मन्त्रीज्यू, पत्रकार सम्मेलन गरी-गरी अनुसन्धान प्रभावित पार्न खोज्ने?
बालकृष्ण खाणको बचाउमा पत्रकार सम्मेलन आयोजना गरेका अर्थमन्त्री प्रकाशशरण महतले ‘खाणपत्नी मञ्जु कहाँ छिन् त’ भन्ने प्रश्नको जिम्मेवारीपूर्वक जवाफ दिएनन्।
शायद, शब्दको सीमा नै यही हो, तिनले सधैं एउटै अर्थ दिंदैनन्। कसले, कहाँ, कुन हैसियतमा बसेर भन्छ भन्ने आधारमा शब्दका अर्थ फेरिन्छन्। र, राजनीति सम्भवतः त्यो रङ्गमञ्च हो जहाँ अमूर्त साहित्यमा भन्दा पनि गूढ रहस्य शब्दहरूले बोक्छन्।
शान्तिको उद्गारमा युद्धको कुरा गर्न राजनीतिक व्यक्ति जति सिपालु कोही हुँदैनन्। जर्मन कवि तथा नाट्य निर्देशक ब्रतोल्त ब्रेख्तले बीसाैं शताब्दीमै लेखेका थिए, ‘जब नेताहरू शान्तिको कुरा गर्छन्, आमजनताले बुझ्छन्- युद्ध नजिकिंदै छ।’
अर्थमन्त्री प्रकाशशरण महतको जेठ २ को पत्रकार सम्मेलनले ब्रेख्तको लेखाइलाई पुनःपुष्टि गरेको छ। प्रसङ्ग हो, नक्कली भुटानी शरणार्थी प्रकरणबारे काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनको। महतले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरे। आमजनताले बुझे- उनी यो प्रकरणमा आरोपित कांग्रेस नेताहरूको शुद्धीकरणको याचना गरिरहेछन्।
“अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्यो। निर्दोष फस्नु भएन, दोषी उम्कनु भएन,” महतले भने, “बालकृष्ण खाणजीले म निर्दोष छु, निर्दोष सावित गर्छु भन्नुभएको छ, त्यसकारण (कारबाहीको) निर्णयमा नपुगेको अवस्था हो।”
प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीभन्दा झन्डै तीन गुणा ठूलो कांग्रेसका प्रवक्ता समेत रहेका मन्त्री महतको यो धारणा सुन्दा शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ भन्नेमा नेपाल सरकारलाई नै संशय रहेछ भन्ने देखिन्छ। ‘निर्दोष नफस्ने र दोषीलाई कारबाही हुन्छ’ भन्ने पनि नेपाल सरकारका यी प्रभावशाली मन्त्रीलाई लागेको रहेनछ।
मन्त्री महतको दोस्रो भनाइ उनकै अघिल्लो भनाइसँग बाझिन्छ। निष्पक्ष अनुसन्धान भनिरहँदा उनी आफ्नो पार्टीका नेता बालकृष्ण खाणलाई बचाउन चाहन्छन् भन्ने देखिन्छ। नेपाल सरकारका जिम्मेवार मन्त्रीले यति ठूलो प्रकरणमा मुछिएका नेतालाई आफ्नो पार्टीको भएकै कारणले बचाउ गर्न मिल्छ? यही प्रकरणमा पक्राउ परेका अन्य आरोपीलाई पाखा र खाणलाई काखा गर्न मिल्छ? किमार्थ मिल्दैन, खाणलाई जोगाउनुपर्छ भनेर पत्रकार सम्मेलन पनि गर्न मिल्दैन।
खाण प्रहरी हिरासतमा रहेको र कांग्रेसकै अन्य नेता समेत अनुसन्धानको घेरामा भएको वेला पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रभावित पार्न खोजेको बुझ्न कठिन छैन। उनले आफू नेपाल सरकारको प्रतिनिधि पनि हुँ भन्ने बिर्सन मिल्दैन। शरणार्थी प्रकरण गणतीय घोटाला मात्रै होइन, मुलुकको छविमै आँच पुग्ने विषय पटाक्षेप हुँदा ठूलो पार्टीका नेता समेत रहेका मन्त्री झनै गम्भीर बन्नुपर्ने हो।
मन्त्री महतले आफ्ना नेता विरुद्ध ‘मिडिया ट्रायल’ भइरहेको संगीन आरोप लगाएका छन्। कांग्रेस सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाण विरुद्ध मिडिया ट्रायल भएको महतको आरोप छ। यस्तो आरोप लगाइरहँदा आरजु र मञ्जुले यो गिरोहबाट आर्थिक लाभांश पाएको भन्ने अडिओ सार्वजनिक भएपछि सम्पर्कविहीन बनेकी मञ्जु कहाँ छिन् भन्ने प्रश्नको जवाफ उनले मन्त्री र पार्टी प्रवक्ता दुवै हैसियतमा जवाफ दिन सकेनन्। उनको जवाफले नै अनुसन्धानको स्वतन्त्र हैसियतबारे बरु प्रश्नहरू जन्माइदिएको छ।
कांग्रेसले प्रहरीलाई धैर्यपूर्वक अनुसन्धानमा सघाउनुपर्नेमा सरकारको प्रतिनिधि एवं पार्टी प्रवक्ताको दोहोरो भूमिकामा रहेका महतले आरोपीको बचाउमा पत्रकार सम्मेलन गर्नु नै आपत्तिजनक विषय हो। घटनाक्रमले कांग्रेस नै यो प्रकरणलाई प्रभावित तुल्याउन भित्रभित्रै लागिरहेको आशङ्कालाई बल पुर्याउँछ।
सरकारमा बसेको व्यक्तिले अनुसन्धान भइरहेको विषयमा मुछिएका आफ्ना पार्टीका नेता निर्दोष छन् भन्ने आशय व्यक्त गर्नुलाई क्षम्य मान्न सकिंदैन। प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत मन्त्री महतको अनुसन्धानलाई प्रभावित पार्ने यस्तो कदमप्रति आँखा चिम्लिन मिल्दैन।