मनसुन भित्रिन ढिला हुन सक्ने, देशभरि कम पानी पर्ने
यो वर्ष नेपालमा ढिलो गरी मनसुन शुरू हुने सम्भावना देखिएको छ।
सामान्यतया १३ जूनमा देशको पूर्वी भागबाट मनसुनी वायु प्रवेश गर्नुपर्नेमा केही दिन ढिला हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीले भने, “औसत मितिमा मनसुनी वायु आउला जस्तो देखिएको छैन, तर ठ्याक्कै कहिले शुरू हुन्छ भनेर तोक्न सकिंदैन।”
सामान्यतया नेपालमा १३ जूनमा मनसुनी प्रणाली शुरू हुने गर्थ्यो। भारतको केरलामा सरदरमा १ जूनमा मनसुनी प्रणाली शुरू हुने भनी तोकिएको छ। तर, ८ जूनमा मात्रै केरलामा मनसुनी वायु प्रवेश गरेको छ।
दक्षिण भारतमा मनसुन शुरू हुन एक साता ढिलाइ भएकाले नेपालमा पनि मनसुनी वायु प्रवेश गर्न ढिला हुने अनुमान गरिएको छ। नेपालमा झापा हुँदै प्रवेश गरेर क्रमशः पश्चिमतिर मनसुनी वायु विस्तार हुन्छ। “केरलामा मनसुन शुरू भएको दुई सातापछि मात्रै नेपालमा मनसुनी वायु प्रवेश गर्छ भन्न चाहिं मिल्दैन। पाँच–सात दिनमै मनसुनी वायु आउन पनि सक्छ,” अधिकारीले भने।
नेपालमा सामान्यतया १३ जूनमा प्रवेश गरेको मनसुन २३ सेप्टेम्बरमा बाहिरिने गर्छ। तर, पछिल्ला दशकमा मनसुन शुरू हुने र बाहिरिने मिति क्रमशः पछाडितिर सरिरहेको छ। यसअघि नेपालमा मनसुन प्रवेश गर्ने सरदर मिति १० जून मानिने गरेकोमा पछिल्लो तीन दशकको प्रवृत्ति हेरेर मनसुन शुरू हुने दिन सरदरमा १३ जुनलाई मानिएको छ।
गत वर्ष भने मनसुन सरदर मितिभन्दा एक साता अगाडि नै ५ जून (जेठ २२ गते)मा प्रवेश गरेर १६ अक्टोबर (असोज ३० गते)मा बाहिरिएको थियो। पछिल्लो दशकमा मनसुनी प्रणाली अक्टोबरसम्मै सक्रिय भइरहेको देखिन्छ।
नेपालमा हुने वार्षिक वर्षाको करीब ८० प्रतिशत मनसुनका चार महीनाको अवधिमा हुन्छ। देशको प्रमुख कृषिबाली धान खेती धेरैजसो आकाशे पानीमा निर्भर हुने भएकाले राम्रो मनसुनी प्रणाली किसानका लागि मात्रै होइन, देशकै अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ। यद्यपि यो वर्ष मनसुनी वर्षा कमजोर हुने आकलन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार मनसुन सिजनको हावापानी आकलन सार्वजनिक गर्दै देशैभरि मनसुनमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको अनुमान गरेको छ। अर्थात्, यस वर्षको मनसुनमा विगतको औसतभन्दा कम पानी पर्ने सम्भावना धेरै छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै भाग र कोशी प्रदेशका केही भागमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। तर, कति मात्रामा पानी पर्छ भन्ने आकलन भने छैन।
विभागले मनसुन अवधिमा देशभरिको अधिकतम तापक्रम पनि सरदरभन्दा धेरै नै हुने अनुमान गरेको छ। यसको अर्थ देशभरि विगतको वर्षको तुलनामा बढी गर्मी हुनेछ। विभागका अनुसार देशभरि अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म धेरै छ। न्यूनतम तापक्रम पनि बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म बढी छ।
प्रि-मनसुनमा कम पानी परेकाले यो वर्ष देशैभरि अत्यधिक गर्मी छ। जल तथा मौसम विज्ञान विभागले तराईमा तातो हावा (लू) चलिरहेको र यो अझै केही दिन जारी रहने आकलन गरेको छ। अत्यधिक गर्मीका कारण देशका तराई, भित्री मधेश एवं खोचहरूको जनजीवन प्रभावित छ।