नक्कली शरणार्थी प्रकरण: खुल्न बाँकी पर्दा पछाडिका कसूरदार
पीडितहरूले नक्कली शरणार्थी बनाउँदा यूएनएचसीआरकै गाडी प्रयोग भएको देखेको बताउनु, आरोपितले भारतीय दूतावाससँग सम्बन्ध रहेका व्यक्तिसम्मलाई पैसा बुझाएको बयान दिनु र शरणार्थी नेता पक्राउ पर्नुले यो प्रकरण राजनीतिक-प्रशासनिक ‘सेटिङ’ मा मात्र सीमित नरहेको सङ्केत गर्छ।
उच्च पदस्थहरूकै संलग्नता खुलेका आधारमा नेपालको अहिलेसम्मकै ठूलो संगठित अपराध मानिएको नक्कली शरणार्थी प्रकरणमा दलका नेता, सरकारी कर्मचारी, शरणार्थी नेता र बिचौलिया पक्राउ पर्ने क्रम जारी छ। हिरासतमा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले प्रहरी बयानमा आफ्नो संलग्नता स्विकारिसकेका छन्।
यद्यपि उनीहरू आफूभन्दा उपल्लो तहकालाई बढी दोषी औंल्याएर आफ्नो संलग्नता कमजोर देखाउने प्रयत्नमा छन्। तत्कालीन गृहसचिव पाण्डेले त आफूले पूर्व गृहमन्त्री बालकृष्ण खाणको निर्देशन पालना मात्रै गरेको खुलाएका थिए। पाण्डेको बयान र उनकै मोबाइलमा फेला परेको अभिलेखले खाणलाई पनि हिरासतमा पुर्याएको छ।
यो प्रकरणमा नाम जोडिएसँगै फरार भएका पूर्व उपप्रधानमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी वैशाख ३१ गते साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परे। गृहजिल्ला अर्घाखाँची पुगेका उनले शुरूमा काठमाडौं फर्किएर अनुसन्धानमा सघाउने भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई टेलिफोनमा आश्वस्त तुल्याएर बाटोबाटै फरार हुनुले उनको मिलेमतोको बलियो सङ्केत गरेको छ।
गिरोहका सदस्यसँगको सम्बन्ध र आर्थिक लेनदेनका प्रमाण समेत भेटिएको दाबी गरेको प्रहरीले रायमाझीलाई योजनाकार नै मानेको छ। यद्यपि यो अभियोजन अन्तिम भइसकेको छैन। बिहीबार मात्र भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल समेत पक्राउ परेका छन्।
आरोपितको बयान, तिनका सम्भावित सहयोगी र ठगिएकाहरूले उपलब्ध गराएका प्रमाणका आधारमा प्रहरी अनुसन्धानको सुई थप केही उच्च पदस्थतिर पनि तेर्सिएको छ। अनुसन्धानका क्रममा बाहिरिएको अडियो रेकर्डले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस सांसद आरजु राणा र पूर्व गृहमन्त्री खाणकी पत्नी मञ्जु समेत यो प्रकरणमा तानिएका छन्।
मञ्जु पति पक्राउ परेदेखि नै सार्वजनिक रूपमा देखिएकी छैनन् भने आरजुले संसद् बैठकमा उपस्थित भएर आफ्नो संलग्नता नकारेकी छन्। एक टेलिभिजन अन्तर्वार्तामा पनि आरजुले तीन वर्ष पहिले नै अमेरिकी अधिकारी गृह मन्त्रालय आएर गृहसचिव पाण्डेलाई नक्कली शरणार्थी प्रकरणबारे चेतावनी दिंदा पनि ‘मूर्खतापूर्ण काम गरेको आरोप लगाएर उनैमाथि दोष थोपरेकी छिन्। पक्राउ परेकाहरूले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका सदस्य राजेश बज्राचार्यलाई समेत पोलेपछि ठगीधन्दाको लहरो झनै लामो रहेको अनुमान गरिएको छ।
कोरोनाअघिदेखिकै धन्दा
देशमा बढ्दो बेथिति र बेरोजगारीका आडमा युवालाई वैदेशिक सुखको प्रलोभनमा पारेर बुनिएको यो ठगीधन्दा भुटानी शरणार्थीको ‘तेस्रो देश पुनर्वास कार्यक्रम’ लाई उपयोग गरेर सफल पार्ने गिरोहको ध्येय रहेको बुझिन्छ। भुटानबाट लखेटिएर नेपाल बस्दै आएका एक लाख १३ हजार शरणार्थी अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया, न्यूजिल्यान्डमा पुनःस्थापित भइसकेका छन्। ६ हजार ३६५ जना भने भुटानै फर्किने अडानमा झापा र मोरङका शिविरमा बसिरहेका छन्।
बाँकी रहेका तिनै शरणार्थीको विवरण दुरुपयोग गरी फर्जी व्यक्तिलाई अमेरिका पठाउन गिरोहले राजनीतिक र प्रशासनिक तहसम्मै सेटिङ मिलाएर पुनःप्रमाणीकरणका नाममा करोडौं रकम असुलेको अहिलेसम्मका घटना विवरण र पक्राउ परेकाहरूको बयानले देखाउँछन्।
ओली नेतृत्वको सरकारका तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७६ जेठ ३० मा गृह मन्त्रालयका पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका थिए जसलाई भुटानी शरणार्थी सम्बन्धी समस्याको दिगो हल पहिल्याउने जिम्मेवारी तोकिएको थियो। पक्राउ परेकाहरूको बयान अनुसार गिरोहकै प्रभावमा कार्यदलमा गणेशकुमार केसीलाई सदस्य र सोही मन्त्रालयका शाखा अधिकृत दीपकप्रसाद न्यौपानेलाई सदस्य सचिव बनाइयो। केसीले आफू भण्डारीकै पहलमा कार्यदलमा बसेको सार्वजनिक रूपमै स्वीकार गरिसकेका छन्।
कार्यदल सदस्यहरूका अनुसार २०७६ कात्तिकमा उनीहरूले सरकारलाई बुझाएको प्रतिवेदन थप पैसा उठाउने उद्देश्यले साटफेर समेत गरिएको थियो। शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर)ले पहिल्यै तयार पारेको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्लाई बुझाइएको गृहको प्रतिवेदनमा ४२९ भुटानी शरणार्थीलाई परिचयपत्र दिन सिफारिश गरिएको थियो । तर, गिरोहले गृहको कार्यदलसँग मेल खाने गरी बनाएको छुट्टै प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षक राखेर ८७५ जनाको नाम अनुसूचीमा पार्यो। पक्राउ परेकाहरूले भने रकम उठाइएका व्यक्ति र सङ्कलित रकम नक्कली प्रतिवेदनमा समेटिएको भन्दा पनि बढी रहेको प्रहरीलाई बताएका छन्।
अहिलेसम्मको अनुसन्धानले एक हजार २९ जनाबाट प्रतिव्यक्ति २५ लाखदेखि ५० लाख रुपैयाँसम्म उठाइएको खुलेको प्रहरीले जनाएको छ। यस अनुसार प्रतिव्यक्ति २५ लाखकै हिसाब राख्दा पनि गिरोहले कम्तीमा दुई अर्ब ५७ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको देखिन्छ।
हिरासतमा रहेका गिरोह सदस्य शर्माको बयान अनुसार युवासँग पैसा उठाउने काम कोरोना महामारीअघिदेखि नै चलिरहेको थियो। त्यसकै लागि अमेरिका बस्दै आएका दाङका गजेन्द्र बुढाथोकी नेपाल आएका थिए। कांग्रेस नेता बुद्धिराम भण्डारीका आफन्त उनले दाङ, रुकुम, रोल्पा लगायत जिल्लाबाट ५५ जनासँग रकम उठाएर दाङकै शर्मालाई बुझाए। एमाले निकट युवा संघ नेपालका कार्यकर्ता रहेका शर्माले सरकार र दलसम्मै पहुँचको धाक देखाएर युवालाई अमेरिका पठाउने आश्वासन बाँडिरहेकै थिए। शर्माले थप काम अघि बढाउन सङ्कलित रकम भण्डारी र दुलाललाई बुझाए।
उनीहरूले फाराम भरेको पाँच लाख, फोटो खिचेको १० लाख, परिचयपत्र बनाएको १० लाख र ट्राभल डकुमेन्टको १० लाख भनी रकम उठाएको बयान दिएका छन्। ठगिएकाहरूले प्रहरीलाई बताए अनुसार केहीको भुटानी शरणार्थीका नाममा परिचयपत्र समेत बनाइसकिएको थियो जसमा नाम शिविरमा रहेका भुटानीको तथा फोटो र बायोमेट्रिक विवरण फर्जी शरणार्थीको राखिएको देखिन्छ।
झापा र मोरङमा पैसा उठाउने जिम्मा सागर राईलाई दिइएको थियो। राईले पनि २०० जनाबाट पैसा उठाएर सानुलाई दिएका थिए। आरोपितहरूले नै खुलाएको पीडितको संख्यालाई आधार मान्दा पोखरा र आसपास जिल्लाबाट पनि ठूलो संख्यामा रकम सङ्कलन भएको छ। उक्त क्षेत्रमा कसले रकम उठाएको थियो भन्ने चाहिं खुलेको छैन।
सत्ता फेरिएपछि पनि ‘सेटिङ’
यो प्रकरणमा ओली नेतृत्वको सरकारको पालामा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले ‘डील’ गर्दै आएको प्रहरी हिरासतमा रहेका आरोपितले बताएका छन्। उनीहरूकै बयान अनुसार सत्ता समीकरण फेरिएपछि नक्कली शरणार्थी प्रकरण केही समय रोकियो।
ओलीपछि सत्ताको नेतृत्वमा आएका कांग्रेस सभापति देउवाले आफ्नो मन्त्रिपरिषद्मा विश्वासपात्र खाणलाई गृहमन्त्रीका रूपमा ल्याए। कांगेस नेत्री सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री छँदा स्वकीय सचिव रहेका दुलाल मिल्दो राजनीतिक लाइनका गृहमन्त्री आएपछि थप सक्रिय भए।
गृह प्रशासनमा शून्य ज्ञान रहेका पाण्डेलाई गृहसचिव बनाउन उनी सफल भए। आफ्नै गृह प्रदेश लुम्बिनीकै व्यक्ति भएकाले पाण्डेबाट चाहेको काम गराउन सक्ने खाणको पनि विश्वास थियो। पाण्डे र कांग्रेस सभापति देउवाकी पत्नी आरजुको चिनजान पनि पुरानै हो। पाण्डे शिक्षा विभाग, शिक्षा मन्त्रालयमा छँदा दातृ निकायका परियोजनामा आरजुसँग भेट भएको थियो।
पाण्डेले अघिल्लो गृह प्रशासनको नेतृत्वमा रहेकाहरूले नै ठूलो रकम बुझिसकेकाले आफूले थोरै रकममा जोखिम नमोल्ने अड्डी लिए पनि गृहमन्त्रीकै दबाबमा रोकिएको काम अघि बढाइएको पक्राउ परेकाहरूको बयानबाट खुल्छ। पाण्डेकै सहयोगमा मूल प्रतिवेदन साटफेर गरिएको पनि अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार देउवा सरकारले २०७८ मंसीर १३ मा गृह मन्त्रालयको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिदिएपछि बिचौलिया झनै सलबलाए। नक्कली शरणार्थीकै नाम अनुसूचीमा थपेर प्रतिवेदन आएपछि उनीहरू थप व्यक्तिबाट रकम उठाउन हौसिए।
धैर्य टुटेपछि उजुरी
रकम बुझाएका युवा काठमाडौं आएर बसेको दुई वर्ष भइसकेको थियो। तर, अमेरिका उड्ने छाँट नदेखेपछि एकपछि अर्को गर्दै प्रहरीमा उजुरी दिन थाले। यसले पैसा उठाएका एजेन्टहरू दबाबमा परेपछि तिनले युवासँगै मिलेर आफूले पैसा बुझाएका शर्मा विरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा २०७९ जेठ १८ गते उजुरी दिए।
शर्माले फेरि भण्डारी र दुलालमाथि दबाब बढाए। यसले गिरोहभित्रै फूट आयो। यति वेला तत्कालीन गृहसचिव पाण्डे गिरोहका नाइके दुलाल विरुद्ध कतै उजुरी परे/नपरेको निगरानी गरिरहेका थिए। पाण्डेले दुलाललाई एसएमएस मार्फत यसको जानकारी दिने गरेको हिमालखबरलाई प्राप्त कुराकानीको विवरणमा उल्लेख छ। (हेर्नुहोस् कुराकानीको अंश।)
हालका प्रहरी प्रमुख कुँवर त्यति वेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए। तर, ठगीमा संलग्नलाई पक्राउ गर्न यथेष्ट प्रमाण सहित उजुरी दिंदा पनि उनले अनुसन्धान नै नगरेको उजुरीकर्ताहरूको गुनासो छ। उजुरी परेको केही दिनमा भण्डारी र दुलाललाई पक्राउ गरिए पनि तत्कालीन गृहमन्त्री खाणकै निर्देशनमा केही घण्टामै छाडिएको उनीहरूको भनाइ छ।
कांग्रेस निकटस्थहरूका अनुसार खाण र प्रहरी प्रमुख कुँवरको सम्बन्ध पुरानै हो। कुँवरका दाजु बाबुराम अहिले राष्ट्रपति रामचन्द्र पौडेलको कानुनी सल्लाहकार छन्। सुशील कोइराला प्रधानमन्त्री छँदा महान्यायाधिवक्ता नियुक्त बाबुराम कांग्रेसको सिफारिशमा गण्डकी प्रदेश प्रमुख समेत बनेका थिए।
यस्तोमा गृहमन्त्री खाणकै बिचौलियासँग उठबस रहेको थाहा पाएपछि हालका आईजीपी कुँवरलाई दोषी विरुद्ध कारबाही अघि बढाउन सकस परेको सहजै अनुमान लगाउन सकिन्छ। अर्कातिर मुखैमा आएको बढुवा समेत प्रभावित हुन सक्ने भयले कुँवरले यो प्रकरणमा अघि बढ्ने हिम्मत गरेनन्।
यता समयमा काम नहुँदा बिचौलियाले गृहसचिव पाण्डे विरुद्ध दबाब बढाएको अनुसन्धान अधिकृतहरूले पीडितको बयान उद्धृत गर्दै जनाएका छन्। उनीहरूका अनुसार तनाव झेल्न नसकेर पाण्डे दशैं बिदामा अस्ट्रेलिया गएर बसे। फर्किएपछि पनि निर्वाचन आचारसंहिता लागू भइरहेकै वेला उपराष्ट्रपति कार्यालयमा सरुवा भए। खाण पनि संसदीय निर्वाचनमा पराजित भए।
राज्यशक्तिको अभ्यासका आधारमा दुवै जना कमजोर रहेको यही वेला अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले दुलाल र भण्डारीलाई पक्राउ गरेपछि खास अनुसन्धान अघि बढेको हो। उनीहरूकै बयान र मोबाइलमा भएको कुराकानीका आधारमा उच्च पदस्थहरू पनि पक्राउ परेका हुन्। गृहमन्त्री र गृहसचिव नै संलग्न यति ठूलो प्रकरणबारे तत्कालीन प्रधानमन्त्री जानकार थिए कि थिएनन्? सरकारी निकायकै संरक्षणमा भएको यति ठूलो भ्रष्टाचारको दायित्व प्रधानमन्त्रीले लिनुपर्छ कि पर्दैन? उत्तर आइसकेको छैन।
शङ्काको घेरामा यूएनएचसीआर
आरोपितले प्रहरीसँग खोलेका केही प्रसङ्गले यो प्रकरणमा देशभित्रका नेता–कर्मचारी बाहेक अन्य पक्षको पनि संलग्नताको आशङ्का जन्माएका छन्। सन् २०१६ मै पुनःस्थापना कार्यक्रम सकिएको घोषणा गरेको यूएनएचसीआरका सवारीसाधन बन्दाबन्दीका वेला पनि नक्कली शरणार्थी बनाउने मिसनमा अस्पतालमा देखेकोे पीडितहरूले बताएका थिए।
आरोपित पक्राउ पर्नुभन्दा केही महीनाअघि हिमालखबरसँगको कुराकानीमा उनीहरूले झापामा स्वास्थ्य रिपोर्ट र बायोमेट्रिक विवरण सङ्कलन गर्दा पूर्वी नेपालका अस्पतालमा ती गाडी प्रयोग गरिएको खुलाएका थिए। यूएनएचसीआरको यस्तो संलग्नताको आशङ्का भारतीय दूतावास निकट भनिएका व्यक्तिको प्रसङ्गले पनि जन्माइदिएको छ। हिरासतमा रहेका शर्माले नक्कली शरणार्थी प्रकरणमा नेपालस्थित भारतीय दूतावाससँग सम्बन्ध रहेका भनिएका बेचैन झाले पनि पैसा बुझेको प्रहरीलाई बताएका छन्।
“इन्डियन एम्बेसीमा सम्बन्ध भएको बेचैन झा भन्ने व्यक्तिलाई मैलाई केशव दुलालले पठाई मैले रु.४५ लाख रुपैयाँ दिई निजले ४५ लाखको चेक मेरो नाममा काटिदिएका थिए। निज बेचैन झालाई सानु भण्डारीले थप २५ लाख दिएको कुरा मलाई सानु भण्डारीले भनेको...” सन्देशले प्रहरीमा दिएको बयानमा छ। यद्यपि झालाई पैसा दिनुको प्रयोजन र उनको भूमिकाबारे बयानमा स्पष्ट छैन।
शर्माका अनुसार उनैले बुढाथोकीलाई दुलाल र भण्डारीसँग चिनजान गराइदिएका थिए। एजेन्टले उठाएको पैसा माथिल्लो तहका नेता–कर्मचारीसम्मलाई बुझाएर युवालाई अमेरिका पठाउने र आफूले पनि करोडौं रकम असुल्ने उनीहरूको योजना थियो। बुढाथोकीले ५५ जनाबाट प्रतिव्यक्ति ५० लाखका दरले उठाएको आरोपितको बयान छ।
सबै क्षेत्रबाट उठेको रकम पहिले भण्डारीलाई दिएको र त्यसपछि दुलालले लिएर नेता र प्रशासनिक निकायसम्म बुझाएका थिए। उनीहरूले कुन कुन नेता र प्रशासकलाई रकम बुझाए भन्नेबारे भने बयानमा उल्लेख छैन।
प्रहरी अनुसन्धान अनुसार सबैभन्दा बढी रकम सङ्कलन बन्दाबन्दीकै वेला भएको थियो। यही गिरोहले नेपालीलाई कतार प्रहरीमा जागीर लगाउने र पानी निर्यातका लागि कतार पठाउने योजना समेत बनाएको पाइएको छ।
कतार दूतावासका सल्लाहकार अब्दुल कायससँग मिलेर आरोपितहरूले यो योजनामा आठ करोड लगानी गरेको बयानमा जनाए पनि त्यो रकम शरणार्थी प्रकरणबाटै उठाइएको भन्ने स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ। तर, कतार योजना विवादमा परेपछि नै गिरोहका नाइके दुलाल र भण्डारीबीच मनमुटाव शुरू भएको शर्माको बयानबाट खुल्छ।
“कतार एम्बेसीमा एम्बेस्डरको (सहयोग) सल्लाहकार अब्दुल कायससँग कतार प्रहरी र नेपाली पानी सप्लाई गर्ने विषयमा आठ करोड लगानी गरेको। यो विषयमा केशव दुलाल र सानु भण्डारीको झगडा भएको थियो,” उनले भनेका छन्।
सुमेरु सहकारीमा दुलाल र भण्डारीकी श्रीमती अञ्जना रजक भण्डारीका नाममा १६/१७ करोड रुपैयाँ जम्मा भएको र यी दुवै जनाले दुई किलो सुन समेत खरीद गरेको शर्माले प्रहरी बयानमा खुलाएका छन्। यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
अञ्जना अमेरिकी नागरिकबाट करोडौं रुपैयाँ ठगेर नेपालमा भित्र्याएको घटनाकी फरार अभियुक्त हुन्। पृथ्वीबहादुर शाह र उनको कम्पनीका नाममा आएको करोडौं रकम नेपाल राष्ट्र ब्यांकले रोकिदिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। शाह सहित सात जना पक्राउ परेका थिए भने अञ्जना सहित १३ जना फरार छन्। पक्राउ परेकामध्ये विनीता तामाङ बाहेक सबै पुर्पक्षका लागि थुनामा छन्।
शरणार्थी सम्बन्धी समस्याको समाधान गर्न गठित कार्यदलका सदस्य समेत रहेका ललितपुरको महाकाल गाउँपालिका अध्यक्ष गणेश केसीले भण्डारीकी श्रीमतीको नाम अञ्जना रहेको पुष्टि गरे। “तर उनी पनि ठगीमा मुछिएकोबारे मलाई थाहा छैन,” उनले हिमालखबरसँग टेलिफोनमा भने।
अञ्जना वर्ल्ड फस्ट होलिडे प्रालिकी शेयरधनी रहेको काठमाडौं जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा छ। उक्त कम्पनीमा पृथ्वीबहादुर र उनका भाइ विजयविक्रमको पनि शेयर छ। यो कम्पनीका नाममा खोलिएका ब्यांक खातामा ठगीको रकम जम्मा भएको भेटिएको थियो।
ठगीको रकमबाट अञ्जनाले काठमाडौंको पुखुलाक्षीमा एक करोड ६५ लाख रुपैयाँ बराबरको आठ आना जग्गा किनेको अभियोग छ। शाह दाजुभाइले विदेश पठाउने काम गर्ने गरेको उनीहरूसँगै पक्राउ परेका चक्रबहादुर खत्रीले प्रहरी बयानमा भनेका छन्।
नक्कली शरणार्थीको भेषमा विदेश पठाउने अहिलेको गिरोह र शाहको गिरोहबीच साइनो रहेको प्रमाण नभेटिए पनि भण्डारी दम्पती दुवै गिरोहमा सामेल भेटिएकाले जालो अझै फराकिलो रहेको सङ्केत गर्छ।