राईको जनसंख्या घटेको कि घटाइएको?
पहिचानको मुद्दासँगै भाषा, थर, वंश, टोल, खानदानका नाममा जातिहरूबीच बढेको विभाजन तथा विखण्डनको सबैभन्दा ठूलो प्रभाव राईमा परेको छ।
बाह्रौं राष्ट्रिय जनगणना-२०७८ सकिएको करीब डेढ वर्षपछि धर्म, जाति र भाषा सम्बन्धी तथ्याङ्क सार्वजनिक भएको छ। २०५८ को जनगणनामा १०२ रहेको जातजातिको संख्या २०६८ मा १२५ हुँदै २०७८ मा १४२ पुगेको छ। त्यस्तै, मातृभाषाको संख्या ९२ बाट क्रमशः १२३ र १२४ पुगेको छ।
तथ्याङ्क विभागले २०६८ को गणनामा उल्लिखित १२३ मातृभाषामध्ये १२ वटा विदेशी भाषा हटाएर थप १३ मातृभाषा समेटिएको जनाएको छ। धेरैजसो समुदायका अगुवा जनगणनाले आफ्नो समुदायको सही चित्र नदेखाएको बताइरहेछन्। कुल जनसंख्याको ८१.१९ प्रतिशत देखिएको हिन्दू धर्मका केही पण्डित पनि ‘हिन्दू धर्म मान्नेहरू त्यसभन्दा धेरै हुनुपर्ने’ भनिरहेका छन्।
ओह्रालो अनुपात
२०५८ को जनगणनामा राई जातिका मानिसको संख्या ६ लाख ३५ हजार १५१ अर्थात् कुल जनसंख्याको २.७९ प्रतिशत थियो। २०६८ मा १५ हजार १४७ घटेर ६ लाख २० हजार चार (२.३४ प्रतिशत) मा आइपुग्यो भने २०७८ मा २० हजार ६७० बढेर ६ लाख ४० हजार ६७४ पुग्दा यो जातिले कुल जनसंख्यामा २.२ प्रतिशत हिस्सा ओगटेको छ।
१० वर्षको अवधिमा कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ बाट बढेर दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। अर्थात् कुल जनसंख्या १० वर्षमा १०.०८ प्रतिशतले बढेको छ। यसलाई वार्षिक अनुपातमा हेर्दा ०.९२ प्रतिशत हुन्छ। राई जातिको जनसंख्या भने २० वर्षअघिभन्दा पाँच हजार ५२३ अर्थात् ०.८७ प्रतिशत मात्रै बढी छ। यस हिसाबले उनीहरूको पछिल्लो १० वर्षको वृद्धिदर ०.३३ मात्र छ जुन कुल जनसंख्याको वृद्धि प्रतिशतभन्दा ९.७५ कम हो। पछिल्ला तीनवटै जनगणनामा राईको स्थान दशमै स्थिर रहे पनि कुल जनसंख्याको अनुपातमा ओह्रालो लागिरहेको छ।
सरकारी अभिलेखमा अधिकांश दनुवारको थर राई लेखिएको पाइन्छ। अग्रज दनुवारहरू आफूलाई राई नै मान्छन्। राष्ट्रिय जनगणना २०५८ मा भने दनुवारलाई छुट्टै जातिमा राखी जनसंख्या ५३ हजार २२९ रहेको उल्लेख गरिएको थियो (कुल जनसंख्यामा ०.२९ प्रतिशत)। यही संख्या २०६८ मा ८४ हजार ११५ पुग्यो भने २०७८ मा एक हजार ३३१ घटेर ८२ हजार ७८४ भएको छ। पुरानो भनाइ नै छ, ‘दश राई, दश कुरा, एक चुला।’ ‘दश’ लाई प्रतीकात्मक रूपमा लिइन्छ। यस अर्थमा राई बहुभाषिक जाति हो। यसभित्र भाषिक विविधता रहे पनि ‘एक चुलो’ ले एकअर्कामा सामाजिक विभेद छैन। तर, विसं २०५० दशकको अन्त्यतिरबाट विभिन्न भाषिक समुदायले आफूलाई छुट्टै जाति दाबी गर्न थाले। परिणाम- राईभित्र विखण्डन शुरू भयो।
जनगणना २०६८ मा दनुवार बाहेककै १२ वटा भाषिक समुदाय छुट्टै जातिका रूपमा सूचीकरण भए। ती १२ समुदायको जनसंख्या २०६८ मा ७४ हजार तीन रहेकोमा २०७८ मा एक लाख १५ हजार ४२५ पुगेको छ। १० वर्षमा यी समुदायको वृद्धि ५५.९७ प्रतिशत छ। राई, दनुवार र ती १२ समुदायको संख्या जोडेर १० वर्षको तुलना गर्दा १२.९५ प्रतिशत देखिन्छ जुन राष्ट्रिय औसतभन्दा बढी हो।
किरात राई यायोख्खाका नेता तथा विज्ञहरू जनगणना शुरू हुनुभन्दा केही महीनाअघिदेखि ‘जातिको महलमा राई’ लेखाउने अभियानमा सास न बास हुँदै देशभरिका भाषिक समुदायका घर घर गइरहेको भन्दै सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरिरहेका थिए। राईबाट छुट्टिन खोजिरहेका भाषिक समुदायका केही ‘बाठा’हरू बाहेक आमसमुदायले राई लेखाउने हुनाले जनसंख्या उल्लेख्य बढ्ने ठोकुवा गर्दै थिए। नतीजा उल्टो आयो। अन्य भाषिक समुदाय पनि यसरी नै छुट्टिंदै गए केही दशकपछि राई इतिहास बन्ने देखियो।
हुँदै नभएको भाषा अभिलेखमा
राई बहुभाषिक जाति हो, तर राई नामको छुट्टै भाषा अस्तित्वमा छैन। जनगणना २०६८ मा भने ‘राई भाषा’ उल्लेख गर्दै यसका वक्ताको संख्या एक लाख ५९ हजार ५९ हजार ११४ अर्थात् कुल जनसंख्याको ०.६ प्रतिशत रहेको देखाइयो। त्यति वेला भाषाको नामले मात्र होइन, यसका वक्ताको संख्या समेत राईभित्रका अन्य भाषाको भन्दा निकै धेरै देखाइनुले जानकारहरू छक्क परेका थिए। भाषाविद्हरूले यसलाई तथ्याङ्क विभागको त्रुटि भने। विभागले भने सूचकले जे देखाउँछ, त्यही टिपेको भन्दै टारेको थियो। जनगणना २०७८ मा त्यो त्रुटि नदोहोर्याउन विभाग सहमत भएको भन्दै अब राई भाषा नदेखिने बताएका थिए, यायोख्खाका पदाधिकारी र राई समुदायका बौद्धिक ठानिनेहरूले। तर, पछिल्लो अभिलेखमा पनि एक लाख ४४ हजार ५१२ जना राईभाषी उल्लेख गरिएका छन्।
राई समूहका भाषाहरू भोटबर्मेली परिवारका हुन्, दनुवार भाषा चाहिं भारोपेली परिवारको। २०५८ मा राईका २३ भाषा समेटिएका थिए। २०६८ मा आठपहरिया, फाङ्दुवाली र बेल्हारे थपिए भने २०७८ मा मुगाली थपिंदा यो संख्या २८ पुगेको छ। पछिल्लो १० वर्षमा नाछिरिङ, दुङ्माली, छिन्ताङ, छिलिङ, बेल्हारे र साम मातृभाषीको संख्या घटेको छ। यस्तोमा हुँदै नभएको राई भाषा उल्लेख गरिंदा जनगणनाको विश्वसनीयता कमजोर देखिएको छ।
टुक्रे पहिचानको भोक
नेपाली राजनीतिमा गजेन्द्रनारायण सिंह, गोरेबहादुर खपाङ्गी र गोपाल गुरुङहरूले पहिचानको मुद्दा उठाए। माओवादी सशस्त्र द्वन्द्वले त्यसलाई तल्लो तहसम्म स्थापित गर्यो। तर, पहिचानको मुद्दा जति जति तल गाडिँदै गयो, टुक्रे पहिचानको टुसा उत्ति पलाउँदै गयो। जातजातिभित्रका भाषा, थर, वंश, टोल, खानदानका आधारमा अन्तर्विरोध उत्पन्न हुन थाले। सम्बद्ध समुदायको नेतृत्वले त्यसलाई समयमै व्यवस्थापन गर्न नसक्दा जातिहरूबीच विभाजन तथा विखण्डन शुरू भयो। यसको सबैभन्दा ठूलो प्रभाव राईमा परेको छ। किरात राई यायोख्खाको पाँचौं महाधिवेशनमा नेतृत्व प्राप्तिको संघर्षका क्रममा रोपिएको विभाजनको बीउ राई जातिलाई नै विघटनको दिशामा पुर्याउने गरी झाँगिंदै छ।
केही पदको बाँडफाँड नमिल्नाले राईभित्रका भाषिक समुदाय जनगणनामा छुट्टै जातिका रूपमा त देखिएकै छन्, जनजातिमा सूचीकरणको सँघारमा समेत छन्। यही लय अन्य जातिले पनि पक्रिन थालेका छन्। थारूबाट रानाथारू, गुरुङबाट घले भए जसरी यस पालि नयाँ जातिका रूपमा देखापरेको छ, पुन। जबकि यो मगर समुदायकै थर हो।
भाषाविज्ञान भन्छ, ‘दुई फरक भाषिकाका व्यक्तिहरू आआफ्नै भाषामा बोल्दा एकआपसमा बुझ्छन् भने उनीहरू एउटै भाषाका भाषिकाहरू बोलिरहेका हुन्छन्।’ सुदूरपश्चिम र कर्णालीमा जिल्लैपिच्छेका भाषा र राईका कतिपय भाषा भाषावैज्ञानिक कसीमा मूल्याङ्कन गर्दा भाषिका प्रमाणित हुन्छन्। तर, यसो भनियो भने पहिचानका नाममा खेलोफड्को गर्नेहरू ‘हाम्रो पहिचान मेटाउने’ भन्दै अघि सर्छन्।
यस्तो टुक्रे पहिचानले दीर्घकालीन फाइदा भने दिंदैन। एउटा जाति टुक्रिंदै नयाँ बनेका हरेक जाति अल्पसंख्यक बन्छन्। पहिचान राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागि हो। अल्पसंख्यकहरू समानुपातिक प्रतिनिधित्वको दाबेदार बन्न सक्दैनन्, संरक्षणका पात्र हुन्छन्। एउटै भाषाका भाषिकाहरू भाषाका रूपमा छुट्टिंदै जानाले भाषाको मानकीकरण र मातृभाषा शिक्षामा अहिले नै समस्या परिरहेको छ।
संविधानमा बहुजातीय तथा बहुभाषिक राज्य भनिए पनि राज्यको सारभूत चरित्र अहिले पनि एकल छ। सयभन्दा धेरै जाति र भाषा भएको देशमा सबैलाई भाग पुर्याउन सम्भव छैन भनिरहेको छ, राज्य। त्यस्तै, फुटाउने र शासन गर्ने नीतिमा राज्य अडिग छ। त्यसका लागि भरपर्दो हतियार सावित हुँदै छ, जनगणना। यता, ‘तरमारा’ हरू आफ्नो मूलघर भत्काएर चोइटाको व्यापारमा लागिपरेकै छन्।