यो आरोहण याममा ठूलो विपद् विना नै सगरमाथामा किन भयो धेरैको मृत्यु?
विगतमा सगरमाथा आरोहणमा विशेष उतारचढावका कारण धेरै मानवीय क्षति हुने गरेकोमा यस वर्षको आरोहण सिजनमा कुनै ठूलो दुर्घटना विना नै १७ जनाले ज्यान गुमाएका छन्।
सगरमाथा आरोहण इतिहासमा यस पटक सबैभन्दा धेरै चार सय ७८ आरोहीले अनुमति पाएका थिए। तर, आरोहण शुरू नहुँदै दुर्घटनाका दुःखद खबर आउन थाल्यो। आरोहण सामग्री लैजाने क्रममा तीन जना शेर्पाले खुम्बु आइसफलमा ज्यान गुमाए।
आधारशिविरदेखि सबैभन्दा जोखिमपूर्ण मानिएको खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्म पुग्ने बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले बनाइसकेकोे थियो। दोस्रो शिविरदेखि शिखरसम्म बाटो बनाउने जिम्मा पाएको इम्याजिन नेपाल ट्रेक एन्ड एक्सपिडिशनबाट खटिएका शेर्पाहरू काममा तल्लीन थिए। सोही कम्पनीमा कार्यरत शेर्पा चैत १३ गते विदेशी आरोहीका लागि बन्दोबस्तीका सामान लिएर खुम्बु आइसफलबाट पहिलो शिविरतर्फ उक्लँदै गर्दा हिउँको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको थियो। दावा छिरी शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पाको ज्यान गएको हो।
उनीहरू हिउँमा पुरिएको सँगै रहेका अन्य शेर्पाले देखे पनि तत्काल उद्धार गर्न सकेनन्। त्यसयता अनेक प्रयास भए पनि उद्धार सम्भव भएन। हिमालमा केही दिनपछि पनि आरोहीको उद्धार भएर बचेका एकाध चामत्कारिक घटना भए पनि तीन साता बितिसकेकाले उनीहरू जीवितै भेटिने आशा मरिसकेको छ। उनीहरूको कम्पनीले पनि मृत्यु भएको घोषणा गरिसकेको छ। यद्यपि उनीहरूको शव अझै निकाल्न सकिएको छैन।
तीन जना शेर्पाको ज्यान जानुअघि नै अमेरिकी नागरिक जोनाथन सुगरम्यान दोस्रो शिविरमा मृत भेटिएका थिए। सगरमाथा आरोहण गर्नुअघि उच्च हिमाली वातावरणमा घुलमिल हुन त्यहाँ पुगेका ६९ वर्षीय अवकाशप्राप्त चिकित्सक सुगरम्यान दोस्रो शिविरमा सुतेको सुत्यै भए। सन् २०२२ मा तेस्रो शिविरसम्म सहजै पुगेका उनी यस वर्ष चुचुरोमा पुग्ने लक्ष्यका साथ सगरमाथा क्षेत्रमा गएका थिए। हार्वर्ड विश्वविद्यालयबाट दीक्षित जोनाथनको सगरमाथाको शिखर चुम्ने प्रयास सफल भएन। कम्पनीले उनको शव अमेरिका पठाइसकेको छ।
जेठ २ गते फुर्वा तेन्जिङ शेर्पाले ज्यान गुमाए। सगरमाथाको शिखरमा पुगेर फर्कने क्रममा उनको ज्यान गएको थियो। नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियानमा सहभागी केही सैनिक अधिकृत अलपत्र छोडिएका शव व्यवस्थापनको योजना बनाउन शिखरसम्म पुग्ने भएपछि उनी सोही टोलीमा सहभागी भएका थिए। फर्कने क्रममा सेनाका क्याप्टेन दीपेन्द्र सिंह खत्रीलाई उद्धार गरेर ल्याउनुपर्ने भयो। उद्धारमा खटिएका फुर्वाले सगरमाथाको एल्लो ब्यान्डमा ज्यान गुमाए।
जेठ २ गते नै आरोहणका लागि शिखरतर्फ जाँदै गर्दा माल्डोभाका भिक्टर ब्रिन्जाले चौथो शिविरमा ज्यान गुमाए।
जेठ ४ गते चिनियाँ नागरिक सुबिएन चेन साउथ समिट र भारतका सुबाने लियोपोल्डियनको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको पर्यटन विभागले जनाएको छ। सम्पर्क अधिकृत र आरोहण सञ्चालकले विभागमा बुझाएको विवरण अनुसार उचाइमा पुगेपछि बेसुर हुने लक्षणका कारण ५२ वर्षीय चिनियाँ नागरिकले अक्सिजन मास्क र चश्मा फुकालिरहेका थिए, त्यही वेला उनी साउथ समिटमा बाटोबाट तल खसे।
पेसमेकर राखेर सगरमाथा आरोहण गर्ने पहिलो दक्षिणएशियाली महिला हुने रेकर्ड बनाउन सगरमाथा आरोहणमा आएकी ५९ वर्षीया लियोपोल्डियन आधारशिविरमै बिरामी भएपछि लुक्ला ल्याएर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भयो। पेसमेकर राखिएका कारण आरोहण रद्द गर्न उनलाई सुझाव दिइएको थियो। तर, जसरी भए पनि आरोहण गर्ने अडानका साथ आधारशिविरभन्दा माथि ५८०० मिटरमा पुगेको वेला असहज महसूस भएपछि हेलिकोप्टरबाट लुक्ला ल्याइएको थियो।
जेठ ५ गते मलेशियाका मुहम्मख ह्वारी विन हसिनेले साउथ कोलमा ज्यान गुमाए। अघिल्लो दिन श्रवणशक्ति गुमाएर पनि सगरमाथा आरोहण गर्ने पहिलो मलेशियन नागरिकको कीर्तिमान बनाएका ३३ वर्षीय हसिने फर्कने क्रममा साउथ कोलमा ढलेका थिए।
भारतीय मूलका सिंगापुरे नागरिक श्रीनिवास सान्स दत्त, मलेशियन अङ अक्सन्दर बिन अम्पुअन याकुब र अस्ट्रेलियन नागरिक ज्यासन बर्नाड केनिसनको पनि सोही दिन मृत्यु भएको थियो। याकुब बाहेक सबै शिखरमा पुग्न सफल भएका थिए। फर्कने क्रममा उनीहरूले चौथो शिविर र बाल्कोनीको बीचमा पर्ने बाटोमा ज्यान गुमाएका हुन्।
जेठ ७ गते आङ कामी शेर्पाको दोस्रो शिविरमा मृत्यु भयो। त्यसैगरी, जेठ १० गते हंगेरीका स्जिर्ल्डा सुहाज्डा हराइरहेको बताइएको छ। नेपाली आरोही रञ्जितकुमार साह र लाक्पा नोर्बु शेर्पा पनि शिखरबाट फर्कने क्रममा मृत्यु क्षेत्र मानिने माथिल्लो हिमाली क्षेत्रमा जेठ ११ गतेदेखि हराइरहेका छन्।
केही वर्षअघि साइकल चढेर सगरमाथा आधारशिविर पुगेदेखि हिमालसँग मोहित भएका जनकपुरका साहले सगरमाथा आरोहण गर्ने सपना देखेका थिए। यसअघि उनले आमादब्लाम हिमालको आरोहण गरेका थिए। सगरमाथाको चुचुरोमा पुग्ने उनको सपना त पूरा भयो, तर सकुशल आधारशिविर फर्कन सकेनन्।
जेठ ११ मै क्यानाडाका पेटुस अल्बर्टिन स्वार्टको सगरमाथामा ज्यान गयो।
सम्पर्क अधिकृत र आरोहण कम्पनीले पर्यटन विभागमा बुझाएको विवरण अनुसार यस पटकको आरोहण सिजनमा सगरमाथामा १४ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। बेपत्ता भएकाहरू यतिका दिनसम्म सम्पर्कमा नआएकाले उनीहरूको जीवितै उद्धार हुने सम्भावना शून्य जस्तै भएको आरोहण कम्पनीको भनाइ छ। अतः बेपत्ताहरूको संख्या पनि जोड्दा यसपालि सगरमाथामा विलीन हुनेहरूको संख्या १७ पुगेको छ। तीमध्ये ६ जना शेर्पा छन्।
१०० वर्षमा १२७ शेर्पाको मृत्यु
सन् १९२२ देखि हालसम्म सगरमाथाका दुवैतिरबाट आरोहण गर्दा १२७ जना शेर्पाको मृत्यु भइसकेको हिमाल सम्बन्धी अभिलेख राख्ने निकायले उल्लेख गरेका छन्। सगरमाथामा ज्यान गुमाउने बाँकी १९६ जना संसारभरबाट आएका आरोहीहरू छन्।
जोखिमपूर्ण हिमालमा बाटो बनाउनेदेखि बन्दोबस्तीका सामान ओसार्ने र विदेशी आरोहीलाई शिखरसम्म पुर्याउने मुख्य भूमिका शेर्पाहरूको हुने भएकाले हिमाली विपत्मा उनीहरू नै पर्छन्। शारीरिक तन्दुरुस्ती, आरोहण अनुभव र उच्च हिमाली वातावरणमा सहजै घुलमिल हुन सक्ने क्षमता भए पनि जोखिमपूर्ण बाटोमा पटक पटक ओहोरदोहोर गरिरहनुपर्ने भएकाले धेरै शेर्पाहरूको मृत्यु हुने गरेको आरोहण सञ्चालकको भनाइ छ।
सन् २०१४ मा १६ जना शेर्पाले खुम्बु आइसफलमा आएको हिमपहिरोमा परेर ज्यान गुमाएका थिए। लगत्तै अर्को आरोहण सिजन अर्थात् सन् २०१५ को वसन्तकालीन आरोहणको समयमा विनाशकारी भूकम्प आउँदा आधारशिविरमा हिमपहिरोमा परी १९ आरोहीको मृत्यु भएको थियो। दुवै घटनामा भएको मानवीय क्षतिको शोकमा सगरमाथा आरोहण नै स्थगन गरिएको थियो।
क्षतिको कारणः प्रतिकूल मौसम र अनुभवहीन आरोही
सन् २०१९ मा सगरमाथा आरोहणका क्रममा ११ जनाको ज्यान गएको थियो। त्यस सिजनमा आरोहीको भीडभाड हुँदा हिलरी स्टेपको जाममा केही आरोहीले घण्टौंसम्म कुर्नुपरेको थियो। त्यति वेला विदेशी सञ्चारमाध्यमले मृत्युका केही घटनालाई सगरमाथामा आरोहीको व्यापक भीडसँग जोडेका थिए।
तर, यस वर्षको आरोहण सिजनमा कुनै ठूलो घटना विना नै १७ जनाले ज्यान गुमाएका छन्। यसको कारण के होला?
एट-के एक्सपिडिशन्सका लाक्पा शेर्पा हिमाली वातावरणमा आएको परिवर्तन र अनुभव नभएका आरोहीको भीडका कारण यसपालि मृतकको संख्या सोचेभन्दा धेरै भएको बताउँछन्। उनी भन्छन्, “यसपालि निकै चिसो भयो। मौसम पूर्वानुमान गर्नै सकिएन। मौसमी विवरण विपरीत क्षण क्षणमा परिवर्तन हुँदा आरोहण कठिन भयो।”
हिमालको हिउँ पग्लिँदै गएका कारण आगामी दिनका आरोहण झनै चुनौतीपूर्ण हुने आकलन भइरहेका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको एक अध्ययनमा अहिले जसरी हिउँ पग्लिँदै गएमा यस शताब्दीको अन्त्यसम्ममा हिन्दू-कुश हिमालय क्षेत्रको दुई तिहाइ हिउँ पग्लिने प्रक्षेपण गरिएको उल्लेख छ। हिमाली क्षेत्रमा परिवर्तन देखिइरहेको र त्यसले चुनौती थपिरहेको आरोहीहरूले पनि बताएका छन्।
सन् २०१९ मा केही दिन मात्रै मौसमले साथ दिएकोमा यसपालि धेरै दिनसम्म आरोहण गर्न सकिने मौसमी अनुकूलता थियो। हिउँदभर हिउँ नपरेर आरोहण शुरू हुने केही साताअघि मात्र परेका कारण आरोहण सकिने समयसम्म पनि निकै चिसो भइरह्यो र हिमाली मौसममा तुरुन्तातुरुन्तै परिवर्तन हुने समस्या झन् धेरै भयो। जसले गर्दा शिखरसम्म डोरी टाँग्ने काम पनि ढिलो गरी वैशाखको पहिलो साता मात्र सम्पन्न भएको थियो।
अत्यधिक चिसो भएका कारण सगरमाथा आरोहणको इतिहासमा सबैभन्दा धेरै उद्धार गर्नुपरेको सम्पर्क अधिकृत र आरोहण कम्पनीले बताएका छन्। सगरमाथा आधारशिविर अनुगमन समितिका संयोजक खिमलाल गौतम भन्छन्, “१०० भन्दा बढी उद्धार उडान भएका छन्। करीब २०० आरोहीका हातखुट्टा हिउँले खाएको विवरण आएको छ। हिउँले अत्यधिक खाएर केहीले हात नै गुमाउनुपर्ने अवस्था छ।”
एट-के एक्सपिडिशन्सका शेर्पाका अनुसार, सगरमाथा आरोहण सजिलै छ भन्ने सोचेर अनुभव नै नभएका आरोही आउँदा पनि दुर्घटना बढेको हो। “पैसा बुझाए भइहाल्छ, आएपछि जसरी पनि चढ्न सकिहालिन्छ भन्ने मानसिकता भएका कतिपय आरोहीका कारण पनि दुर्घटना धेरै भयो,” उनी भन्छन्, “आएकामध्ये ४० प्रतिशत आरोही आरोहणका लागि तयार थिएनन्।”