल प्रतिक्रिया जनाइहाल्ने साम्पाङले यसबारे अहिलेसम्म मुख खोलेका छैनन्। बहुविवाहमा समेत पक्राउ परेर छुटेका उनी जेठी पत्नीतर्फकी छोरीको नागरिकता नबनाइदिएको भनेर पनि आलोचित थिए।
छिमेकीहरूका अनुसार साम्पाङ विगतमा आफूलाई राष्ट्रिय एकता सञ्जालको अध्यक्ष दाबी गर्दै विभिन्न गतिविधि चलाउँथे। राष्ट्रिय एकता सञ्जाल, मंगोल एकता जस्ता समूह बनाएका थिए। त्यति वेला आफ्नो नामको पछाडि ‘क्रान्ति’ लेख्ने गरेका उनले पछि त्यसैलाई अंग्रेजीमा बदलेर ‘अ रिभोलुसन’ बनाए।
साम्पाङको सामाजिक अभियानको पृष्ठभूमि खासै लामो होइन। धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तारका क्रममा आफ्नो घर समेत भत्कने भएपछि उनी पहिलो पटक आन्दोलनमा उत्रिएका थिए जसलाई लाहुरे समुदायको पनि साथ रह्यो। पछि धरानको खानेपानी र कर सम्बन्धी आन्दोलनमा सक्रिय भए। २०७६ को उपनिर्वाचनमा समेत उम्मेदवार बनेका उनले ५०० मत मात्र पाएका थिए।
२०७८ सालको स्थानीय चुनावमा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को चुनाव चिह्न ‘लौरो’ देशभर चर्चित थियो। साम्पाङले पनि संयोगवश त्यही चिह्न पाए। उनले जित्नुमा ‘लौरो’ ले जगाएको परिवर्तनको आश र दलहरूप्रतिको असन्तुष्टि मुख्य कारण थियो। लौरोप्रति जनताको आश यतिसम्म थियो कि विराटनगरमा उम्मेदवारै नहुँदा पनि यही चिह्नमा चार हजार हाराहारी भोट खसेको थियो।
दलितलाई अपशब्द
धरान-८ को सुन्दर बस्ती आयोजना लामो समयदेखि चर्चामा छ। स्थानीयको जग्गा एकीकरण गरी बसपार्क सहित नमूना बस्ती बसाउने उद्देश्यले थालिएको आयोजनाको राम्रो जग्गा नगरकै कर्मचारी र जग्गा कारोबारीले आफ्नो नाममा पारेपछि पूर्व उपमेयर कृष्णनारायण पालिखेको नेतृत्वमा थालिएको आन्दोलनमा कुनै वेला साम्पाङको समूह पनि सहभागी थियो।
पछिल्लो चोटि यही जग्गामा बसपार्क बन्न लागेपछि विस्थापनमा पर्न सक्ने स्थानीय बासिन्दाले विकल्प माग्दै २०७९ मंसीर २७ गते मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाए। तर, साम्पाङले ‘तिमीहरूको माग सुनुवाइ हुँदैन’ भन्दै फर्काइदिएपछि उनीहरूले नाराबाजी गरे। साम्पाङले यही विषयमा कटाक्ष गर्दै साँझ फेसबूक वालमा लेखे, ‘बल होइन बुद्धि लगा चमारे बुद्धि!’
मेयरले दलित जाति चमारको अपमान गरेको भन्दै चौतर्फी आलोचना भयो। दलित आयोगले आत्मालोचना गर्न अनुरोध सहितको विज्ञप्ति नै जारी गर्यो। उनी उल्टै आयोग नै खारेज गर्नुपर्ने अभिव्यक्ति दिन थाले।
नगरकै तीन कार्यपालिका सदस्य सहित एक दर्जन संघसंस्थाले उनलाई कारबाहीको माग गरे। दलका स्थानीय कमिटीले पनि माफी माग्न सुझाए। काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भयो। तैपनि आयोग विरुद्ध एकपछि अर्को ‘स्टेटस’ लेखिरहे।
आयोगले उनलाई कानूनी कारबाही गर्न गृह मन्त्रालयमा सिफारिश गर्यो। पक्राउ गर्न प्रहरीमा निर्देशन आएको चर्चा चल्यो। नगरकै कर्मचारीको जोडबलमा बल्ल उनले क्षमायाचना गरे।
सेवाग्राहीलाई धरपकड
धरानको वराह बचत तथा ऋण सहकारी संस्थाले रकम फिर्ता नगरेपछि बचतकर्ता न्याय माग्दै साम्पाङलाई भेट्न गए। तर, चुनावअघि पीडितकै पक्षमा बोल्दै आएका साम्पाङले उनीहरूलाई भेट्नै चाहेनन्।
अर्को दिन पीडित संघर्ष समितिको टोली ज्ञापनपत्र बोकेर कार्यकक्षमै पुग्दा उनले जवाफ फर्काए, ‘मलाई सोधेर पैसा जम्मा गरेका थियौ र?’
विवाद बढेपछि पीडितलाई नगर प्रहरी लगाएर बाहिर निकालियो। आक्रोशमा उनीहरूले कार्यालयको झ्याल फुटाइदिए।
साम्पाङले प्रहरी बोलाएर केहीलाई पक्राउ गराए। सहकारी नियमनको अधिकार संविधानले स्थानीय तहलाई नै दिएको छ। तर, वराह सहकारीपीडितले अहिलेसम्म रकम फिर्ता पाएका छैनन्। उपमहानगरमा सहकारी समिति समेत गठन भएको छैन।
नेता र वडाध्यक्षसँग टकराव
राजनीतिक दलबाट टिकट पाएर जितेका वडाध्यक्षलाई साम्पाङ माफिया, दलालको संज्ञा दिने गर्छन्। आफूले दलका उम्मेदवारलाई हराएकोमा घमण्ड देखाउँदै वडाध्यक्षलाई अल्पमतका विजेता भनी होच्याउँछन्। उनको यही धारणा टकरावको कारण बनेको छ।
धरानका २० वटा वडामध्ये नेकपा (एमाले) ले १०, नेपाली कांग्रेसले सात, राप्रपा, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उम्मेदवारले एक-एक वडामा जितेका छन्। उनीहरूसँग पहिलो कार्यपालिका बैठकमै साम्पाङको विवाद पर्यो। साम्पाङले कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गराएकाले आम नागरिकसम्मै छताछुल्ल हुन पुगेको उक्त विवादको विषय थियो- खोलाको ठेक्का। वडाध्यक्षले खोला बेच्न खोजेको र साम्पाङले रोकेको भनी व्यापक प्रचार गरिंदा वडाध्यक्षहरू विरुद्ध देश-विदेशबाट गालीको वर्षा भयो।
गत चैत २९ मा साम्पाङका स्वकीय सचिव भनिएका सुदर्शन लिम्बूले उपमहानगरको लेटरप्याड र छाप प्रयोग गरी वडाध्यक्षहरूलाई वडाको विवरण पेश गर्न निर्देशन दिएका थिए। स्वकीय सचिवका नामबाट निर्देशनात्मक पत्र पाएपछि वडाध्यक्षहरूले विरोध जनाए। कार्यपालिका बैठकमा साम्पाङले आफूले नै पत्र काट्न निर्देशन दिएको बताएपछि उनीहरूले माफी मागेर भूल सुधार्न माग गरे।
साम्पाङले उल्टै धरान-१० का वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेर पत्र पठाए। अनि उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरूलाई ‘गुइँठे’ भन्दै गीत गाए। वडाध्यक्षहरूले पनि उनको नामकरण गरे- ‘धकुल्ले’।
यही क्रममा साम्पाङका समर्थकले धरान-१७ का वडाध्यक्ष मनोज भट्टराईलाई दुर्व्यवहार गरेपछि प्रहरीले तीन जनालाई पक्राउ समेत गर्यो। साम्पाङका समर्थक प्रहरी कार्यालयमै पुगेर नाराबाजी गर्न थालेपछि दलका कार्यकर्ता पनि उनीहरू विरुद्ध उत्रिए। मेयर र वडाध्यक्षको विवादले बजेट निर्माणमै असर पर्ने भएपछि तत्काललाई यो विषय जसोतसो मत्थर पारिएको छ। तर, मन मिलिसकेको छैन।
साम्पाङ दलहरूसँग पहिल्यैदेखि असन्तुष्ट थिए, कांग्रेस र एमालेप्रति अझ बढी। माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने चुनाव लगत्तै उनको प्रशंसा गर्दै कार्यकर्तालाई ‘हर्क साम्पाङ’ जस्तो बन्न निर्देशन दिए। दाहालले धरान आउँदा साम्पाङलाई भेटे भने साम्पाङले पनि काठमाडौं पुगेर दाहाललाई भेटेका थिए। माओवादीबाटै जितेका धरानका उपमेयर आइन्द्रविक्रम बेघाले साम्पाङको अभियानमा खुलेर साथ दिंदै आएका थिए। माओवादीको नगर अध्यक्ष समेत रहेका वडाध्यक्ष भट्टराई र माओवादीको एक समूह भने साम्पाङका गतिविधिप्रति शुरूदेखि नै असन्तुष्ट थिए।
वडाध्यक्ष भट्टराईलाई साम्पाङका समर्थकले दुर्व्यवहार गरेकोमा उपमेयर बेघाले दुःखद भन्दै विज्ञप्ति जारी गरेपछि साम्पाङ माओवादी विरुद्ध पनि खनिए। शुरूमा ‘आखिर उपमेयरले पनि आफ्नो रङ देखाउनुभयो’ भनी प्रतिक्रिया दिएका उनले त्यसपछि पार्टीलाई लक्ष्य गर्दै लेखे, ‘मान्छे मारेर आएकाहरूले मसँग गफ गर्नु इन्द्रका अगाडि स्वर्गको बयान।’
धरानकी पूर्व उपमेयर तथा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीका नाममा जातीय सद्भाव भड्किने अभिव्यक्ति दिएको नक्कली फेसबूक स्टेटस साम्पाङ र उनका समर्थकले शेयर गरेपछि अर्को विवाद उठ्यो। भण्डारीले साम्पाङ विरुद्ध उजुरी समेत दिइन् तर कारबाही भएन। साइबर ब्यूरोमा उजुरी परेपछि उनकी समर्थक कृष्णकला राईले भने माफी मागेर छुटकारा पाइन्।
बालेनलाई कटाक्ष
मेयरमा जितेको केही समयपछि साम्पाङ विभिन्न योजना माग्दै काठमाडौं पुगेका थिए। यही मेसोमा काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) लाई पनि भेट्न चाहेका उनी नपाएपछि आक्रोशित भए।
काठमाडौंमा फोहोरमैला व्यवस्थापनको विवाद चर्किएको थियो। साम्पाङले सञ्जालमा लेखे, ‘फोहोर व्यवस्थापन गर्न नसक्नेले ठूलो कुरा नगर्नू।’
त्यसपछि बालेनले पनि जवाफ दिए, ‘हजुर हो नि, मैले चुनाव पनि तपाईंकै लट्ठीले त जितेको।’ त्यसपछि जुहारी चलिरह्यो।
बालेनलाई फोहोर व्यवस्थापन गर्न नसकेको आरोप लगाउने साम्पाङ आफैं धरानको फोहोर जङ्गलमा फालिरहेको भनेर विवादमा परे। धरान उपमहानगरले कोशी राजमार्ग नजिकै सेउती खोला किनारको वन क्षेत्रमा फोहोर फाल्ने गरेको छ। यसबाट मानव स्वास्थ्य र पर्यावरणमा असर परेको भन्दै आलोचना हुँदै आएको छ।
वन र छिमेकी पालिकासँग मनोमालिन्य
गत वर्ष भदौमा साम्पाङकै प्रस्तावमा कार्यपालिका बैठकले साबुन उद्योग खोल्ने निर्णय गर्यो। नाम तय गरियो- ‘माया धराने’। उद्योग राख्न धरान-२० को जलकन्या सामुदायिक वनको जग्गा सम्याउन थालियो। जिल्ला वन कार्यालयले आफ्नो क्षेत्राधिकारको जग्गामा डोजर चलाइएको भन्दै विरोध जनायो।
कार्यालयका कर्मचारी काम भइरहेकै ठाउँमा पुगेर सम्झाए पनि। साम्पाङले जवाफ फर्काए, ‘धरानभित्रको जग्गा नगरको हो, नगरले निर्णय गरेपछि तपाईंको बोल्ने काम छैन।’ त्यसपछि उनको समूह सामाजिक सञ्जालमा पनि वन विरुद्ध जाइलाग्यो।
वनले मंसीर २९ मा वातावरणीय प्रभाव मूल्याङ्कन विनै आफ्नो जग्गामा उद्योग खोल्न लागिएको भन्दै उच्च अदालत, विराटनगरमा रिट दायर गर्यो। रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय रामबहादुर थापा र किरणकुमारी गुप्ताको इजलासले काम रोक्न अन्तरिम आदेश दियो। साम्पाङ कानूनले नै देश विकासमा बाधा पुर्याएको प्रचार गर्न थाले। उनले वन कार्यालय र राजनीतिक दलले अदालतलाई ‘स्टे अर्डर’ जारी गर्न लगाएको आरोप लगाए।
सोही जग्गामा ‘अदालतको आदेशले आफ्नै भूमि विदेशी जस्तो भएको’ भन्दै ब्यानर राखे। धरानको तीनकुनेमा बन्दै गरेको प्रदेश वन निर्देशनालय भवनको नक्शा पास नभएको भन्दै निर्माण रोक्न लगाए। पछि नक्शा पास नभएको विषय यत्तिकै सेलायो। अदालतले पनि साबुन उद्योग खोल्न अनुमति दियो।
धरानले छिमेकी नगरहरूसँग पनि राम्रो सम्बन्ध स्थापित गर्न सकेको छैन। वराहक्षेत्र नगरपालिकासँग पानी सम्बन्धी विवाद कायमै छ। कोका खोलाबाट पानी ल्याउँदा पाइप बिछ्याइएको अधिकांश भाग वराहक्षेत्रमा पर्छ। स्थानीयको मकैबारी मासेर समेत पाइप बिछ्याइएको थियो।
नीतिगत भन्दा पनि व्यक्तिगत निर्णयका आधारमा यो अभियान चलाएका साम्पाङ वराहक्षेत्रले कार्यपालिकाको निर्णय र खानेपानी बोर्डको निर्णय लिएर आउन भनेपछि समस्यामा परे। पटक पटक वार्ता हुँदा पनि उनले कानूनी प्रक्रिया र वराहक्षेत्रले राखेका शर्त पूरा गर्न सकेनन्। तर, बलमिच्याइँकै भरमा उनले धरानमा पानी झारे।
धरानको अर्को छिमेकी इटहरी उपमहानगरसँग पनि विवाद छ। भौगोलिक नक्शामा इटहरीको तरहरास्थित पानीपियासम्म धरानको भूभाग उल्लेख छ। तर, जङ्गल भएकाले पहिला कसैले वास्ता गरेको थिएन। धरानमा तिलक राई मेयर भएका वेला बोर्ड राख्न खोज्दा एक पटक विवाद भएको थियो। त्यसैलाई बल्झाउँदै साम्पाङले नगर प्रहरी खटाएर पानीपियामा ‘धरानको सीमा’ लेखिएको बोर्ड राख्न लगाए। लगत्तै इटहरीको एमालेको भ्रातृ संगठन युवा संघले हटाइदियो।
इटहरीका मेयर हेमकर्ण पौडेलले पनि इटहरीको सीमा सेउती खोलासम्म रहेको अभिव्यक्ति दिए। साम्पाङले इटहरी विरुद्ध जाइलाग्न धरानका युवालाई सामाजिक सञ्जाल मार्फत उकासे। वार्ताका माध्यमबाट समस्या समाधान गर्न आएको चौतर्फी सुझाव उनले सुनेनन्। अहिले पनि विवाद चलिरहेकै छ।
चिढिएका पत्रकार र पर्यटन व्यवसायी
आफ्ना गतिविधिप्रति प्रश्न उठाइएको साम्पाङ रुचाउँदैनन्। कुनै पत्रकारले त्यस्तो प्रश्न गरे सीधै भन्छन्, ‘तिमी कुन पार्टीको?’
उनका समर्थकहरू पनि सामाजिक सञ्जालमा पत्रकारमाथि खनिंदै ज्यानकै धम्की दिन्छन्। आलोचना गर्ने सञ्चारमाध्यम र पत्रकार दुवैलाई साम्पाङ ‘झोले’ भन्छन्।
प्रेस स्वतन्त्रता दिवसको अवसर पारी पत्रकार महासंघ, सुनसरीले पत्रकार सुरक्षाका विषयमा गरेको अन्तरक्रियामा महासंघका पूर्व जिल्ला अध्यक्षहरू र स्थानीय नेताहरूले साम्पाङको शैली अराजक भएको टिप्पणी गरेका थिए। यसैलाई लिएर साम्पाङले महासंघका पूर्व अध्यक्षलाई नै आफ्नो कार्यक्रममा हाजिर हुन सामाजिक सञ्जाल मार्फत उर्दी गरे। महासंघले त्यस विरुद्ध ज्ञापनपत्र समेत बुझायो।
अहिले साम्पाङले धरानको पत्रकारितालाई दुई खेमामा बाँडिदिएका छन्। उनी आफ्नो अभियानमा एक दर्जनभन्दा बढी यूट्यूबरलाई लिएर हिंड्छन्। उनीहरूको काम नै साम्पाङको गुणगान गर्ने सामग्री तयार पार्नु हो। खानेपानी अभियानका क्रममा पनि उनीहरू साम्पाङको पछि हिंडे।
साम्पाङसँग पूर्वका पर्यटन व्यवसायी पनि रुष्ट छन्। उनीहरूले धरानमा पत्रकार सम्मेलन गरेर मेयरले पर्यटन व्यवसायीलाई हतोत्साही बनाइरहेको आरोप लगाएका छन्। केही दिनअघि साम्पाङको टोलीले धरान-४ छोटीमोरङस्थित स्काई एड्भेन्चर प्रालिको प्याराग्लाइडिङ ‘टेकअफ ल्यान्ड’ मा वृक्षरोपण गरिदियो।
धरान-१ का पूर्व अध्यक्ष समेत रहेका रोशन अधिकारीले त्यहाँबाट प्याराग्लाइडिङ उडाउँदै आएका थिए। उक्त जग्गाको लालपुर्जा उनकी पत्नी रोजिनाको नाममा छ। रोजिनाले त्यहाँ वृक्षरोपण नगर्न भन्दा साम्पाङको टोलीले उनलाई लछारपछार पारेको भिडिओ सार्वजनिक भएको छ।
भेडेटारभन्दा तलको छोटीमोरङ क्षेत्र सर्दु जलाधारमा पर्ने भनी लामो समयदेखि विवाद छ। तर, सर्वोच्च अदालतले उक्त क्षेत्रमा किनबेच फुकुवा गरिदिएपछि अधिकारी सहित धेरै व्यक्तिले जग्गा खरीद गरेका थिए। पछि फेरि परेको मुद्दा विचाराधीन छ। खासमा रोशनकै प्रतिस्पर्धी प्याराग्लाइडिङ व्यवसायी रामप्रसाद राईको योजना अनुसार साम्पाङको टोली मुद्दा छिनोफानो भइनसकेको जग्गामा हतार हतार वृक्षरोपण गर्न पुगेको हो।
प्याराग्लाइडिङ संघ कोशी प्रदेशका सचिव रामप्रसादलाई संघले आर्थिक विषयमा केही समयअघि कारबाही समेत गरेको थियो। पहिले उनी र रोशन मिलेर प्याराग्लाइडिङ उडान गर्थे। पछि सम्बन्ध बिग्रियो। रोशनले पत्नीका नाममा जग्गा खरीद गरेपछि त्यहाँ रामप्रसादलाई उडान गर्न दिएनन्। मेयर साम्पाङले रोशनलाई सामाजिक सञ्जालमा भूमाफिया लेखेपछि रोशन पनि साम्पाङ र उनको समूहलाई गाली गरिरहेका छन्।
धार्मिक विवाद
साम्पाङ धार्मिक विवादमा समेत तानिंदै आएका छन्। मेयरमा चुनिएपछि समर्थकले फूलमाला र अबीर लगाइदिन खोज्दा इन्कार गरेपछि कतिपयले विरोध जनाएका थिए। लक्ष्मीपूजाका दिन पूजाभन्दा श्रम गर्न जान उचित भनी ‘स्टेटस’ लेखेका उनले क्रिसमसमा भने कार्यालयमै क्रिश्चियन सोसाइटीका पदाधिकारीसँग केक काटेर खुशियाली मनाए। अहिले मन्दिर अगाडि चर्च बनाउन सघाएको भन्दै विवादमा मुछिएका छन्।
धरान-१४, विजयपुर जाने बाटोमा पुरानो गोपाल मन्दिर छ। मन्दिर अगाडि पार्टी प्यालेस राख्ने भन्दै भवन बनेको थियो। पछि त्यसलाई चर्चको रूप दिइएपछि विजयपुर क्षेत्र संरक्षण मञ्चले विरोधमा मेयर साम्पाङलाई ज्ञापनपत्र बुझायो। उक्त भवनको नक्शा पास समेत नभएको भन्दै मञ्चले कारबाहीको माग गर्यो। तर, साम्पाङले उल्टै अदालत जान चुनौती दिए।
धर्मगुरु श्रीनिवासले साम्पाङ क्रिश्चियन भएकाले चर्च बनाउन लगाएको आरोप लगाए। विवाद झनै चुलियो। यो मामिलामा साम्पाङलाई उनकै समर्थकले समेत ‘मेयरले उत्तेजना फैलाउने होइन, मिलाउनतर्फ लाग्नुपर्छ’ भनी सम्झाए पनि उनी आफैं एउटा पक्ष भएर प्रस्तुत हुँदा समस्या बल्झिरहेको छ।
धार्मिक र जातीय जस्तो संवेदनशील विषयमा चुलिएको यस्तो विवादले धरानमा अनिष्ट निम्त्याउन सक्ने त्रास बढेको पूर्व मेयर मनोजकुमार मेन्याङ्बो चिन्ता जनाउँछन्। सामाजिक सञ्जालमा छ्यासछ्यास्ती आउने साम्पाङका अभिव्यक्ति सन्तुलित र मर्यादित नदेखिएको भन्दै उनलाई संवेदनशील विषयमा आवेशमा आएर नबोल्न-नलेख्न सुझाएका छन्। ‘आफ्ना शुभचिन्तक, शुभेच्छुकलाई यस्तो संवेदनशील विषयमा हल्का ढङ्गले लिएर कुनै धर्म, जाति, सम्प्रदाय, पार्टी आदिका बारे नलेख्न र टिप्पणी नगर्न आह्वान गर्नुहोस्,’ मेन्याङ्बोले सामाजिक सञ्जालमा लेखेका छन्।
आधारभूत विषयमा बेवास्ता
अहिले धरानमा डेंगीको महामारी छ, आठ जनाले ज्यान गुमाइसकेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठाउँ नपुगेर बेग्लै वार्ड सञ्चालन गरिएको छ। डेंगी फैलिन थालेको तीन-चार बित्दा पनि नगर नेतृत्व वृक्षरोपणमै व्यस्त भएपछि चर्को आलोचना भइरहेको छ।
धरानले शिक्षामा पनि नयाँ नीति ल्याउन सकेको छैन। कतिसम्म भने स्थानीय पाठ्यक्रम समेत लागू गरिएको छैन। एक वर्षमा बल्ल नगरशिक्षा समिति गठन भए पनि माओवादी भ्रातृ संगठन वाईसीएलका नगर अध्यक्षलाई सदस्य बनाइएपछि विवाद उब्जिएको छ। समितिले हालसम्म देखिने गरी काम गर्न सकेको छैन।
त्यस्तै, धरानमा वराह, श्रेय, सयपत्री, भविष्य, सल्लेरी लगायत सहकारीले बचतकर्ताको अर्बौं रकम अपचलन गरेको गुनासो आएकोमा कारबाहीतर्फ साम्पाङको ध्यान देखिंदैन। उनले सहकारी समिति समेत गठन गरेका छैनन्।
साम्पाङले चुनावअघि वितरण गरेको पर्चामा खानेपानीको स्रोत थप्ने, वितरण प्रणाली सुधार्ने र बिलिङ प्रणाली आधुनिक बनाउने उल्लेख गरेका थिए। विभिन्न खोलाबाट पानी ल्याएर स्रोत केही थपे पनि त्यो सबै धरानवासीलाई पुग्ने तहको छैन। कतै पानी आइरहने, कतै आउँदै नआउने समस्या छ। देशका धेरै ठाउँमा खानेपानीको शुल्क ‘अनलाइन’ तिर्न सकिन्छ तर धरानमा अहिले पनि लामो लाइनमा उभिनुपर्छ। कर्मचारीहरू हातले खातामा लेखेर अभिलेख राख्छन्।
साम्पाङले मतदातासँग वाचा गरे अनुसार आफ्नै कार्यालयको अनियमितता समेत रोक्न सकेका छैनन्। उपमहानगरको घर नक्शा, शिक्षा लगायत महाशाखामा अहिले पनि पैसा नखुवाई काम गर्न नसकिएको गुनासो व्यापक छ। तर, मेयरले फेसबूकमा ‘कसैले घुस मागे कारबाही गरिन्छ’ भनेर लेख्ने बाहेक कुनै पहल नलिएको धरान-११ का सेवाग्राही विकास तामाङ बताउँछन्।
पदभार ग्रहणसँगै वैज्ञानिक कर लागू गर्न कार्यदल बनाउने भनी गरेको निर्णय समेत साम्पाङले कार्यान्वयन गर्न सकेका छैनन्। लोकरिझ्याइँमा रमाउने उनको ध्यान कसरी सामाजिक सञ्जालमा वाहवाही कमाउने र देशविदेशमा रहेका नेपालीलाई प्रभावित पार्ने भन्नेतिरै बढी देखिन्छ।
उनले गत वर्ष वर्षा याममा सर्दु खोलामा बग्दो पानीमा टर्बाइन घुमाएर बल्ब बालेपछि ‘हाइड्रोपावर बनाएको’ प्रचार गरे। एकातिर पानी अभाव भएको भन्दै स्रोत खोज्दै हिंड्नु, अर्कातिर हाइड्रोपावर बनाएको हल्ला गर्नु आफैंमा विरोधाभास थियो। त्यसपछि धरान-२० मा हावाबाट बिजुली निकालेको प्रचार गराए।
उनले एक वर्षमा लाखौं बिरुवा रोपेको दाबी गरेका छन्, तर तीमध्ये कति जोगिए भन्ने तथ्याङ्क छैन। अहिलेसम्म देखिएको सबैभन्दा महत्त्वपूर्ण काम विभिन्न खोलाबाट पानी ल्याउनु हो। यसका लागि देशविदेशबाट आएको करोडौं रकम खर्च भएको छ। कोकाबाट पानी ल्याउँदा ५० लाख रुपैयाँभन्दा बढी खाना-खाजामै खर्च भएको हिसाब सार्वजनिक भएपछि उनी आलोचित पनि बने। खर्चको पारदर्शिताबारे प्रश्न उठ्दै आएको छ। विगतका जनप्रतिनिधिलाई भ्रष्टाचारी भन्दै आएका साम्पाङ आफूले पनि खानेपानी बोर्ड, धरान घण्टाघर, उपमहानगरमा विना प्रक्रिया आफन्त भर्ती गरेको भन्दै विवादमा परेका छन्।
सामाजिक सञ्जाल हेर्दा धरानमा साम्पाङ आएपछि कुनै समस्या नरहे जस्तो भाष्य स्थापना भएको देखिन्छ। तर, यथार्थ फरक रहेको विश्लेषक राजेन्द्र किराती बताउँछन्। किरातीले एउटा लेखमा लेखेका छन्, ‘बाहिरबाट देखेको धरान र भित्रै बसेर भोगेको धरान निकै भिन्न छ। धरान बुझ्न, पढ्न र अध्ययन गर्न धरानभित्र छिर्नुपर्छ। बाहिरबाट देखेको रूप हो भने धरानभित्रै भोगेको सार हो।’