पुनहरू मगर नै हुन् कि छुट्टै जाति?
पुन, बुढा र घर्ती मगरहरूको उत्पत्ति क्षेत्र एकै सेरोफेरोमा जोडिने भएकाले कतिपय पुनहरूले मगर होइनौं, छुट्टै जाति हौं भन्नु आफैंप्रति अविश्वास हो।
म्याग्दी र म्याग्दीबाट बसाइँ सरेर पोखरा, चितवन, बुटवल र बेलायत पुगेका पुन समुदायका केही व्यक्तिले आफूहरू ‘मगर होइनौं’ भन्ने दाबी गर्दै आएका छन्। यो अभियान एक दशकभन्दा बढी समयदेखि चलेको सुनिन्छ।
पछिल्लो उत्कर्षमा राष्ट्रिय तथ्याङ्क कार्यालयले जब राष्ट्रिय जनगणना २०७८ को नतीजा सार्वजनिक गर्ने क्रममा ‘पुन जाति’ भनेर मगरबाट अलग जनसंख्या निकाल्यो, तब मगर सहित अरू जातिहरू ‘जाति फुटाउने’ आरोप लगाउँदै तातिए। तात्नु स्वाभाविकै थियो। यसको कारण के भन्ने प्रश्न उठ्ने हुनाले यसबारे लेख्न चासो लाग्यो।
यस लेखमा दुई वटा मिथकबारे चर्चा गरिनेछ, जसले ‘पुन’ थरको उत्पत्तिसँगै पुनहरूको आदिपुर्खा कर्वाकेलिबारे जानकारी दिनेछ र अन्ततः पुन को हुन् भन्ने तथ्यको नजिक पुर्याउनेछ।
उत्पत्तिको मिथक
कुनै पनि लोकजीवनको दर्शन र श्रुतिपरम्परा भन्नु नै त्यस समुदायको समाजशास्त्रीय र मानवशास्त्रीय प्राण हो। जुन त्यस समाज र भूगोलको सामाजिक मूल्यमान्यताका रूपमा स्थापित भइसकेको हुन्छ। पछिका दिनहरूमा कथंकदाचित् यसलाई जान-अन्जानमा बेवास्ता गरिए यसले अविश्वास मात्रै पैदा गर्छ।
हरेक समुदायले आफ्नो उत्पत्तिबारे चासो राख्दै, अध्ययन अनुसन्धान गर्दै र लेख्दै आएको छ। समाज विज्ञानमा कुनै पनि जात/जाति/जनजातिका विविध मिथक नै तिनका उत्पत्ति र सामाजिक इतिहासका स्रोत मानिन्छन्। मिथकले अनुसन्धान अगाडि बढाउने परिकल्पनाको काम पनि गर्छ। मगर होइनौं भन्ने पुनहरूले पनि आफ्नो उत्पत्तिको उत्खनन गर्दै होलान्, गर्नुपर्छ पनि।
मगर जातिभित्रै पनि विभिन्न थरको उत्पत्तिबारे गहिरो खोजको खडेरी नै छ। पुनहरूको उत्पत्ति थलो कहाँ हो भन्ने मिथकको छोटो चर्चा गरौं।
सन् १९७० को दशकमा जर्मन मानवशास्त्री माइकल अपिजले अठार मगराँतमा गएर त्यहाँका मगरबारे विद्यावारिधि गरेका थिए। त्यस क्रममा उनले मिथकहरू सङ्कलन गरे। लेखहरू लेखे। सन् १९८३ को कैलाश जर्नलमा अपिजको ‘द वाइल्ड बोर एन्ड द प्लाउः ओरिजिन स्टोरिज अफ अफ नर्दर्न मगर’ (जङ्गली बँदेल र हलोः उत्तरी भेगका मगरहरूका उत्पत्ति कथा) शीर्षकको लामो लेख प्रकाशित छ। लेखमा खासगरी बुढा र घर्ती मगरको उत्पत्तिको मिथक, कृषि, शिकार र विवाहबारे उल्लेख छ। यसका साथै ‘पुन’ का बारेमा पनि चर्चा गरिएको छ।
अपिजले बुढा र घर्तीबारे जस्तो पुनबारे अलग्गै र लामो विश्लेषण गरेका छैनन्। घर्ती मगरको उत्पत्तिको मौखिक मिथकसँग पुन मगरलाई जोडिएको छ। अपिजको लेखमा पुनलाई कसरी जोडिएको छ भन्ने मिथकबारे मात्रै चर्चा गरौं। किनभने पुनको उत्पत्ति थलोबारे अहिलेसम्मकै पहिलो लिखत र भरपर्दो मिथक लाग्यो। म्याग्दीका सबै (बाह्र मगराँत बाहेकका) थरका मगरहरू आफूहरू पश्चिमबाट आएकोप्रति विश्वास गर्ने भएकाले यो मिथक भरपर्दो लागेको हो।
अपिजले उल्लेख गरेको मिथक यस्तो छ-
“देवताको थर/गोत्रबाट एक देवता चट्टानी गुफाभित्रको झरनाबाट उत्पत्ति हुन्छन्, जसलाई पीमाचैरे भनिन्छ। देवता र स्त्री मानव एकअर्कासँग नजिकिन्छन्। पछि स्त्री गर्भवती हुन्छिन्। त्यस घटनाका कारण देवतालाई उनका बाबाआमा र दाजुभाइले स्विकार्दैनन्। देवता आफ्नो पुर्ख्यौली सम्पत्ति लिन घर जान्छन्। देवताले श्रीमतीलाई भन्छन्, ‘नडराऊ, म गएर सम्पत्ति लिएर आउँछु।’ उनी गएर बाबाआमा र दाजुभाइसँग सम्पत्ति बाँडफाँड गरेर ल्याउँछन्। सम्पत्तिका रूपमा रातो, सेतो, कालो र छिर्केमिर्के गाईहरू थिए। यति देख्दासम्म उनकी श्रीमती सामान्य नै थिइन्, तर हरियो र बेसार रङको गाई देखिन थालेपछि उनी डराइन्। देवताले ती रङका गाई फिर्ता पठाइदिए। त्यसपछि त्यस्तो गाईको अस्तित्व नै रहेन। देवताको बाबा-आमाले यो जोडीका लागि एक अङ्गरक्षक पनि पठाइदिए। जसलाई जुजाली भनियो।
उनीहरू सम्पत्ति सहित लुताबाङ (रुकुमको हुकाम नजिकै) गएर बसे। त्यहाँ उनीहरूलाई लुतो रोगले सतायो। त्यहाँबाट सरेर झाँक्रीबाङ (हुकाम नजिक) आएर बस्न थाले। त्यहाँ पनि उनीहरूलाई सधैं रोगव्याधिले दुःख दियो। उनीहरूले झाँक्री बोलाउनुपर्यो। कालान्तरमा त्यस ठाउँलाई झाँक्रीबाङ भनियो। त्यहाँबाट हुकाम आएर बस्न थाले। उनीहरूका ६ छोरा र एक छोरी भए। छोरी अचानक गर्भवती भइन्। कसरी यस्तो भयो भनी उनीहरूले छोरीलाई सोधे। उनले भनिन्- ‘एक जना मान्छे आउँछ र उसको छोराबाट म गर्भवती भएँ।’ उनीहरूले सल्लाह दिए, ‘त्यो मान्छे फेरि आयो भने खुट्टामा सुतीको धागो बाँधिदिनू।’
छोरीले त्यसै गरिन्। बाँधेको धागो तन्किँदै गएर चट्टानी पहराभित्रको आसन भागमा पुग्यो। त्यहाँ हेर्दा एक हड्डीमा धागो बाँधिएको देखे। ती महिला त्यही मृतात्माबाट गर्भवती भएको निर्क्योल भयो। ती महिलाबाट जन्मेको छोराको नाम ‘सुतपहरे धर्ती’ राखियो। यसको अर्थ, उनको जन्म धर्तीबाटै भयो। कालान्तरमा धर्ती अपभ्रंश भई घर्ती भयो।
यिनै पहिलो घर्तीका छोराहरूका पेशा शिकार गर्ने मात्र भयो। यिनको विवाहबारे र कति भाइ छोरा थिए भनी मिथकमा कतै उल्लेख छैन। शिकार गर्ने क्रममा हुकामबाट जङ्गली बँदेल लखेट्दै जाँदा तक नजिकैको खोलोनिर पुगे, जहाँ बँदेल पौडी खेल्यो। त्यो ठाउँलाई पौडी खेल्न हुने जस्तो ठाउँ भनेर चेबाङ भनियो। त्यो ठाउँ उनीहरूलाई धेरै राम्रो लाग्यो।
एक भाइलाई हुकाममै छोडेर बाँकी तकसेरामा फर्किए। उनीहरू तकसेरामा बसोबास गर्न थालेपछि हुकाममा छोडेको भाइलाई बाछीगाउँको खालीबाङ मैदानमा बस्न भने। त्यो भाइ निकै चलाख थियो। तर, खालीबाङमा नबसेर पछि राम्रो हुन्छ भन्ने विचार गरेर तक गाउँकै नजिकको ठाउँमा बस्यो। तकका भाइहरूले ‘किन यहाँ आएर बसेको’ भनेर सोधे। जवाफमा उसले भन्यो- ‘म तपाईंहरूसँगको छोटो दूरीमा हुन्छु। तपाईंहरूको भाले बासेको सुन्न र अगेनोमा आगो बालेको देख्न सकूँ भनेर म यहाँ आएको हुँ।’ यो भाइलाई उनीहरूले गाईको बाछी हेर्ने जिम्मा दिए। यसबाटै त्यस ठाउँको नाम बाछीगाउँ रहन गएको मानिन्छ।
ती भाइहरू चार दिशातर्फ फैलिंदै गए। तक क्षेत्रमा बस्नेले जहाँ फैलिए पनि घर्ती मगर थर राखे। हुकाममा बस्नेहरू बुढा मगर भनेर चिनिए। बाछीगाउँमा बस्ने पुन मगर भए। यीमध्ये एक समूह देवीदेवतालाई पुज्ने पण्डित वा पुजारी बने।”
कुन समूह पुजारी भयो भनेर अपिजले खुलाएका छैनन्। अरू भाइहरूभन्दा चलाख भएकाले शायद बाछीगाउँमा बस्ने पुन मगर नै पुजारी वा पण्डित भएको हुनुपर्छ। यो मिथकलाई आधार मान्दा बाछीगाउँ पुन मगरहरूको आदिथलो हुनुपर्छ भन्ने बलियो तर्क पनि छ। अपिजले ‘बाछी/बछी’ लाई शाब्दिक रूपमा गाईको बाच्छीसँग जोडेका छन्। मगर खाम भाषामा यसको शाब्दिक अर्थ भेगको विविधताका आधारमा अर्को पनि हुन सक्ला। यद्यपि त्यस तकसेरा वरपरको मगर खाम भाषामा स्त्री जातको बाच्छोलाई ‘बाछी’ नै भन्छन्। (मगर ढुट बोल्ने गण्डकी प्रदेशका मगरहरूले पनि बाछी नै भन्ने गर्छन्)। अरू थप खोजको विषय छ।
माथिको मिथकले घर्ती, बुढा र पुनबीच नजिकको सम्बन्ध रहेको बताउँछ। उत्पत्तिको थलो (क्षेत्र) एकै हो। मिथक पनि लगभग एकै हो। अपिजले यी तीन वटा बाहेक अर्को थर रोका जन्मियो भनेका छन्। कालान्तरमा पुन, घर्ती, बुढा र रोकाभित्र विभिन्न उपथर विकसित हुँदै र थपिंदै गए पनि होलान्। कतै एकै थरका धेरै भएर दुई थरमा परिणत पनि भए। विशेष गरेर वैवाहिक सम्बन्धमा कठिनाइ भएर विभाजन भएको पाइन्छ। बसोबास गरेको स्थानको नाम त छँदै छ, कामका आधारमा पनि थर र त्यसबाट उपथर भएका छन्। यसरी विस्तार हुँदै गए र नेपालभर छरिंदै र फैलिंदै गए। कोही पूर्वोत्तर धौलागिरि काखमा र कोही दक्षिण-पश्चिम भेगतर्फ लागे।
जर्मन मानवशास्त्री माइकल अपिजकाे लेख
‘कर्वाकेलि/कर्वाके’ को मिथक
विश्वका धेरैजसो मानव समुदायले पुर्खाको पूजा गर्दै आएका छन्। ब्राह्मण/क्षेत्री समुदायले सप्तऋषिलाई मान्छन्। पूर्वतिरका किराँत समुदायले सुम्निमा र पारुहाङलाई पुर्खा मान्छन्। म्याग्दीका पुनहरूले पनि कर्वाकेलिलाई आदिपुर्खा मान्छन्।
आदिपुर्खा हुन् भने उनी कहाँका हुन्? कहाँबाट म्याग्दीको राम्चे इलाकामा गए? उनलाई मान्नुको कारण को हो? कर्वाकेलिका नौ भाइ छोरामध्ये जेठो रामचन र कान्छो कुलचनलाई आदिपुर्खा मानेर कुलपूजा गर्ने चलन छ। मगर होइनौं भन्ने पुनहरूले कर्वाकेलिलाई ‘धर्म’ कै रूपमा दाबी गरेका कारण यो मिथक उल्लेख गर्न आवश्यक भयो।
को हुन् कर्वाके(लि)?
कुल पुज्दा झाँक्रीहरूले कर्वाकेलिको लामो कथा कहन्छन्। झाँक्रीहरूको भाखामा भन्ने गरेको मिथकको मुख्य पात्र कर्वाकेलि हुन्। यिनको बारेमा झाँक्रीले भन्दै आएको ओखालाई लिखित स्वरूप समेत दिइएको छ। पुन मगर सम्बन्धी लेख र अनुसन्धानहरूमा कर्वाकेलिको शाब्दिक अर्थबारे उल्लेख गरेको पाइँदैन। यिनको बारेमा धेरथोर चर्चा भने गरिएको देखिन्छ। संस्कृतिविद् जगमान गुरुङको पुस्तक नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रश्रण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन (२०६१ साल)मा कर्वाकेलिको भाषिक अर्थ यसरी लगाइएको छः
‘खार्प खे’ लाई कतैकतै कार्बकेलि पनि भनेको पाइन्छ। ‘खार्प’ नामवाचक शब्द हो र ‘खे’ को अर्थ बाजे वा पुर्खा हो। अतः ‘खार्प खे’ को अर्थ ‘खार्प’ नाम गरेको बाजे वा पुर्खा भन्ने हुन्छ। गुरुङहरू खार्प खे वा कार्बकेलिलाई अगु क्हर्ब भन्दछन्। गुरुङहरूका परम्परागत पुरोहित पज्यु (झाँक्री)को पे (पुरानो कथा)मा अगु क्हर्बको कथा पाइन्छ। पुन मगर भाषाको खार्प वा कार्व र गुरुङ भाषाको क्हर्ब एकै प्रकारका शब्द हुन्। लवज मात्र फरक हो (गुरुङ, २०६१ः पृ. १६०)।
खार्प खे नाम गरेको पुन मगरको पुर्खालाई कर्वाकेलि भनिएको हुनुपर्छ। म्याग्दी जिल्लामा मगर भाषा लोप भएको हुनाले अनुसन्धातालाई यसको अर्थ लगाउन कठिन भयो होला। संस्कृतिविद् गुरुङले उल्लेख गरे जस्तै यो नामवाचक शब्द हो र यसको अर्थ पुर्खा भन्ने हुन्छ, जुन सांस्कृतिक रूपमा गरिएको अभ्यासले पनि व्यावहारिक भएको पुष्टि हुन्छ। यिनलाई पुन मगरहरूले कुलका रूपमा पुज्ने र आस्थाको केन्द्र बनाउँदै आएका छन्। नेपाली चलचित्र सीमारेखाका कथाकार नरु थापाले आफ्नो पुस्तक किराँत वंश र मगरहरू (२०६६) मा लेखेका छन्ः
उहिले मैते अर्थात् मैकोटे धामीको पालामा रुकुम जिल्लाको मैकोट गाउँमा माछापुरणको घरमा करपाकेको जन्म भएको थियो। करपाकेको बाबा माछापुरणले चेपनखोलाको लामालाई गुरु राखी शिक्षा दिलाए। ज्योतिषविद्या, तन्त्रमन्त्र र पशुबोली जान्ने कलामा करपाके पोख्त भए। रैनसिनीले नौ छोराहरू जन्माइन्। र, उनको मृत्यु भयो। करपाके र नौ नातिहरूको दुःख देख्न नसकी ससुराले रैनसिनीको बहिनी फिमलालाई आफ्ना नौ छोरालाई आफ्नै छोरा सरह मानी माया गर्नू भनी करपाकेलाई दिए। फिमला पनि दिदी रैनसिनी जस्तै बत्तीस लक्षणले युक्त थिइन्। त्यस गाउँमा करपाकेलाई धेरै नोक्सान परेकोले ध्यानमा बस्दा पूर्व गए शुभ हुन्छ भन्ने देखिएपछि आफ्ना नौ छोरा र फिमलालाई लिई पूर्वतर्फ लागे (थापा नरु, २०६६ः पृ. १२०-१२१)।
थापाले उल्लेख गरे जस्तै करवाकेलि तन्त्रमन्त्र विद्यामा निपुण भएकाले पुजारी पनि भएका थिए होलान्। बमकुमारी बुढामगरका अनुसार, पुजारीलाई पोन भनिएको र कालान्तरमा पुन थर हुन गयो भन्ने तर्क छ। मेजन पुन मगरले पुन मगरः एक अध्ययन पुस्तक (२०६६)मा लेखेका छन्- पुन मगरका पुर्खा करवाके पश्चिम हुकाम-मैकोटबाट आएका हुन् भन्ने कुरा झाँक्री र बुढापाकाहरू भन्ने गर्छन्। उनी श्रीमती र नौ जना छोराका साथ निसीखोला- भुजीखोला हुँदै काफलडाँडा आएका हुन् भन्ने गरिन्छ (पुन मगर, २०६६ः २८)।
यी कथा विश्लेषण गर्दा म्याग्दीका ‘पुन मगर हौं’ र ‘पुन मगर होइनौं’ भन्नेका पुर्खाहरू हाल पूर्वी रुकुमको हुकाम-मैकोटबाट पूर्वतर्फ आएको अनुमान हुन्छ। झाँक्रीहरूले अझै पनि मैकोटे धामीको प्रसङ्ग निकाल्छन्। अब त ‘कर्वाके’ मा केही प्रस्टता आएको हुनुपर्छ। ‘लि’ ले के जनाउँछ भन्नेमै द्विविधा हुन सक्छ। हुकाम मैकोटमा बोलिने मगर खाम भाषामा ‘लि’ को अर्थ धनुष हो। त्यहाँका स्थानीय झाँक्री र पाका व्यक्तिहरूका अनुसार कर्वाकेलि धनुष विद्यामा पारङ्गत थिए भनिन्छ। हुन पनि उनी गोठालोका साथै शिकारी पृष्ठभूमिबाटै हुर्किएका थिए।
कर्वाकेलिको पूजा स्थानबारे जगमान गुरुङ (२०६१) लेख्छन्- राम्चे इलाका पुन मगरहरूको बसोबास क्षेत्र हो। राम्चेको वनभित्र एउटा ठूलो गुफा छ र त्यस गुफाभित्र ढुङ्गा गाडेर खार्पा खेको स्थान बनाइएको छ। अतः राम्चेको यो गुफा खार्पा खे गुफाको नामबाट प्रसिद्ध छ। राम्चेको खार्प खे गुफामा जेठ पूर्णिमाको दिनमा खार्प खेको पूजा गरिन्छ। त्यस दिन यहाँ ठूलो मेला लाग्छ। च्यु (अक्षता), रुरुको डाला, नौसिङ्गे भाले र चुयाँको पर्याङ आदि खार्प खेको पूजामा चढाइने मुख्य सामग्री हुन् (गुरुङ, २०६१ पृ.१५९-१६०)।
एकातिर कर्वाकेलिलाई ‘धर्म’ का रूपमा मान्न दाबी गर्ने र अर्कातिर मैकोटबाट आएका कर्वाकेलिका सन्तान हौं भन्नेले मगर होइनौं भन्नु अमिल्दो तर्क त हो नै, यो सरासर तथ्यहीन दाबी हो। कर्वाकेलि धर्म नै होइन। उनको दर्शन त प्रकृतिपूजक हो। अर्थात् झाँक्री परम्पराबाट निःसृत हो। कर्वाकेलिको कथा कुनै लिखित शास्त्र होइन, झाँक्रीहरूले आफ्ना भाखाद्वारा बक्दै आएको मिथक या कथा हो।
पुनले मात्रै हैन, अरू थरका मगरहरूले पनि कर्वाकेलिलाई आफ्नो पुर्खा मान्छन्। जस्तो कि, म्याग्दीकै बरङ्जामा नौ थर चौवन्न कुरियामा विभिन्न थरका मगरको सामूहिक संस्कार र जीवनपद्धति छ। जस्तै- रोका, घर्ती, पुन, दर्लामी, फगामी आदि। यिनीहरू कर्वाकेलिको कथा भनेर कुलपूजा गर्छन्। यस पंक्तिकारमध्ये पहिलोको एक जना दाजु झाँक्री छन्। उनले जुन थरका मगरहरूको पूजा गर्दा पनि कर्वाकेलिकै कथा भन्छन्।
कर्वाकेलिको कथा भनेर कुल पुज्ने मगरहरू बाग्लुङ र म्याग्दीमा भेटिन्छन्। बाग्लुङ ताराखोला क्षेत्रका मगरहरू पनि कर्वाकेलिलाई कुलका रूपमा पुज्छन्। यसकारण कर्वाकेलि पुनहरूको मात्रै या अरू थरका मगरहरूको पनि पुर्खा हुन् भन्ने अध्ययनको विषय हुन सक्छ। कर्वाकेलि म्याग्दीकै काली भेगमा उत्पत्ति भएका र कतैबाट नआएका हुने थिए भने मगर हैनौं भन्ने तर्कमा केही दम हुँदो हो। तर, मिथकले त्यो भन्दैन, बरु पूर्ण रूपमा नकार्छ।
बसाइँसराइँको इतिहास
यी मिथक मसिनो गरी केलाउँदा हाल म्याग्दी जिल्लामा बसोबास गर्ने पुन (‘मगर हौं’ र ‘मगर होइनौं’ भन्ने) लगायत अन्य थरका मगरहरूको बसाइँसराइँ पश्चिमबाट भएको भन्ने बलियो आधार छ। अमर रोकाले बरङ्जा र चौवन्न कुरियाको ऐतिहासिक चिनारी पुस्तक (२०७६) मा म्याग्दीको बरङ्जामा बसाइँ सरी आएकोबारे चाखलाग्दो किस्सा उल्लेख गरेका छन्-
पूर्व जाम् भने रस नभा’को,
दक्षिण जाम् भने जात नभा’को,
उत्तर जाम् भने हिउँले खा’को,
पश्चिम जाम् भने आफैं आ’को।
यो कथ्यले दुई पाटो प्रस्ट्याउँछ। एक, बरङ्जामा नौथर चौवन्न कुिरयाका मगरहरू (जसमा पुन पनि समावेश छन्) पश्चिमबाट आएका हुन्। दुई, उनीहरूले जात व्यवस्था मान्दैनथे। बरु नजिकको दक्षिण भेग (भारत)मा जात व्यवस्था थियो। यी मगरहरू कुनै जातमा पर्दैनथे। कथ्यहरूले के प्रस्ट पार्छन् भने हाल म्याग्दीमा बसोबास गरेका बाह्र मगराँतका मगरहरू बाहेक अन्य मगर सबै राप्ती क्षेत्रबाटै आदिकालमा विभिन्न समयमा बसाइँ सरेर आएका हुन्। अझ कर्वाकेलि मैकोटबाट आएका हुन् भन्ने कर्वाकेलि सम्बन्धी अध्ययनहरूले पुष्टि गर्छन्। यद्यपि यसबारे अझै गहन अध्ययनको खाँचो छ।
‘पुन मगर होइनौं’ भन्ने केही मगरको बसोबासको इतिहास र बसाइँसराइँबारे वैज्ञानिक महावीर पुनले सम्पादन गरेको पुस्तक पुन मगरहरूको लोककथा (२०५३)मा समेटिएका व्यक्तिहरूको भनाइ पनि उत्तिकै सान्दर्भिक छ। अहिलेको पर्वत जिल्लासम्म फैलिएका पुनहरूको कथ्य रोचक छ। जस्तै- पर्वत बनहुँ गाउँका नन्दराम गर्बुजा (७५)ले भनेका छन्, ‘हाम्रा जिजुबाजेहरू हुकाम मैकोटबाट आएका हुन्। त्यहाँबाट दुई भाइ भागेर आएका थिए रे। गलेश्वर तरेर एक भाइ चिमखोलातिर लागेछन् र अर्को भाइ काली तरेर बाँसखर्कतिर लागेछन्।’ त्यस्तै सालिजा गाउँका पुर्षोराम चोचाङ्गी (७५)ले भनेका छन्, ‘हाम्रा जिजुबाजेहरू पश्चिम नेपालको रोहानी दह भन्ने ठाउँबाट आएका थिए रे। त्यहाँ धेरै जनसंख्या भएपछि केही परिवार उत्तर-पूर्वतिर र केही परिवार दक्षिण-पूर्वतिर लागेछन्। दक्षिण-पूर्वतिर जाने मगरहरू आले, थापा, राना जस्ता थरका भए र उत्तर-पूर्वतर्फ लाग्नेहरू पुन भए। पुन मगरहरू पहिलेको म्याग्दीको पाखापानीमा आएर बसोबास गरे।’
अन्त्यमा, पुनहरू म्याग्दीमै आदिमानवबाट सिर्जित-विकसित भएका होइनन्, बसाइँ सर्दैसर्दै आएका हुन्। मिथकले पुनहरू बाछीगाउँ, हुकाम, मैकोटबाट पूर्वोत्तर र दक्षिण-पश्चिम फिंजिएका हुन् भन्ने देखाउँछ। यस पंक्तिकारमध्ये पहिलोको पुर्खा म्याग्दीको मुना गाउँमा आएको आठ/नौ पुस्ता भएको अनुमान छ। गाउँका अग्रजहरू हुकाम-मैकोटबाट आएका हौं भन्ने गर्छन्। राङ्गु उपथरका पुनहरू मैकोटमा छन्, जसको त्यहाँ बाक्लो बस्ती छ। कालीखोला पानीढलोका पुनहरू सम्भवतः यस पंक्तिकारमध्ये पहिलोको पुर्खाभन्दा धेरै पहिले यस भेगमा विचरण गर्न पुगे। उनीहरू बसेको स्थाननामहरू मगर खाम भाषामै छन्।
माइकल अपिजले उल्लेख गरेका तीन (हुकाममा बुढा, तकसेरामा घर्ती र बछीगाउँमा पुन) समूहमध्ये एक समूह पुजारी भएको र नरु थापाले कर्वाकेलिले तन्त्रविद्या सिकेको भन्ने लिखत केही मिल्दोजुल्दो छ। पुजारी वा पण्डित भएकाले तन्त्रमन्त्रको ज्ञानमा लागेका पनि होलान्। पोन (पुन) भनेको मगर खाम भाषामा पुजारी पद हो भन्ने तर्क पनि छ। पुजारी भएकाले पोन भनिएको हो कि पुन थरका पुजारी भएकाले पोन भनिएको हो, अध्ययनको विषय छ। कर्वाकेलि हुकाम, मैकोट वा बाछीगाउँबाट म्याग्दीमा आएका हुन् भने यिनका बारेमा त्यहाँसम्म जोड्ने मसिनो अनुसन्धानको खाँचो छ।
पुन, बुढा र घर्ती मगरहरूको नेपालभर जहाँ भए पनि उत्पत्तिको त्यान्द्रो बाछीगाउँ, हुकाम, मैकोट, तकसेरा गाउँको सेरोफेरोमा नै जोडिन्छ। मगर हौं र हौइनौं भन्ने पुनहरूले खोज्दै जाँदा भेटिने र जोडिने नाभि एउटै हो। थोरै पुनहरूले छुट्टै जाति हौं भन्नु आफैंप्रति अविश्वास दर्शाउनु बाहेक केही होइन। यो तथ्यलाई ‘मगर होइनौं’ भन्ने केही पुनहरूले भ्रमबाट निस्किएर वेलैमा आत्मबोध गर्नु उपयुक्त हुन्छ।
कर्वाकेलिलाई ‘धर्म’ का रूपमा आदिपुर्खा दाबी गर्नुसँगै उनै कर्वाकेलि हुकाम-मैकोटबाट आएको पुष्टि हुने लोक आहानलाई सामाजिक एवं सांस्कृतिक दृष्टिले अस्तित्वका रूपमा स्विकारिएकै हो। बसाइँसराइँका यी यावत् सत्यता पर्गेल्न जानाजान कन्जुस्याइँ गर्ने कमजोर धरातलमा पुन एउटा जाति बन्नै सक्दैन। यद्यपि अहिले जेजतिले ‘हामी पुन मगर होइनौं’ अर्थात् ‘पुन जाति भयौं’ भनिरहेका छन्, ती सबैले यसअघि नै ‘पुन मगर’ हुनुमा गर्व त गरेकै थिए। उनीहरू मगर जातिको छाता संगठन नेपाल मगर संघमा आबद्ध भएका मात्र थिएनन्, त्यसको अगुवाइ समेत गरेकै थिए। मगर जातिको इतिहास, भाषा, कला, संस्कृति, समाज अध्ययन लगायत बौद्धिक क्षेत्रसँगै सामुदायिक उत्थानका विविध क्षेत्रमा योगदान पनि पुर्याएकै थिए।
यत्तिको संयुक्त सामर्थ्य हुँदाहुँदै अर्काले चुँडाइदिने र अर्कालाई नै जोडिदेऊ भनी जीहजूरीमा अस्तित्व धान्ने त मगर जाति पक्कै होइन। सोझोपन र बफादारीको बर्को कमजोर धागोबाट बुनेको त पक्कै नहोला, जसलाई अरूले च्यात्न सजिलो होस्।
याे पनि पढ्नुहाेस्
विभाजनकारी त्यो प्रतिवेदन