देशका चार स्थानको अधिकतम तापक्रममा ‘रेकर्ड ब्रेक’, १४ स्थानको तापक्रम महीनाकै उच्च
देशका चार स्थानको अधिकतम तापक्रम बढेर ‘रेकर्ड-ब्रेक’ स्तरमा पुगेको छ भने १४ स्थानको तापक्रम जुन महीनाकै उच्च मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, धरान बजार, कन्याम चिया बगान र दुम्कौलीको अधिकतम तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो। यी स्थानमा यो वर्ष जति अधिकतम तापक्रम विगतमा कहिल्यै पुगेको अभिलेख छैन।
विभागका अनुसार ओखलढुंगाको अधिकतम तापक्रम २३ जेठमा ३१.३ डिग्री सेल्सियस मापन भएको छ। समुद्री सतहबाट एक हजार ७३१ मिटर उचाइको ओखलढुंगामा यो अहिलेसम्मकै उच्च तापक्रम हो। ओखलढुंगामा यसअघि २०५६ वैशाख १५ गते ३०.९ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो।
त्यसैगरी, २४ जेठमा धरान बजारको अधिकतम तापक्रम ३९.३ डिग्री सेल्सियस पुगेको छ। धरानमा यसअघि २०६९ चैत ३० गते अधिकतम तापक्रम ३८.८ डिग्री सेल्सियससम्म पुगेको थियो।
एक हजार ५७० मिटर उचाइको इलामको कन्याममा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ। यसअघि २०३० जेठ २८ गते २९ डिग्री सेल्सियस मापन भएको कन्यामको अधिकतम तापक्रमले यो वर्ष ३० डिग्री छोएको छ। विभागका अनुसार जेठ २० र २२ मा कन्यामको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको थियो।
नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम जेठ २१, २३ र २४ मा ४३.८ डिग्री सेल्सियस पुगेको छ। दुम्कौलीमा यति धेरै तापक्रम विगतमा कहिल्यै पुगेको थिएन। यसअघि २०३६ जेठ २२ गते अधिकतम तापक्रम ४३.७ डिग्री सेल्सियस रेकर्ड भएको थियो।
यो वर्ष प्रि-मनसुनमा पर्याप्त पानी नपरेको तथा मनसुन समेत पछि सरेका कारण देशैभरि गर्मी बढेको छ। विभागले देशका तराई तथा भित्री मधेश लगायतका क्षेत्रमा तातो हावा (लू) चलेको जनाएको छ। उच्च गर्मीका कारण देशभरिको जनजीवन प्रभावित छ।
विभागका अनुसार यो वर्ष विभिन्न १४ स्थानमा जुन महीनाको अधिकतम तापक्रम यसअघि कहिल्यै रेकर्ड भएको थिएन। गौर, जलेश्वर, ओखलढुंगा, लहान, दिक्तेल, राजविराज, पाख्रिबास, धरान, चतरा, विराटनगर, तरहरा, कन्याम, फिदिम र दम्कौलीमा जून महीनाको पहिलो साता रेकर्ड गरिए जति अधिकतम तापक्रम विगतमा कहिल्यै रेकर्ड भएको थिएन।
गौरमा यो वर्ष अधिकतम तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ। ३१ वर्षअघि गौरको अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियससम्म पुगेको थियो।
जलेश्वरमा पनि तापक्रम यो वर्ष अधिकतम ४१.५ डिग्रीसम्म पुगेको छ। लहानको अधिकतम तापक्रम ४०.५ डिग्रीसम्म रेकर्ड भएको छ।
त्यसैगरी, यो वर्ष दिक्तेल बजारको २९.८ डिग्री, राजविराजको ४१.८ डिग्री, पाख्रिबासको ३१.५ डिग्री, चतराको ३९.४ डिग्री, विराटनगरको ४०.४ डिग्री, तरहराको ४०.६ डिग्री र फिदिमको ३६ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ।