विशाल समूह सम्बद्ध कम्पनीको रेटिङ धमाधम रद्द गर्दै केयर रेटिङ्स
रेटिङको वैधतामा प्रश्न उठेपछि केयर रेटिङ्सले व्यावसायिक घराना विशाल समूह सम्बद्ध एक दर्जन कम्पनीको क्रेडिट रेटिङ रद्द गरेर दण्डित हुनबाट जोगिने बाटो खोजेको छ।
स्वार्थ बाझिने क्रेडिट रेटिङ्सका विषयमा नेपाल धितोपत्र बोर्डले छानबिन जारी राखेका वेला केयर रेटिङ्स नेपालले विशाल समूह सम्बद्ध कम्पनीको रेटिङ धमाधम रद्द गरिरहेको छ।
विशाल समूह सम्बद्ध कम्पनीको विषयमा यसअघि गरिएका क्रेडिट रेटिङ सीधै कानून विपरीत ठहरिन सक्ने देखिएपछि केयर रेटिङ्सले आफ्नो मूल्याङ्कनलाई फिर्ता लिएको हो। विशाल समूहको लगानी रहेका करीब एक दर्जन कम्पनीको क्रेडिट रेटिङ फिर्ता भएको वा हुने प्रक्रियामा छन्।
विशाल समूह सम्बद्ध युनाइटेड डिस्ट्रिब्युटर्स, मैनावत्ती स्टील, कमला रोलिङ मिल्स, एनआईसी एशिया ब्यांक, भीजी अटोमोबाइल्स, ग्लोबल ट्रेडिङ कन्सर्न, यती ब्रुअरी, एड्भान्स अटोमोबाइल्सको क्रेडिट रेटिङ फिर्ता लिइसकिएको छ। त्यसैगरी, ग्रीन भेन्चर्स तथा पारामाउन्ट मोटर्सको क्रेडिट रेटिङ्स फिर्ता लिने प्रक्रिया शुरू गरिएको छ।
केयर रेटिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अचिन निर्वानीले यसअघि गरिएको क्रेडिट रेटिङ्स फिर्ता लिनु स्वाभाविक प्रक्रिया भएको बताए। “सम्बन्धित कम्पनीहरूले क्रेडिट रेटिङ फिर्ता गरिदिन अनुरोध गरेकाले नियम अनुसार नै रेटिङलाई फिर्ता गरेका हौं,” निर्वानीले हिमालखबरसँग भने।
केयर रेटिङ्सले आफ्नै प्रवर्द्धकहरूका कम्पनीको क्रेडिट रेटिङ गरेको विषयमा नेपाल धितोपत्र बोर्डले गरिरहेको छानबिन टुङ्गोमा पुगेको छैन। नियम विपरीत ‘क्रेडिट रेटिङ’ गरेको भन्दै नेपाल धितोपत्र बोर्डले गत पुसको अन्तिम साता केयर रेटिङ्स नेपालसँग स्पष्टीकरण मागेको थियो। केयर रेटिङ्सका लगानीकर्ताहरू सम्बद्ध कम्पनीकै ‘क्रेडिट रेटिङ’ गरेको भेटिएपछि बोर्डले ‘किन कारबाही नगर्ने’ भनी पत्र पठाएको थियो।
कम्पनीले बोर्डमा पठाएको जवाफ चित्तबुझ्दो नदेखिए पनि कारबाही गर्न भने बोर्डले आनाकानी गर्दै आएको छ। तर, यहीबीच केयर रेटिङ्सले कानून विपरीत गरेका क्रेडिट रेटिङ रद्द गरेर उम्किने बाटो खोजेको आशङ्का छ।
घोराही सिमेन्टमा पनि केयर रेटिङ्स नेपालले गरेको मूल्याङ्कनमा स्वार्थको द्वन्द्व भएपछि बोर्डले जेठ ३० मा यसबारे स्पष्टीकरण पेश गर्न पत्र पठाएको थियो। बोर्डले असार ४ मा विज्ञप्ति नै निकालेर क्रेडिट रेटिङबारे स्पष्टीकरण सोधिएको उल्लेख गरेको थियो। तर, केयर रेटिङ्सले बोर्डको स्पष्टीकरणमा के जवाफ दियो भन्ने प्रस्ट छैन।
बोर्डका प्रवक्ता मुक्तिनारायण श्रेष्ठले केयर रेटिङ्सले घोराही सिमेन्टको क्रेडिट रेटिङ्स गर्दा स्वार्थको द्वन्द्व भए/नभएको विषयमा छानबिन जारी रहेको बताएका छन्। “यो विचाराधीन विषय हो, बोर्डले यसबारे निर्णय गर्नेछ,” श्रेष्ठले भने।
कानूनको सोझै उल्लङ्घन
क्रेडिट रेटिङ नियमावली, २०६८ ले एउटै स्वार्थ बाझिने खालका कम्पनीको क्रेडिट रेटिङ गर्न रोक लगाएको छ। अर्थात् आपसमा सम्बद्ध कम्पनीको क्रेडिट रेटिङ गर्न मिल्दैन। क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक शेयरधनी, मुख्य शेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाको क्रेडिट रेटिङ गर्न नहुने व्यवस्था छ। त्यसैगरी, क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य शेयरधनी वा मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न नपाउने व्यवस्था गरेको छ।
तर, केयर रेटिङ्स नेपालले शुरूआतदेखि नै आफ्ना मुख्य शेयरधनी विशाल समूहसँग सम्बद्ध कम्पनीको क्रेडिट रेटिङ गर्दै आएको छ। केयर रेटिङ्स नेपालमा विशाल समूह र यसका सदस्यको कम्तीमा १९ प्रतिशत शेयर स्वामित्व छ। यसबाहेक थप शेयरमा पनि घुमाउरो लगानी छ।
हिमालखबरलाई प्राप्त केयर रेटिङ्स नेपालको शेयरधनी दर्ता किताबका अनुसार यो कम्पनीमा विशाल समूहको १० प्रतिशत र विशाल समूहका प्रबन्ध निर्देशक अशोककुमार अग्रवालका छोरा अर्पित अग्रवालको नाममा नौ प्रतिशत शेयर स्वामित्व छ। यस बाहेक विशाल समूह र यसका सदस्य सम्बद्ध अन्य कम्पनीको पनि उल्लेख्य मात्रामा शेयर लगानी छ।
क्रेडिट रेटिङ नियमावलीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रेडिट रेटिङ संस्थाको १० प्रतिशत शेयर स्वामित्व लिने व्यक्ति सम्बद्ध अरू कम्पनीको क्रेडिट रेटिङ गर्न रोक लगाएको छ। यसले एक दर्जनभन्दा बढी कम्पनीमा केयर रेटिङ्सले गरेको क्रेडिट रेटिङको वैधतामा प्रश्न उठाएको छ।
त्यसैगरी, घोराही सिमेन्टको शेयर सर्वसाधारणमाझ बिक्रीका लागि ल्याउनुअघि गरिएको क्रेडिट रेटिङको वैधतामा प्रश्न उठाएको छ। धितोपत्र बोर्डले पनि घोराहीको प्राथमिक शेयर निष्कासनको प्रक्रियालाई दुई साता स्थगित गरेर असार २० मा फेरि फुकुवा गरिदिएको छ।
केयर रेटिङ्सले विशाल समूह सम्बद्ध कम्पनीको रेटिङ फिर्ता लिएर उम्किन खोजे पनि प्रक्रियामा नै कानूनी त्रुटि देखिएको छ। नियमावलीको नियम २३ को उपनियम (२) ले रेटिङ गरिएको धितोपत्रको निष्कासनकर्ता कम्पनी खारेज भएकोमा बाहेक अन्य अवस्थामा क्रेडिट रेटिङ संस्थाले रेटिङ कायम रहने गरी निश्चित गरिएको अवधि बाँकी रहेसम्म रेटिङ फिर्ता लिन पाउनेछैन भन्ने व्यवस्था गरेको छ। कम्पनीको आग्रह अनुसार रेटिङ फिर्ता लिने व्यवस्था नियमावलीमा छैन। तर, केयर रेटिङ्सले भने सम्बन्धित कम्पनीको आग्रह अनुसार रेटिङ फिर्ता गरिएको जनाएको छ।
नियमावलीमा क्रेडिट रेटिङ संस्थाले नियमावलीमा उल्लिखित प्रावधान उल्लंघन गरेमा त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन वा खारेज गर्न सक्ने व्यवस्था छ। नियमावलीको नियम १२ मा भनिएको छ, ‘ऐन तथा ऐन अन्तर्गत बनेका नियमावली वा बोर्डले समय समयमा जारी गरेका निर्देशनहरूको बारम्बार उल्लंघन गरेको भन्ने अनुसन्धानबाट पुष्टि भएमा वा क्रेडिट रेटिङ संस्थाको कार्यबाट लगानीकर्ताको हित विपरीतका कार्य भएको देखिएमा बोर्डले लिखित स्पष्टीकरण माग गरी त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने कार्य प्रारम्भ गर्नेछ।’