‘आरोपै नलागेको मान्छेलाई दोषी जस्तै प्रस्तुत गरियो’
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपै नलागेको मान्छेलाई पनि दोषी जस्तै प्रस्तुत गरिएको भन्दै नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा धारणा सार्वजनिक गरेका हुन्। कानूनी प्रक्रिया अनुसार यो प्रकरणलाई अगाडि लग्नुपर्नेमा कांग्रेस प्रतिबद्ध रहेको महतको भनाइ थियो।
यो प्रकरणमा अनुसन्धान गर्न र कानूनी प्रक्रिया अनुसार अघि बढ्न कांग्रेसले सघाइरहेको उनले बताए। महतले भने, “जो कोहीलाई पनि अनुसन्धान गर्ने एउटा ‘नम्स’ छ। त्यो ‘नम्स’ मा रहेर अनुसन्धान गर्ने र अनुसन्धानले जे कुरा प्रमाणित गर्छ, त्यसका आधारमा जानुपर्छ।”
यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा किन नबोलेको भन्ने प्रश्नमा महतले भने, “धेरै बोल्ने उहाँको बानी पहिलेदेखि छैन। उहाँले अनुसन्धान निष्पक्ष होस् भनिराख्नुभएकै छ। उहाँले अप्ठ्यारो गर्नुभएको छैन, सघाइराख्नुभएको छ।”
तर, सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत आरोप नै नलागेको व्यक्तिलाई पनि दोषी जस्तै प्रस्तुत गरिराखेकोमा महतले असन्तुष्टि प्रकट गरे। “सभापतिजीले असहयोग गर्नुभएको त छैन नि, तर दोषी आरोपै नलागीकन पनि दोषी जस्तै प्रस्तुत गरियो,” कांग्रेस प्रवक्ता महतले भने।
दोषीलाई छोड्न नहुने र निर्दोषलाई फसाउन नहुने भन्नेमा कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो। “दोषीलाई बचाउनुपर्छ भनेका छैनौं। कानूनले आफ्नो बाटो लिन्छ, प्रक्रिया अनुसार हुन्छ,” महतले भने।
यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी लगायत १३ जना पक्राउ परिसकेका छन्। उनीहरूको बयान लिने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ।