लामखुट्टे मर्ने गर्मी
तराई-मधेशका जिल्लामा एक सातायता गर्मी यसरी बढेको छ कि लामखुट्टे समेत मर्न थालेका छन्।
रुपन्देहीको सैनामैना नगरपालिका-१ का ५६ वर्षीय नेत्रहरि कुँवरलाई एक सातादेखि लामखुट्टेले टोकेको छैन। तराई-मधेशमा चैतदेखि नै लामखुट्टले बसीखान दिँदैन्थ्यो।
जेठ दोस्रो सातादेखि लामखुट्टे कम देखिन थालेको कुँवर सुनाउँछन्। “गर्मी बढ्दा लामखुट्टे मर्दा रहेछन् कि क्या हो! अहिले त झुल नटाँगेरै पनि सुत्न सकिने भएको छ,” उनी भन्छन्।
केही दिनयता रुपन्देही सहितका तराई जिल्लामा अत्यधिक बढिरहेको गर्मीका कारण लामखुट्टे देखिन छाडेका छन्। सामान्यतया ग्रीष्म याममा लामखुट्टेको सक्रियता बढ्ने गर्छ। तर, अहिले लगातार बढिरहेको तापमानले जीवनचक्र बिथोलिदिएपछि तराईका घरमा लामखुट्टे उड्न छाडेका छन्।
जनकपुरधामको अवस्था पनि त्यस्तै छ। चैतको शुरूआतदेखि नै झुल टाँग्न थालेका स्थानीय बासिन्दालाई आजभोलि लामखुट्टेले सताएको छैन।
झापाको दमक होस् कि सुनसरीको धरान, नवलपुरको दुम्कौली होस् कि कैलालीको अत्तरिया। पूर्वदेखि पश्चिमसम्मका तराई-मधेशका गाउँशहरमा लामखुट्टे पहिले जस्तो देखिएका छैनन्। गर्मी शुरू हुने बित्तिकै आपत् पार्ने लामखुट्टे उखरमाउलो गर्मीमा भने कमै देखिएका छन्।
किन लामखुट्टे कम देखिएका छन्? जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख डा. गौरव पोखरेलको छोटो जवाफ छ- अत्यधिक गर्मी। गर्मीका कारण लामखुट्टेको वासस्थान नष्ट भएको डा. पोखरेल बताउँछन्। “जमेको पानीमा लामखुट्टे हुर्कन्छन्, तर गर्मीले जमीनको सतह सुक्खा बनाएको छ। पानी जम्न पाएको छैन। त्यसैले लामखुट्टे कम भएका हुन्,” डा. पोखरेल भन्छन्।
लामखुट्टे त कम भएका छन्, यससँगै तराई-मधेशका जिल्लामा अर्को आश्चर्यजनक परिवर्तन पनि देखिएको छ। त्यो हो, अस्पतालमा बिरामीको चाप कम भएको छ। गर्मी लागेसँगै भरिभराउ हुने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक सातायता आश्चार्यजनक तरीकाले बिरामीको चाप घटेको छ।
गत शनिबारयता बिरामीको चाप घटेको अस्पतालका फिजिसियन डा. नन्दु पाठक बताउँछन्। शनिबार बिदा भएकाले आइतबार केही बढे पनि त्यसपछिका दिनमा बिरामी घटेको उनको भनाइ छ।
डा. पाठकका अनुसार साधारणतया जेठको यो समयमा अस्पताल मलेरिया, डेंगी तथा टाइफाइडका ‘सिजनल’ बिरामीले भरिनुपर्ने हो। “मलेरिया, डेंगी तथा टाइफाइडका बिरामी निकै कम आएका छन्। साधारण ज्वरो र हिट स्ट्रोक (लू) का केही केस हेर्नु बाहेक ओपीडीमा दिउँसोदेखि खाली जस्तै बसेका छौं,” डा. पाठक भन्छन्।
प्रायः तराई-मधेशका अस्पतालमा जेठ दोस्रो सातादेखि बिरामी घटेका छन्। किन घटे बिरामी? डा.पाठक यसको सम्बन्ध लामखुट्टेसँगै जोड्छन्। लामखुट्टे नभएकै कारण अस्पतालमा बिरामीको चाप कम भएको उनको बुझाइ छ। “गर्मीले जीवाणु र लामखुट्टेका लार्भाको विकास हुन पाएको छैन,” डा. पाठक भन्छन्, “डेंगी, मलेरिया, टाइफाइड जस्ता रोगहरू स्वतः कम हुने भइहाले।”
गर्मीकै कारण लामखुट्टे कम भएका हुन् त? प्राणीशास्त्रीहरू गर्मीकै कारण लामखुट्टे कम भएको बताउँछन्। उनीहरूका अनुसार गर्मी बढेपछि अत्यधिक वाष्पीकरण भइरहेको छ। जसले गर्दा जमीनको सतह सुक्खा भएको छ। बिरुवा सुकेका छन्। पोखरी र नालामा पानी देखिन छाडेको छ।
जमीन र हावामा आर्द्रताको मात्रा घटेपछि लामखुट्टेलाई बाँच्न गाह्रो भइरहेको बुटवल बहुमुखी क्याम्पसमा प्राणीशास्त्रकी प्राध्यापक माया उपाध्याय बताउँछिन्। प्राध्यापक उपाध्यायका अनुसार लामखुट्टेको हुर्काइका लागि ग्रीष्म याम अनुकुल भए पनि अत्यधिक गर्मी सहन सक्दैनन्। “लामखुट्टेले सामान्य रूपमा वनस्पतिको रस (नेक्टर) खान्छ र पोथी लामखुट्टेले अन्डा पार्ने समयमा मात्र स्तनपायीको रगत खान्छ,” उपाध्याय भन्छिन्, “सुक्खापन बढ्दै जाँदा लामखुट्टेले वनस्पतिबाट तरल पदार्थ पर्याप्त पाउँदैन। निर्जलीकरणले बाँच्न नसक्ने अवस्था आउन सक्छ।”
बुटवल बहुमुखी क्याम्पसकैै प्राणीशास्त्रका अर्का प्राध्यापक द्रोणप्रसाद कौनिडियाका अनुसार लामखुट्टेको जीवनचक्रमा अन्डा, लार्भा र प्यूपा अवस्थाका लागि स्थिर र जमेको पानी आवश्यक पर्छ। लार्भाले पानीमा रहेका सूक्ष्म जीव खाएर प्यूपा बन्छ। “पानी नै भएन भने पोथीले अन्डा पार्न पाउँदैन, लार्भाले खान पाउँदैन। पूरै जीवनचक्रमा अवरोध आउँछ,” कौनिडिया भन्छन्, “धेरै गर्मीका कारण पानी सुकेकाले अहिले लामखुट्टे हराएका हुन्।”
लामखुट्टे कम भए पनि अत्यधिक गर्मीका कारण चलेको तातो हावा ‘लू’ ले तराई मधेशको जनजीवन प्रभावित छ। जेठ तेस्रो सातादेखि मध्य तराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म लू चलिरहेको छ। अहिले यो विस्तार भएर पश्चिम तराईको नेपालगञ्ज र पूर्वी तराईको मोरङसम्म पुगेको छ। ती क्षेत्रमा पनि तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दुई सातायता तराई-मधेशसँगै पहाडी क्षेत्रका उपत्यका र खोंचमा पनि तापक्रम बढिरहेको विभागले जनाएको छ। विभागका अनुसार जेठ २१ गतेदेखि २६ गतेसम्म रुपन्देहीको तापक्रम लगातार ४० डिग्री सेन्टिग्रेडभन्दा माथि मापन भएको छ। जेठ २६ मा बाँके, चितवन, पर्सा, बारा, सर्लाही लगायत जिल्लामा ४२ डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ।
यसरी तापक्रम बढेको छ कि कतिपय स्थानमा ‘रेकर्ड ब्रेक’ भएको छ। जेठ २६ गतेसम्म देशका चार स्थानको तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ भने १४ स्थानमा जून महीनाकै सबभन्दा बढी तापक्रम मापन गरिएको विभागको तथ्याङ्क छ।
हाल तराईमा औसत अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेको छ। जेठ २५ मा नवलपुरको दुम्कौली क्षेत्रमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।
जल तथा मौसम विज्ञान, भैरहवाका सिनियर डिभिजनल मेटेरियोलोजिस्ट सुजन सुवेदी नेपालमा मनसुनको प्रवेश नहुुँदासम्म तापक्रम नघट्ने बताउँछन्। “पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ। त्यसैले गर्मी बढ्दो छ,” मेटेरियोलोजिस्ट सुवेदी भन्छन्।
गर्मीकै कारण रुपन्देही, कपिलवस्तु, नवलपरासी सहित तराईका धेरै जिल्लामा विद्यालय बन्द गरिएका छन्। घर बाहिर निस्कन समेत मुश्किल भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन गर्मी बढ्ने प्रक्षेपण गरेको छ। देशको तराई भूभागमा तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएको जनाएको छ।
यस्तो वेला स्वास्थ्यमा समस्या आउन सक्ने जनाइएको छ। तातो हावा तथा लूका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुने लक्षण देखिन सक्छन्। यसबाट बच्न सतर्कता अपाउन पनि महाशाखाले अनुरोध गरेको छ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने गर्नुपर्छ। यति गर्दा पनि स्वास्थ्य समस्या भए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि विभागले अनुरोध गरेको छ।
मनसुन नआउँदासम्म गर्मी यस्तै रहने भएकाले सतर्कता अपनाउनुपर्ने विभागको सुझाव छ। कहिले आउँछ मनसुन? भारतको केरलामा मनसुन देखिएको करीब दुई साताभित्र नेपालमा मनसुन प्रवेश गर्ने गरेको छ। केरलामा प्रायः १ जूनमा मनसुन देखिन गर्छ। यस पटक भने ८ जूनमा मात्रै केरलामा मनसुनी वायु प्रवेश गरेको छ। नेपालमा सामान्तया मनसुन १३ जूनमा भित्रिन्छ।